सरकारले गरेको कामप्रति माधव नेपालले यसरी पोखे असन्तुष्टि
Sunday Feb 10, 2019
वि.सं.२०७५ माघ २७ आइतवार १२:५८

काठमाडौ माघ २७ । सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको कामप्रति असन्तुष्टि जनाएका छन्।
वरिष्ठ नेता नेपालले जनताको असन्तुष्टिलाई सुनेर तत्काल सम्बोधन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। आइतबार हेटौंडामा स्थानीय संचारकर्मीमाझ उनले जनताको चाहना अनुसार सरकारले आफ्नो काममा सुधार गर्दै लैजानुपर्ने आवश्यक्ता पनि औंल्याए।
वरिष्ठ नेता नेपालले पार्टी संगठनहरुको एकीकरणमा धेरै ढिला भएकाले पार्टी भित्र निराशा र असन्तुष्टि बढेको उल्लेख गर्दै ती समस्या समाधानका लागि तत्काल पहल गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराए।
फरक प्रसंगमा नेता नेपालले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विना एजेन्डा आन्दोलन सुरु गरेको भन्दै आपत्ति जनाए। उनले आफ्नो नेताले भ्रष्टाचार गरेको भए ढाकछोप गर्ने नियत राखेर कांग्रेसले आन्दोलन सुरु गरेको उल्लेख गर्दै त्यसलाई जनताले सकारात्मक रुपमा लिन नसक्ने दावी पनि गरे।
वरिष्ठ नेता नेपालले कांग्रेसलाई भ्रष्टाचार नियन्त्रण र मुलुकको सुशासनका लागि सरकारलाई सचेत गराउने अभियानमा लाग्न पनि आग्रह गरे।




























