निर्मलाको हत्या हुनु पहिल्यै कुखुरा चोरेर जेलमा बसेका रावललाई प्रहरीले हत्यारा बनाउन खोजेको यसरी खुल्यो पोल
Sunday Dec 09, 2018
वि.सं.२०७५ मंसिर २३ आइतवार ०९:४०

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले कञ्चनपुरकै १७ वर्षीय प्रदीप रावल, विशाल चौधरी र दिनेश चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
उनीहरुलाई हत्यामा संलग्न भएको आशंकमा पक्राउ गरिए पनि परिवारले भने रावल र चौधरी त्यसबेला (साउन १०–११) गते प्रहरी हिरासतमै भएको बताएका छन्। कुखुराको मासु पसल चोरी गरेको आरोपमा निर्मला पन्तको हत्याको बेला उनीहरु प्रहरी हिरासतमै रहेको परिवारका सदस्यले बताएका छन्।
यसबारे कुरा गर्दै कञ्चनपुरका एसपी कुवेर कडायतले प्रहरी हिरासतमा केही समय मात्रै रहेको दाबी गरे। उनले भने, ‘रावलको हकमा साउन १० गते बिहान ल्याएर सोधपुछ गरेर छाडिएको रेकर्ड छ। ठ्याक्कै यति बजे भन्ने चाहिँ छैन।’
रावल पक्राउ परेपछि उनले घटनामा संलग्न भएको भन्दै विशाल चौधरी लगायतको नाम लिएपछि प्रहरीले विशाललाई पनि नियन्त्रणमा लिएको थियो। एसपी कडायतले विशाललाई १० गते साँझ मात्रै नियन्त्रणमा लिएर छाडेको दाबी गरेका छन्। तर परिवारले भने ११ गते मात्रै जिम्मा लिएको बताएको छ।
यद्यपि प्रहरीले अहिले पक्राउ गरेर छाडेका सबै व्यक्तिहरुलाई सिआइबीबाट गएको डिएसपी अंगुर जिसीको टोलीले सोधपुछ गरेर छाडेको थियो। लागू औषध प्रयोगकर्ता रावलको समूहमा ११ भएका व्यक्तिमध्ये डिएसपी जिसीको टोलीले १० जनालाई सोधपुछ गरेर छाडेको थियो भने गाैरव चन्द भने अहिलेसम्म फेला परेका छैनन्। उनी भारततिर बस्न थालेको प्रहरीको बुझाइ छ।




























