ऋण तिर्न नसक्ने भएपछि विनोद चौधरीले होटल लिलाम गर्दै
Tuesday Dec 04, 2018
वि.सं.२०७५ मंसिर १८ मंगलवार ०७:४९

काठमाडौं । रुवान्डामा रहेको चौधरी ग्रुपकोे एक होटल लिलामीको प्रक्रियामा गएको छ । शेयर सदस्यहरुबीच विवाद बढेपछि किगालीस्थित उबुम्वे होटललाई त्यहाँको केसीबी बैंकले लिलाम गर्न लागेको रुवान्डाको एक अनलाइन न्यू टाइम्सले जनाएको छ ।
बैंकले गत सेप्टेम्बर महिनामै लिलामीको पत्र पठाएर होटल लिलाम गर्ने चेतावनी दिएको थियो । समाचारमा लेखिएअनुसार होटलले बैंकलाई एक करोड ८० लाख डलर ऋण तिर्न बाँकी छ ।
नेपालका धनाड्य विनोद चौधरीले रुवान्डाकै रोबर्ट वाफाकुलेरा र अलिखान कर्मालीसँग मिलेर उबुम्वे होटल खोलेका थिए । जिंक ब्रान्डअन्तर्गत त्यस होटललाई व्यवस्थापन गर्ने भनिएको थियो । तर, त्यसअनुरुप काम हुन नसकेको स्रोतहरुलाई उद्धृत गर्दै द न्यू टाइम्सले लेखेको छ । त्यसपछि हिल्टन ग्रुपले उक्त होटल व्यवस्थाप गर्ने कुरा सार्वजनिक भएपनि शेयर सदस्यहरुबीच झन् विवाद बढेको बताइन्छ ।
‘यसअघि चौधरी ग्रुपले होटललाई जिंक ब्रान्डमा चलाउनका लागि दुबई इन्टरनेशनल फाइनान्सीयल सेन्टरको मध्यस्थता खोजेको थियो । ‘जिंक एन्ड फर्न’ चौधरी समूहको आफ्नै होटल ब्रान्ड हो ।
पछिल्लो समय केसीबी बैंक र चौधरी ग्रुपबीच समस्या समाधानको प्रयासमा बैठकसमेत बसेको थियो । तर, बैठकको निष्कर्ष सार्वजनिक भइसकेको छैन । अन्य शेयर सदस्यहरुले चौधरी ग्रुपको शेयर किन्ने कि नकिन्ने भन्ने पनि स्पष्ट भइसकेको छैन ।
रुवान्डा विकास बोर्डले पनि केसीबी बैंकले होटल लिलामी गर्ने जानकारी आफूलाई गराएको जनाएको छ ।
चौधरी ग्रुपले बिभिन्न देशहरुमा लक्जरी होटलहरु सञ्चालन गरिरहेको छ । विश्वकै चर्चित बहुराष्ट्रिय होटल ब्रान्ड ताज प्यालेस, अलिला, जेट विङ, द फर्म लगायतसँग चौधरी ग्रुपले सहकार्य गरी विभिन्न मुलुकमा होटल सञ्चालन गरिरहेको छ ।
नेपालको चितवनमा ७० करोड रुपैयाँ लगानी गरी मेघौली सराई जंगल रिसोर्ट ताज सफारीको व्यवस्थापनमा ले सम्हालेको छ भने चौधरी ग्रुपले ललितपुरमा सञ्चालित होटल समिटको स्वामित्वसमेत खरिद गरेको छ । विनोद चौधरी नेपालका सबैभन्दा धनी व्यक्ति हुन् । उनी कांग्रेसको समानुपातिक सूचीबाट प्रतिनिधिसभा सांसद समेत छन् ।




























