अन्तर्घातीलाई कारबाही नगरे अर्को चुनाव पनि हारिन्छ : देउवा
Sunday Sep 30, 2018
वि.सं.२०७५ असोज १४ आइतवार ०२:११
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा एकता र अनुशासन कायम नभए अर्को निर्वाचनमा पनि कांग्रेस पराजित हुने बताएका छन् । कांग्रेस अछाम–काठमाडौं सम्पर्क समितिद्वारा शनिबार आयोजित दसैँ, तिहार, नेपाल सम्बत् र छठको शुभकामना एवं सम्मान कार्यक्रममा सभापति देउवाले पार्टी बलियो हुन अनुशासन कायम हुनुपर्ने बताए ।.
‘हाम्रो पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन जरुरी छ । पार्टीमा अनुशासनको कमी र अन्तर्घात हुँदा हामी निर्वाचनमा हार्न पुग्यौँ,’ नेता कार्यकर्तालाई सचेत बनाउँदै देउवाले भने, ‘निर्वाचनमा देशभर अन्तर्घात भयो । यो अन्तर्घातको गहिरो छानबिन नगरी अर्को निर्वाचनमा जाने हो भने फेरि पनि हामी पराजित हुन्छौँ । त्यसैले पार्टीमा अनुशासन कायम गरेर जानुपर्छ ।’
पार्टी एक भए पहिलो पार्टी
पार्टीमा अनुशासन कामय भएर एक भए अर्को चुनावबाट कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन सकिने देउवाको भनाइ दाबी थियो । ‘हामी पुनः एक नम्बर पार्टी बन्न सक्छौँ । तर, यसका लागि अन्तर्घातीलाई कारबाही गर्ने र पार्टीमा अनुशासन कामय हुनुपर्छ,’ उनले भने । कांग्रेस एकतावद्ध र बलियो भए मात्र नागरिकमा विश्वास र भरोसा बढ्ने देउवाले बताए ।
महामन्त्री डा. शशांक कोइरालाले पनि कांग्रेस अन्य पार्टीसँग नभई आफ्नै पार्टीसँग पराजित भएको बताए । ‘कांग्रेस कम्युनिस्ट वा अन्य पार्टीसँग पराजित भएको होइन,’ उनले भने, ‘कांग्रेसलाई हराउने कांग्रेसी नै हुन् ।’
पार्टी एकताबद्ध हुँदा अबको चुनावबाट कांग्रेस एक नम्बरको पार्टी हुने उनको भनाइ थियो । सहमहामन्त्री डा. प्रकाशरण महतले कम्युनिस्टलाई परास्त गरेर आउँदो चुनावमा कांग्रेस एक नम्बर पार्टी बन्ने बताए ।