निर्मलाको हत्या स्वीकारेका दुई युवाको डीएनए रिपोर्ट आउँदै, एकजना अझै फरार
Sunday Dec 09, 2018
वि.सं.२०७५ मंसिर २३ आइतवार ०८:१७

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या घटना अनुसन्धान टुङ्गोमा पुग्नै लागेको प्रहरीले दावी गरिरहेका बेला पक्राउ गरिएका शंकास्पद दुई युवाको डीएनए रिपोर्ट आज आउँदैछ ।
निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान क्रममा पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीको डीएनए रिपोर्ट आज (आइतबार) साँझसम्म आउन सक्ने प्रहरीले जनाएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै अगाडि निर्मला हत्याको साविती बयान दिएका भनिएका प्रदीप रावल र विशाल चौधरीको डीएनए रिपोर्ट आउन लागेको हो ।
यसअघि १७ मंसिरमा अभद्र व्यवहार गरेको अरोपमा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले रावलमाथि मुद्दा चलाएको थियो । त्यसक्रममा सीआईबीमा ल्याएर सोधपुछ गर्ने क्रममा निर्मला हत्यामा उनले आफ्नो संलग्नता स्वीकार्दै थप दुई जनाको नाम लिएको प्रहरीले दाबी गरेको थियो ।
जसको आधारमा कञ्चनपुरस्थित सालघारीका विशाल र दिनेश चौधरीलाई पक्राउ गरिएको दाबी प्रहरीको थियो । तर, पछि दिनेशको घटनामा संलग्नता नरहेको भन्दै उनलाई छाडिएको थियो ।
सीआईबीका एक अनुसन्धान अधिकारी भन्छन्, ‘घटनामा संलग्न एक जना अझै खोजीरहेका छौं ।’
प्रहरीको यो भनाईसँगै निर्मला पन्तको परिवारलाई न्याय दिलाउनका लागि चार महिनादेखि सडक आन्दोलन गर्दै आएकाहरु र आम सर्वसाधरणमा चास बढेको छ ।
घटनाको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसनधान ब्यूरो (सीआईबी) स्रोतले भन्यो, ‘चेन अफ कस्टडी मेन्टेन गर्नका लागि कञ्चनपुरमै लगेर खोल्नु पर्ने हुन्छ । तर, त्यहाँबाट अनुमति लिएर यहीं खोल्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको छ ।’
पटक–पटकको घटना अनुसन्धान समितिको चार महिना लामो मेहनतपछि दोषी नजिक पुगिरहेको बताउने प्रहरी संगठनका लागि समेत निर्मलाको हत्या घटना प्रतिष्ठाको लडाइ जस्तो बन्दै आइरहेको छ । लामो समयदेखि निर्मलाको हत्यारालाई पक्राउ गर्न नसक्दा प्रहरी संगठनमाथि नै विभिन्न खालका आपेक्ष र प्रश्नहरु उठाइँदै आएको छ ।




























