निर्मलाको हत्यारालाई चाँडै सार्वजनिक गर्छौं : रक्षामन्त्री पोखरेल
Sunday Dec 09, 2018
वि.सं.२०७५ मंसिर २३ आइतवार ०४:०५
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक दलको आवरणमा कुनै शक्ति निर्मला पन्तको हत्यारा जोगाउन आउने संभावना रहेको बताएका छन्।
७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १० औं मानव अधिकार राष्ट्रिय महाभेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दै मन्त्री पोखरेलले राजनीतिक दलहरू नै हत्याराको संरक्षणमा अघि सर्ने संभावना रहेको बताएका हुन्।
कार्यक्रममा उपस्थित नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाललाई सम्बोधन गर्दै उनले सरकारले हत्यारा सार्वजनिक गर्दा राजनीतिको ध्येय बोकेकाहरूले छाता ओढाउन आउने संभावन रहेको बताए।
सरकारले पन्तको हत्यारा पत्ता लगाइसकेको र चाँडै नै सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिँदै उनले भने, ‘विधिसम्वत ढंगले सार्वजनिक गर्छौं। तर राजनीतिको ध्येय बोकेकाहरू छाता ओढाउन आउँछन् कि भन्ने डर छ पुष्पा जी ख्याल गर्नुहोला।’
प्रतिपक्षी दलका नेता र कुनै अखबारको स्तम्भकारले जसरी सरकारले बोल्न नमिल्ने भन्दै उनले सरकारको नजरमा कोही पनि अपराधी उम्कन नसक्ने दाबी गरे।
उनले निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आएका अधिकारकर्मीलाई हत्यारा सार्वजनिक गर्दा त्यसैको रक्षार्थ सक्रियता नदेखाउन चेतावनी पनि दिए।
उनले भने, ‘निर्मला पन्तको बलात्कार र हत्यारालाई एउटा झण्डा बनाएर सडकमा आउनुभएको छ। माफ गर्नुहोला, त्यो अपराधी बाहिर ल्याउँदा यी मध्ये कसैले पनि छाता ओढाउन नआउनुहोला। आफ्नो राजनीतिको रोटी सेक्नु पर्दैन।’
राष्ट्रिय महाभेलामा उपस्थित अधिकारकर्मीले मानवअधिकारको प्रत्याभूतिमा सरकारका कामकारबाही प्रभावकारी बन्न नसकेको टिप्पणी गरेका थिए ।




























