CG Electronics
Ncell NPL
NIMB

एसपी विष्ट र मामा नै निर्मला पन्तको हत्यारा भएको दाबी, मानवअधिकारवादी भन्छन् अनुसन्धान भएकै छैन

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

दुई महिना अघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणबारे नेपाल मानव अधिकार संगठनले स्थलगत अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ ।

रिपोर्टर्स क्लब नेपालमा उक्त संगठनले पत्रकार सम्मेलन गरेर सरकारी प्रतिवेदनको पूर्ण भरोसा नभएको भन्दै संगनका अध्यक्ष इन्द्रप्रसाद अर्यालको टिमले तयार पारेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

 

प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष अर्यालले निर्मला पन्त हत्याका दशी प्रमाणहरु नष्ट गरिएको भन्दै शून्यबाट अनुसन्धान थाल्न सरकारसँग माग गरेका छन् ।

 

‘निर्मला पन्त हत्या घटना नियोजित भएको कारण उक्त घटनाका सबै प्रमाणहरु नष्ट गरिएको हुँदा शून्यबाट अनुसन्धान थालिनुपर्छ, न्याय चाँडो पाउनुपर्छ, न्याय ढिलो पाउनुको कुनै अर्थ रहँदैन’, उनले भने, ‘निर्मलाको हत्या आशंका गरिएका व्यक्तिलाई प्रहरीले कुनै प्रकारको सोधीखोजी गरेको देखिँदैन ।’

 

उनका अनुसार हत्यामा संलग्न भएकामाथि अनुसन्धान नै भएको छैन । ‘आंशका गरिएका व्यक्तिलाई प्रहरीले भनिसियोस भनेर बयान लिन्छ, साइकल भेटिएको ठाउँतिरै लास होला भन्ने बम दिदीबहिनीमाथि कुनै छानविन भएको छैन’, उनले भने, ‘प्रहरी प्रशासन, एसपी डिल्लीराज बिष्ट, उनका छोरा, मेयरका भतिजा, नक्कली मामा बनेर निर्मलाको शव जलाउने तीर्थ भण्डारीमाथि प्रशासनले छानबिन नै गरेको छैन ।’

 

त्यस्तै संठगनका महासचिव महामुनीश्वर आचार्यले सरकारी अनुसन्धान समितिका सदस्य वीरेन्द्र केसीले राजिनामा दिएर पुःन काममा फर्केपछि आफूहरु सशंकित बनेर अुनसाधन गरेको जानकारी दिए ।

 

‘वीरेन्द्र केसीले अघिल्लो दिन ज्यान मार्ने धम्कि आएको भनेर राजीनामा दिन्छन्, अर्कोदिन आफूलाई ज्यान मार्ने धम्की दिने व्यक्तिको पहिचान नगरी पुनः काममा फर्किन्छन्, यस्तो स्थितिमा कसरी अनुसन्धान निश्पक्ष हुन्छ ?’, उनले प्रश्न गरे, ‘कसरी यस घट्नाको आधिकारिक दोषिमाथि अनुगमन हुन्छ ? आफ्नै ज्यान मार्ने धम्कि दिने मानिस पत्ता लगाउन नसक्ने मानिसले कस्तो खालको अनुसन्धान गर्छन ? यति दबाबमा गरिएको छानविन र तयार पारिएको प्रतिबेदन पूर्णरुपमा निश्पक्ष हुन सक्दैन भन्ने हाम्रो निष्कर्ष हो ।’

 

कार्यक्रममा अधिवक्ता पुष्पराज पौडेलले अनुसन्धानको नाममा सरकारले पीडितलाई रणभुल्लमा पारेको आरोप लगाए ।

 

‘प्रहरीले आफ्नो आँखै अघिबाट शंकास्पद व्यक्तिहरुलाई उन्मुक्ति दिन्छ, निर्दोषलाई चरम यातना दिएर अपराध स्विकार गर्न लगाईन्छ, अनि पीडितलाई न्यायको आश देखाउँदा कसरी विश्वास गर्ने ?’, उनले प्रश्न गरे, ‘प्रहरीले आफ्नो कर्तव्य बिर्सिएर माथिल्लो दर्जाका प्रहरी प्रशासकहरुको आदेश मान्न पुगे, अपराधीलाई आईयोस्, र भिनिसियोस् भनेर बयान लिने प्रहरीले निर्मलाका दोषीलाई उन्मुक्ति दिएर निर्दोषलाई चरम यातना दिन तम्सिएर लागेको भेटियो ।’

 

प्रहरीले शंका गरिएकी बम दिदी बहिनीहरुलाई अनुसन्धानकर्मीलाई भेट्ने कुनै पहुँच नै नदिएको उनले बताए । निर्दोषलाई यातना दिने प्रहरीलाई अनुसन्धान घेरामा ल्याएर काम अघि बढाउनुपर्ने माग संगठनले गरेको ।

 

निर्मला हत्या प्रकरणः समितिको प्रतिवेदन भन्छ– एसपी विष्टबाटै अनुसन्धान सुरु गर्नुपर्छ, घटना व्यवसायिक ‘किलर’ बाट !

 

निर्मला पन्तको बलात्कारपछि हत्या भएको बुधबार (आज) २ महिना पूरा भयो । कञ्चनपुर भीमदत्त नगरपालिका २ की निर्मला साउन १० गते घरबाट साथी रोशनी बमको घरमा जान्छु भन्दै हिँडेकी थिइन् ।

 

तर उनी ११ गते नजिकैको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । अनुसन्धानका क्रममा उनको बलात्कारपछि हत्या गरेर ल्याएर फालिएको प्रारम्भिक रिपोर्टले देखाइसकेको छ ।

 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको यस हत्याकाण्डको सत्यतथ्य अहिलेसम्म बाहिर आउन सकेको छैन ।

 

तर अनुसन्धानका लागि थुप्रै समिति बनेका छन् । प्रहरीले एकपछि अर्को अनुसन्धान जारी राखेको छ । तर नतिजा शुन्यप्रायः छ ।

 

प्रहरीले स्थानीय दिलिप विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेपछि स्थानीय आक्रोशित भएका थिए । उनीहरुले वास्तविक दोषी लुकाउन प्रहरीले यस्तो गरेको आरोप लगाए ।

 

त्यसपछि कञ्चनपुरमा आन्दोलन भयो । आन्दोलन दबाउन प्रहरीले नै चलाएको गोली लागेर एकजना स्थानीय शनी खुनाको ज्यान गयो भने कैयौं घाइते भए ।

 

यस घटनाले नेपाल प्रहरीको व्यावसायिक छविलाई शंकाको घेरामा पार्यो । अनौपचारिक कुराकानीका क्रममा प्रहरीकै एकजना उच्च अधिकृत भन्छन्,‘‘निर्मला हत्याकाण्डमा प्रहरी बदनाम भयो । यो बदनामीले लामो समयसम्म संगठनलाई पोलिरहन्छ ।’’

 

सुरक्षाका दृष्टिले बलियो मानिएको कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरकै छेउमा निर्मलाको शव फेला पर्नु, प्रहरीले सार्वजनिक गरेका अयिभुक्तको डीएनए परीक्षण गर्दा दोषी पुष्टि नहुनु, कञ्चनपुरका स्थानीयले तत्कालीन एसपीमाथि नै आशंका  गर्नु, प्रहरीले समयमै सेवा प्रवाह गर्नुको साटो पीडित परिवारलाई उल्टै धम्क्याउनुले निर्मला हत्याकाण्ड थप रहस्यमा धकेलिएको हो ।

 

यसै घटनाको अनुसन्धान गर्ने तत्कालीन एसपी विष्टसहित ६ जनालाई निलम्बन गरिएको छ भने विष्ट, उनका छोरा किरण र स्थानीय आयुस विष्टको डीएनए परीक्षण हुँदैछ ।

 

दुईमहिना पूरा हुँदासम्म पनि किन हत्याराको सुइकोसम्म पाइएको छैन त ? कञ्चनपुर प्रहरीका एसपी कुवेरसिंह कडायतको जवाफ एउटै छ– अनुसन्धान जारी छ ।”

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी कृष्णराज ओझा घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताउँछन् । ‘‘केहीलाई निगरानीमा राखेर अनुसन्धान अगाडि बढाएका छौं । बजारमा तथ्यभन्दा हल्ला बढी आइरहेका छन्,” डीएसपी ओझाले बाह्रखरीसँग भने ।

 

 

उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन– निशाना एसपी विष्टतिरै

 

 

निर्मला हत्याकाण्डको विरोधले उग्ररुप लिएपछि भदौ ७ गते गृह मन्त्रालयले सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो ।

 

समितिमा  नेपाली सेनाबाहेक ३ वटै सुरक्षा निकायका एक–एक जना डीआईजी र एकजना प्रदेश ७ कानुन मन्त्रालयका उप–सचिव सदस्य राखिएको थियो ।

 

समितिले भोलिपल्टैबाट काम सुरु गरेको थियो । ८ गतेबाट काम सुरु गरेको टोलीले असोज ९ अर्थात मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई प्रतिवदन बुझाएको छ ।

 

गोप्य राखिएको प्रतिवेदनलाई पूर्ण कार्यान्वयन गर्ने गृहमन्त्री थापाले आश्वासन पनि दिएका छन् । तर स्रोतका अनुसार प्रतिवेदनले ‘संदिग्ध हत्यारा’ को पहिचान र किटान भने गर्न सकेको छैन ।

 

प्रतिवेदन मूलतः प्रहरीले गरेको अनुसन्धानका क्रममा भएका त्रुटिमा केन्द्रित रहेको स्रोतले जानकारी दियो । उच्चस्तरीय समितिले प्रहरी अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ ।

 

साउन १० गते निर्मला हराइन् भने आमा दुर्गाले प्रहरीलाई खबर गर्दा चासो नदिएको कुराबाट प्रतिवेदन सुरु भएको छ । समितिका एक सदस्य भन्छन्, “प्रहरीले चासो नदिनुको पछाडिको कारण गम्भीर देखिन्छ ।”  प्रतिवेदनमा एसपी डिल्लीराज विष्टले प्रमाण नष्ट गर्न खोजेको आशंका छ ।

 

 

“साउन १० गते नै प्रहरीलाई निर्मला हराएको खबर थियो । तर भोलि खोजौंला भनेर टारियो । त्यसपछि अर्को दिन निर्मलाको शव उखुबारीमा भेटिँदा प्रमाण नष्ट गर्ने नियतले निर्मलाको सुरबाल पखालियो । घटना हेर्दा त्यो प्रमाण लुकाउन खोजेको देखिन्थ्यो ।

 

त्यतिमात्रै नभएर निर्मलाको बाहिर नै हत्या गरेर उखुबारीमा ल्याएर शव राखेको जस्तो देखिन्थ्यो । त्यो पनि प्रमाण नष्ट गर्न घोप्टो पारेर राखिएको थियो,” प्रतिवेदन उद्धृत गर्दै गृह मन्त्रालय उच्च स्रोतले भन्यो ।

 

स्रोतका अनुसार घटनाको सुरुदेखि नै अनुसन्धान गर्ने हो भने प्रमाण नष्ट गर्न आदेश दिने प्रहरीलाई नै नियन्त्रणमा लिनुपर्ने प्रतिवेदनको सार रहेको छ ।

 

गृह मन्त्रालय स्रोतले दिएको जानकारीलाई पुष्टि हुने गरी समितिका एक सदस्यले गरेको

 

अनौपचारिक कुराकानीः

हामी भदौ ८ गतेबाट नै घटनाको अनुसन्धानमा केन्द्रित भयौं । अनुसन्धान समितिमा रहेका सदस्यहरु आ–आफ्नै किसिमले पनि अनुसन्धानमा जुटे । निर्मला हत्याकाण्ड सम्वेदनशील भएकाले हामी पनि गम्भीर थियौं । प्रहरीका एसपी डिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, पीडितका आमाबुवा लगायतसँग बयान लिने काम पनि भयो । सबैको कुराकानीबाट निर्मला हत्याकाण्डमा प्रहरी अनुसन्धानमा गम्भीर त्रुटि भएको पाइयो ।

 

एसपी डिल्लीराज विष्टकै योजनामा प्रमाण नष्ट भएको देखिन्छ । एसपी विष्ट र अन्य सम्बन्धित प्रहरी अधिकारीले साउन १० गते नै सेवा प्रदान गरेको भए आज निर्मलाको हत्यारा कानुनको कठघरामा पनि हुन सक्न्थ्यो । तर त्यतापट्टि प्रहरी नियतवस चुकेको देखिन्छ ।

 

जनताको सेवामा रातदिन खटिनुपर्ने प्रहरी संगठन वा हाकिमहरुले आज ढिलो भैसक्यो भोलि आउनू भनेर टार्नु सामान्य कमजोरी होइन यो गम्भीर अपराध हो । अर्को कुरा के हो भने प्रहरीले दिलिपलाई नियोजित रुपमा फसाउन खोजेको थियो । कञ्चनपुरका जनताको व्यापक दबाबका कारण दिलिपलाई फसाउने योजना सफल हुन सकेन ।

 

एउटा निर्दोषलाई प्रहरी किन फसाउन खोजिरहेको थियो, यसको जवाफ डिल्लीराज विष्ट र अंगुर जिसीसँग खोज्नुपर्छ । यो त पछिको कुरा भयो । तर साउन ११ गते शव भेटिएको स्थान र प्रकृति हेर्दा निर्मलाको हत्या अन्त कतै गराइएको थियो । उखुबारीमा व्यवस्थापन मात्रै गरेको देखिन्छ । निर्मलाको शव घोप्टो पारेको देखियो । शव घोप्टो पार्नुका कारण छन् ।

 

उखुबारीमा पानी नै पानी थियो । त्यो पानीमा सुरबाल खोलेर शव राख्दा निर्मलाको शरीरमा बलात्कारीको प्रमाण नष्ट भएर जान्छन् । प्रमाण आफैँ लोप हुन्छ ।

 

त्यसपछि निर्मलाको घाँटीको हड्डी भाँचेर हत्या गरिएको देखिन्छ । यो आम मान्छेले गर्न सक्दैन । ‘वेल ट्रेन्ड’ व्यक्तिले मात्रै यस्ता कुराको ज्ञान राख्दछ । योबाहेक बचेखुचेको प्रमाण प्रहरीले पखालेर नष्ट गर्न खोजेको देखिन्छ । निर्मला साथी रोशनी बमको घरमा गएकी थिइन् । तर उनी फर्केर आइनन् ।

 

 

यस्तो अवस्थामा रोशनी र उनकी दिदी बबितालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न प्रहरीले  किन आवश्यक ठानेन ? जुन स्थानीयले नै आशंका गर्दै आएका छन् । केही कुरा शंकास्पद अवश्य छन् । यी कुरा प्रतिवेदनमा समेटिएको छ ।

 

निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक हुने हो भने त्यसमा धेरै कुरा उल्लेख पनि गरिएका छन् । मेरो बुझाइ निर्मला हत्याकाण्डको सबै कुरा एसपी विष्ट र डीएसपी जिसीको टोलीलाई थाहा छ ।

 

उनीहरुले नक्कली अभियुक्त नै बनाएर किन निर्दोष फसाउन खोजे ? त्यो कुरा पनि बाहिर आउनुपर्छ । तर हत्याजस्तो जघन्य अपराधमा निलम्बन परिसकेपछि प्रहरी अधिकारीलाई कानुनी दायरमा ल्याएर अनुसन्धान गर्न राज्य किन चुकिरहेको छ ? यो हामीले पनि बुझ्न सकेका छैनौं ।

 

 

यसबीचमा हामीले होटल ओपेराको सीसीटिभी पनि हेरेका छौं । सुरुमा त सीसीटिभी फुटेज देखाउनै मानेको थिएन होटल प्रशासनले । पछि प्रशासन कार्यालयमा सीसीटिभीको हार्ड डिस्क हेर्यौं । त्यसमा पनि केही कुरा छन् । त्योबीचमा महेन्द्रनगरमा रहेका ७ वटा सीसीटिभी क्यामेरा पनि एकाएक बिग्रिए भनियो । जसको कन्ट्रोल जिल्ला प्रहरी कार्यालयमै छ ।

 

अहिले पनि डिल्ली विष्टले डीएनए परीक्षण गरेर आफु अनुसन्धानमा सहयोग गर्न तयार रहेको देखाउन खोजेको भएपनि त्यो एउटा नाटक मात्रै हो । घटनास्थल ‘शील’ गर्ने कुरामा प्रहरी किन चुक्यो ? २४–२५ दिनपछि दिलिपलाई सार्वजनिक गरियो । त्यो नै शंकास्पद थियो ।’ 

 

CG Electronics
तारागाउँ नेक्स्ट पुनः सञ्चालनमा, प्रदर्शनी, फिल्म र अन्य कार्यक्रमको तालिका सार्वजनिक

तारागाउँ नेक्स्ट पुनः सञ्चालनमा, प्रदर्शनी, फिल्म र...

वि.सं.२०८२ माघ १ बिहीवार २३:०१

  काठमाडौँ । बौद्धस्थित समसामयिक कला केन्द्र तारागाउँ नेक्स्ट तीन...

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन सुस्त, नीतिगत र व्यावहारिक जटिलता कायमै

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन सुस्त, नीतिगत र...

वि.सं.२०८२ पुस ३० बुधवार १७:३४

काठमाडौँ, पुस ३० । सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझै पूर्ण...

बागमती प्रदेशमा नेवारी र तामाङ भाषाको कार्यान्वयनबारे फोनिज संवाद कार्यक्रम हुँदै

बागमती प्रदेशमा नेवारी र तामाङ भाषाको कार्यान्वयनबारे...

वि.सं.२०८२ पुस २९ मंगलवार २१:५२

  काठमाडौं।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

आदिवासी जनजाति आन्दोलनको समिक्षा आवश्यक, नेफिनको ११औँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह

आदिवासी जनजाति आन्दोलनको समिक्षा आवश्यक, नेफिनको ११औँ...

वि.सं.२०८२ पुस २९ मंगलवार २१:३०

  काठमाडौं । आदिवासी जनजाति आन्दोलनले नेपालमा संघीयता, गणतन्त्र, समावेशिता...

बाघझोरा समस्याको दीर्घकालीन समाधानमा सांसद बर्तौलाको पहल

बाघझोरा समस्याको दीर्घकालीन समाधानमा सांसद बर्तौलाको पहल

वि.सं.२०८२ पुस २९ मंगलवार १८:५८

  हेटौँडा । मकवानपुर–२ का प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाले त्रिभुवन...

मन्त्री गुप्तासंग सम्वन्धीत कुनै कार्यक्रम आयोजना गरिएको छैन् – एनआरएनए अमेरिका

मन्त्री गुप्तासंग सम्वन्धीत कुनै कार्यक्रम आयोजना गरिएको...

वि.सं.२०८२ पुस २६ शनिवार ००:२१

  ओम आचार्य काठमाडौं। अमेरिका, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय...