महासमितिले के गर्ला ?
Saturday Dec 15, 2018
वि.सं.२०७५ मंसिर २९ शनिवार ०९:३६

रमेश कुमार बोहोरा
नेपाली कांग्रेसको महासमितिको बैठक काठमाडौंमा चलिरहेको छ । महासमितिको बैठकपछि पार्टी सशक्त ढंगले अघि बढ्ने भनिएपनि छनक राम्रो देखिँदैन ।
नेपाली कांग्रेस विशेषगरी आफ्नै आन्तरिक समस्यामा अलमलिएको छ । पार्टीप्रति जनताको आकर्षण भएपनि नेतृत्वमा देखिएको द्धन्द्धले गर्दा पार्टीको भविष्यमाथि नै प्रश्न गर्न थालिएको छ ।
कांग्रेस संसदमा प्रमुख प्रतिपक्षको भूमिकामा छ तर उसले आफूलाई त्यो अनुसारको रुपमा प्रस्तुत गर्न नसकेको आभाष हुन थालेको छ । हिजोको निर्वाचनमा नराम्रो पराजय भोगेको कांग्रेस अहिले गुटबन्दीमा रमाउन थालेपछि विपक्षीहरु खुशी भएका छन् ।
एमाले र माओबादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पछिल्ला गतिविधि पनि जनताको पक्षमा नभएपछि सरकार र पार्टी अहिले आलोचनाको शिकार बनेको छ ।
दुइवटा पार्टी मिलेर हामीले निर्बाचन हा¥यौं भन्ने कांग्रेसको भनाई एक हदसम्म ठिकै हो तर आफ्नो पार्टीभित्र भएका आन्तरिक समस्यालाई समयमै व्यवस्थापन नगर्ने हो भने भोलि आउने खतरा चानचुने हुने छैन ।
कांग्रेसमा देखिएको गुटको राजनीतिले पार्टीलाई कहिल्यै पनि माथि उठाएको छैन । सानो गुट बनाएर ‘मागी खाने भाँडो’ बनाउन जानेका नेताहरुले यसैलाई एउटा राम्रो औजार बनाएका छन् ।
केही व्यक्ति भेला गरेर त्यही संख्या देखाउँदै नेतृत्वलाई धम्क्याउन पछि नपर्ने उनीहरुको क्रियाकलापले पार्टीलाई नराम्ररी सताएको छ ।
निर्बाचनमा पराजय भएपछि चुपचाप लागेर संगठन गर्ने र जनताको मन जित्ने सोच बनाउनुको साटो सभापतिसँग यति र उति प्रतिशत चाहियो भनेर माग्नेहरुले पनि सभापतिलाई स्वतन्त्र रुपले काम गर्न दिएका छैनन् ।
हिजो शेरबहादुर देउवा वरिष्ठ नेता हुँदा पनि उनले तत्कालीन सभापति सुशील कोइरालासँग मागेर नै गुट चलाए तर अबको अवस्था भनेको त्यस्तो होइन । केही दिनअघिदेखि नेताहरुले आफ्नो घरमा बोलाएर खाना , खाजा खुवाउँदै गुटको खेति गरिरहेका छन् । कांग्रेसका युवा नेता रामहरी खतिवडाले कांग्रेस भएर बाँच्छु भन्ने दिन नआएसम्म पार्टी संकटमा पर्ने बताए ।
‘समस्या नै यही हो यो मेरो र त्यो तेरो मान्छे भनेर नेताले कार्यकर्तालाई गलत सिकाए’ खतिवडाले भने ‘ केही पद पाउन पनि गुटको पछि लाग्नुपर्ने अवस्था आएको छ, यसले पार्टीलाई कालान्तरसम्म दुःख दिन्छ ।’ खतिवडाले कांग्रेसले राम्रो काम गरेको भएपनि निर्बाचनमा जाँदा ती कामको प्रचार गर्न नसक्नु कमजोरी भएको बताए ।
कांग्रेसमा सभापति देउवाको गुट त बलियो नै छ । यो सँगै रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, सशांक कोइरालाका साथै शेखर कोइराला, सुजाता कोइरालाका पनि आफ्नै पेवा कार्यकर्ता छन् । युवा नेता गगनकुमार थापाले पनि आफ्नो सञ्जाल बनाएर बेलामौका परेको बेला राम्रो परिचालन गर्न जानेका छन् ।
उता खुमबहादुर खड्काको निधन भएपछि उनी भनेर हिँड्नेहरु अहिले अलपत्र परेका छन् । केन्द्रीय सदस्य भएपछि स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था अव्यवहारिक भएको भन्दै यसलाई सच्याउनुपर्ने आवाज चर्को रुपमा उठेको छ । नेतृत्वको वरिपरि घुमेपछि पार्टीमा कुनै योगदान नै नगरी पनि केन्द्रीय सदस्य भएर रमाइलो गर्न पल्केकाहरु यसको विरोधमा छन् ।
नेपाली कांग्रेसको महाधिवेशन ढिलोमा पनि अबको २७ महिनासम्म गरिसक्नुपर्छ । त्यतिबेलाको लागि पनि अहिलेदेखि नै कसरत गर्नुपर्ने भन्दै नेताहरु देशव्यापी दौडधुपमा लागेका छन् । यो महाधिवशेनले व्यक्ति र गुटभन्दा पार्टी नै बन्ने दिशातिर कदम चाल्यो भने कांग्रेसप्रतिको विश्वास थप बढ्न सक्ने छ ।




























