CG Electronics
IME Life
Ncell NPL

२४सै घण्टा पैसा राख्न र झिक्न पाउने व्यवस्था मिलाउँछौंः सनराइज बैंकका सीइओ जनक शर्मा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 हामी गैरीधारास्थित सनराइज बैंकको केन्द्रीय कार्यालय पुग्दा मध्याह्न १२ बजेको थियो । त्यतिखेर सायद विभागीय प्रमुखसँग कुनै महत्वपूर्ण बैठक चलिरहेको थियो । बैठक हलबाटै हामीलाई देखेपछि बाहिर निस्किएर घडी हेर्दै सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) जनकशर्मा पौडेलले भने ‘भनेको समयभन्दा ठ्याक्कै पाँच मिनेट पहिले आइपुग्नु भएछ, समयको ख्याल गर्ने मान्छे मलाई पनि मन पर्छ । बस्दै गर्नुस् सानो काम सकाइहाल्छु ।’

पौडेललाई चिन्ने जान्नेहरु भन्छन्, ‘समयको ख्याल गर्ने धेरै कम मान्छेमध्ये उहाँ पनि एक हुनुहुन्छ ।’

तीन दशक बढी नेपालको बैंकिङ क्षेत्रमा काम गरेको अनुभव सङ्गाल्नुभएका पौडेलसँग नेपालको बैंकिङ क्षेत्र, लगानीको वातावरण, बैंकिङ सुरक्षा एवम् भावी योजनाका बारेमा कुराकानी गर्ने ध्येयका साथ रासस उनको कार्यकक्ष पुगेको थियो । पौडेलले सिइओको जिम्मेवारी सम्हालेको लामो समय भएको छैन । करिब सात महिनाको अवधिमा पौडेलले बैंकलाई थप सबल, सक्षम र प्रविधिमैत्री बनाउन गरेको प्रयास साच्चै अनकुरणीय छ ।

चिसो मौसम, तातो चियाको चुस्कीसँगै उनले सोध्नुभयो, ‘के छ बजारमा सनराइज बैंकको प्रतिक्रिया ?’

हामीभन्दा पहिला प्रश्न गरेर उहाँले वातावरणलाई झन् सहज बनाउनुभयो । र, हामी पौडेलसँग गफिन थाल्यौँ । सरकारले हरेक नेपालीको बैंक खाता खोल्ने अभियान नै सञ्चालन गरिरहेको छ । सामाजिक सुरक्षा भत्तादेखि राज्यका हरेक निकायसँग गरिने काम कारबाहीमा बैंक खातालाई अनिवार्य गरिँदै लगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो अभियानको शुरु गरेका थिए ।

राज्यको अभियानलाई बैंकहरुले कसरी कार्यान्वयन गरिरहेका छन् भनेर हामीले पौडेललाई पहिलो प्रश्न ग¥यौं ।

‘हामीले राज्यको उक्त अभियानलाई अक्षरश कार्यान्वयन गरेका छौँ,’ उनले सुनाए ‘यो एकदमै राम्रो मात्रै होइन, आवश्यक अभियान हो ।’

बैंक खाता भएसँगै आर्थिक पारदर्शीता हुने, वैधानिक माध्यममा पैसा आउने, अवैध हुण्डीको र लगानीका लागि मार्ग प्रशस्त गर्ने फाइदा रहेको उनले सुनाए ।

‘मेरो विचारमा यसलाई अभियानकै रुपमा अझै ऊर्जा थपेर दौडाउनु पर्छ,’ उनले भने । सर्वसाधारणको ‘रेस्पोन्स’ एकदमै राम्रो छ ।

‘सनराइज बैंकको मात्रै कुरा गर्ने हो भने पनि यो अभियान शुरु भएदेखि दैनिक औसतमा १ हजारदेखि १ हजार २०० सम्म नयाँ खाताहरु खोलिँदै आएका छन्,’ उनले सुनाए ।

बैंकले शाखारहित बैंकिङमार्फत वित्तीय साक्षरता पनि प्रधान गरिरहेको उनले जानकारी दिए ।

‘बैंकमा खाता किन आवश्यक छ खाता खोल्दा के फाइदा हुन्छ भन्ने बारेमा जानकारी दिँदा खाता नभएका नेपाली नागरिकको मुहारमा देखिएको खुसी साँच्चै लोभलाग्दो छ,’ यो भन्दै गर्दा उहाँको अनुहारमा समेत एक प्रकारको उत्साहको सञ्चार भयो ।

‘आजको बचत भोलिको भविष्य’ भन्ने अभिप्रायका साथ अभियान चलाएका छौँ । खाता हुँदा सानोभन्दा सानो रकम जम्मा गर्न सकिन्छ । सानोभन्दा सानो रकम पनि चिया चुरोटमा नै सकिन्छ । बैंकमा खाता भए सानै रकम पनि जम्मा गरौँ भन्ने हुन्छ’ पौडेलले वास्तविकता सुनाए ।

निर्माणमा सहयोग पुग्छ । पुल, विद्यालय बनाउन पनि सहयोग पुग्छ । नेपालीको आमप्रवृत्तिको बारेमा उल्लेख गर्दै उनले भने, ‘मानिसले पैसालाई महत्व नदिएको अवस्था छ । थोरै पैसा किन राख्ने भनेर चिया चुरोट पिउँ भन्ने मानसिकताले पनि काम गरेको छ । अनावश्यकरुपमा, खर्च भएको छ । यसलाई बचत गर्ने बानीको विकास गर्न जरुरी छ । पैसा गोजीमा भएपछि खर्च हुन्छ । आवश्यकताको आधारमा अगाडि बढे खण्डमा पैसाको मूल्य चिनिन्छ ।’

देशैभर ४ हजार ५०० बैंक तथा वित्तीय संस्थाको ‘एटिएम’ सञ्जाल छ । एउटै बैंकको खोज्दा पनि जताततै भेटिन्छ । हाम्रै बैंकको १२९ शाखा सञ्चालनमा छन् । ५० शाखारहित बैंकिङ र १४८ एटिएम छन् । २७ वाणिज्य बैंकको कति होला ।

उनले बैंकको महत्वका बारेमा थप जोड्दै भने, ‘हिँजोभन्दा आज, आजभन्दा भोलि बैंक खाता अनिवार्य हुँदै जान्छ । आर्थिक पारदर्शीताका लागिसमेत खाता अनिवार्य छ ।”

खाताले व्यापार व्यवसाय, विदेश यात्रामा जाँदासमेत सहज हुन्छ । विभिन्न प्रकारका सामाजिक सुरक्षाका कार्यक्रम अगाडि बढाएको छ । राज्यका सबै बैंकमार्फत जानुपर्ने नीति ल्याएको छ । अवस्था यस्तो आउँदैछ ‘जसको बैंक खाता छैन, उसले केही पाउँदैन ।’

देशभित्रै जम्मा हुन सक्छ पूँजी

‘पैसा जम्मा गर्ने अठोट गरे त्यसले ठूलो फाइदा गर्छ । बचत गर्ने संस्कारले देशका लागि आवश्यक पर्ने पूँजी देशभित्रै जम्मा हुन्छ । दिगो विकासको आधारमा हेर्दा त्यो पूँजी पर्याप्त त नहोला, तर केही न केही भने अवश्य पनि हुन्छ । तामाकोशीजस्ता ठूला र राष्ट्रिय गौरवका योजना हामी आफँै अगाडि बढाउन सक्छौ,’ पौडेलले आत्मविश्वास व्यक्त गरे ।

उनी भन्छन् ‘तीन करोड नेपाली बैंकिङ प्रणालीमा जानुपर्छ । पैसा बैंकमा राख्नैपर्छ । त्यसो भए सही सदुपयोग गर्छ । सनराइज बैंकमा बचत गर्नेलाई रु एक लाखसम्मको स्वास्थ्य बीमा गरेका छौँ । बचतका ग्राहक कुनै दुर्घटना वा कुनै उल्झनमा परे खाताका तत्कालीन भएको रकमको २५ प्रतिशत वा एक लाखसम्म बिल बराबरको सहुलियत पाउँछन् । हामीले शुरु गरकै दुई वर्ष जति हुन थाल्यो ।’

हालसम्म कतिले पाए त त्यो सुविधा ? हाम्रो प्रश्न स्वभाविक थियो । प्रश्न भूइँमा खस्न नपाउँदै सिइओ पौडेलको जवाफ थियो, ‘भयो होला ८०० जति । माग दाबी आउनेबित्तिकै बिल हेरेर हामीले भुक्तानी गरेका छौँ । कुनै गुनासो छैन, अहिलेसम्म ।’

उनका अनुसार त्यस कार्यक्रमले बैंकमा बचत खाता खोल्नेको बहार नै आयो । बचतको वृद्धिदर उच्च देखियो । उक्त योजनाले मान्छेलाई तान्यो । बचतकर्तालाई रणनीतिक हिसाबले सुरक्षित गर्न यस्तो योजना लामो गृहकार्यपछि ल्याइएको हो ।

सुविधा लिन प्रक्रियागत झन्झट छ भन्छन् नी भुक्तभोगी ? हाम्रो अर्को जिज्ञाशा थियो उनी माथि । ‘अहँ पटक्कै छैन । गुनासो छैन । आफूले सके आफँैले आफ्नो सबैभन्दा नजिकका जोकोहीले पनि दाबी गर्न सक्छ । मेरो यो खाता हो, म समस्या परेँ भनेर आउनेलाई हामीले भुक्तानी गरेका छौँ,’ उनले भने ।

सहजै पाइन्छ सहुलियत कर्जा

नेपाल राष्ट्र बैंकले सहुलियत कर्जाको विषयलाई बाध्यकारी बनाएको छ । असार मसान्तसम्म ५०० लाई त्यस्तो कर्जा दिर्नैपर्छ । ‘हामीले त किसान खोज्दै हिँडेका छौँ । कृषिलाई बढावा दिन लाग्नुभएको छ, हामी ऋण दिन्छौँ भनेर आह्वान नै गरेका छौँ । यो त केन्द्रीय बैंकको नीतिलाई सहयोग गर्ने कार्यक्रम नै भयो नि’, उनको थप प्रष्टोक्ति थियो ।

‘त्यस्तो कर्जा लिन आएर नदिएको अवस्था एकदमै कम होला । म आफैँले अनुभव गरेको एउटा पनि उदाहरण छैन । राम्रो ज्ञान वा प्रचार नभएर हो वा के हो, माग असाध्यै कम आएको छ’, उनले यर्थाथता सुनाए, ‘हामी फरक तवरले प्रस्तुत भएको छौँ, नेपालीका लागि के आवश्यकता हो, कस्तो आवश्यकता हो भनेर जान्न मात्रै खोजेका छैनौँ, त्यसैअनुसारको योजना पनि तय गरेका छौँ ।’

कृषिमा लगानी १५ प्रतिशत पु¥याउने योजनामा बैंक छ । कृषिप्रधान देश मात्रै भएर मात्रै भएन व्यावसायिक तवरले खेती गरिए उत्पादन बढ्ने त छँदैछ कुल गार्हस्थ्य उत्पादन (जिडिपी) पनि बढाउँछ । तीन करोड नेपालीको हित हुन्छ । विदेशिएका ६० लाख युवा पनि देशमा फर्किएर यही श्रम गरौँ भन्ने अवस्था आउँछ– पौडेल केही वास्तविक देखिए ।

‘बैंक सहुलियत कर्जामा नगएको होइन, निवेदन नै कम हो, सेवाग्राही फर्कनुपरेको अवस्था छैन ।’

जलविद्युत्मा १३ अर्ब

सनराइज बैंकले मात्रै नेपालको ऊर्जा क्षेत्रमा करिब रु १३ अर्ब लगानी गरेको छ । “हामीले ४० आयोजनामा लगानी गरेका छौँ”, पौडेलले सगौरव तथ्याङ्क दिए । सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको उल्लेख गर्दै उनले भने ‘हामी सो लक्ष्यलाई पूरा गराउन लागिपरेका छौँ । ऋण लगानी गरेका केही आयोजना पूरा भई बत्ती नै बल्न थालेका छन् । कतिपय निर्माणका क्रममा भने केही निर्माणमा जाँदैछन् ।’

जलविद्युत्मा समस्या देखिन थाल्यो, नियमित किस्ता तिर्नसमेत समस्या पर्न थाल्यो भन्ने अवस्था आएको हो भन्ने जिज्ञासामा पौडेल भन्छन्, ‘केही साना आयोजनामा समस्या देखिन सक्छ । जोखिम विभिन्न कारणले हुन्छ । भौगोलिक बनावट वा ‘हाइड्रोलोजी’ पनि जिम्मेवार छ ।’

जलविद्युत् आयोजनाको महत्वपूर्ण साधन भनेकै प्रसारण लाइन हो । त्यो थप्दै जानुपर्छ । ऊर्जा क्षेत्र खर्चिलो र जटिल छ । ‘आयोजना तयार हुने, प्रसारण नै हुन नसक्ने अवस्था आयो भने त्यो भन्दा दुःखद अरु हुनै सक्दैन । हामीले अब त धमाधम अन्तरदेशीय प्रसारण लाइन बनाउनुपर्छ । लागत घटाउने तर्फ पनि लाग्नुपर्छ,’ उनको सुझाब छ ।

प्रसारण लाइन निर्माणमा ध्यान दिइएन भने खतरनाक स्थिति आउन सक्छ । चीन, बंगलादेश र भारतलाई बिजुली चाहिएको छ । तत्कालका लागि भारतबाट ल्याएपनि आगामी दिनमा त त्यतै पठाउनुपर्छ ।

‘दक्षिण एशियामा हामीले प्रसारण लाइन मात्रै बनाउन सके त्यसले हामीलाई आर्थिक रुपमा ठूलो फाइदा हुन्छ । हामी अब त्यतातर्फ लाग्नैपर्छ । व्यापार घाटा घटाउने एक महत्वपूर्ण माध्यम बन्न सक्छ भनेर हामीले ठूलो लगानी गरेका छौँ,’ उनले भने ।

सकियो चेकबुकको जमाना

प्रविधि र बैंकिङ सेवा परिपूरक भएको सन्दर्भमा प्रमुख कार्यकारी अधिकृत पौडेल भन्छन्– समयक्रमले चेकबुकको जमाना सकिएको सङ्केत गरेको छ । धेरै देशमा चेकबुक इतिहास भइसक्यो, हाम्रोमा पनि क्रमशः त्यही दिन आइसकेको छ । केन्द्रीय बैंकले केही समय पहिले ‘आरटिजिएस’ सेवा शुरु गरेको छ । पैसा अनलाइनबाट नै कारोबार हुन थालेको छ । प्लास्टिकको सामान्य कार्डबाट भनेको ठाउँबाट भनेको स्थानबाट रकम निकाल्ने सुविधा भएपछि किन चेक बोक्ने झन्झट बोक्नु प¥यो भन्ने मानसिकता विकास भएको छ ।

संसार प्रविधिमा दौडिएको अवस्थामा हामी पनि अगाडि नै लाग्नुपर्छ, पर्याप्त कानूनी आधार तयार हुनु जरुरी छ । साइबर सेक्युरिटीका विषय पनि आएका छन् । केन्द्रीय बैंकले निश्चित दिशानिर्देश गर्न थालेको छ । ‘इन्भेस्टमेन्ट इन टेक्नोलोजी’लाई बैंकले पूर्ण रुपमा कार्यान्वयमा ल्याएका छन् ।

‘प्रविधिमा ठूलो मात्रामा बैंकहरुले खर्च गर्नुपर्छ । अर्कोतर्फ बैंकले शुल्क लिन सक्छन् वा पाउँदैन भन्ने विषय पनि आएको छ । व्यवसाय गर्दा ‘आउट अफ पकेट’ भए राम्रो हुँदैन । बैंक नाफामा नै जानुपर्छ । त्यसो भएन भने नागरिकको विश्वास घट्न जान्छ । यसमा ध्यान दिनुपर्छ ।’ उनले भने ।

उनका अनुसार देशभर दुई करोड ५० लाख खाता पुगेको छ । १५ लाख ग्राहक ऋण लिने छन् । उच्च प्रविधिको सेवा लिने ग्राहक एक करोड छन् । दुई करोड लाई बैंकिङ प्रणालीमा ल्याउनु जरुरी छ, त्यो पनि प्रविधि सहितको । चिनियाँ ह्याकरले बैंकको एटिएम लुटेको घटना पूरानो भएको छैन । सुरक्षाको विषय पनि उत्तिकै चुनौतीपूर्ण छ ।

‘छिटफुट घटना घट्न सक्छन् । सोही आधारमा यो क्षेत्र अप्ठ्यारोमा प¥यो भनेर हेर्नु पनि हुन्न’ नेपाल बैङ्क तथा वित्तीय संस्थाले प्रयोगमा ल्याएका प्रविधिबारे दृढ विश्वास गर्दै उनले भने ‘समस्या आएपछि समाधान गर्दै जाने, प्रविधिमा लगानी गर्दै जाने नै हो । सनराइज बैंकले ग्राहकलाई स्मार्ट बैंकिङमा जान प्रेरित गर्दै ७० बढी शाखामा पूर्ण रुपमा कार्यान्वयनमा ल्याएको छ । हामीले प्रविधिमा लगानी गर्न ‘रिसर्च यूनिट’ नै राखेका छौँ ।’

प्रविधिप्रतिको सपना

आगामी दिनमा बैंकमा पूर्ण रुपमा प्रविधिको उपयोग गर्ने सोचमा हुनुहुन्छ, पौडेल । आफूले सञ्चालक समितिसमक्ष पनि त्यस्तो प्रस्ताव गरेको उहाँको भनाइ छ । भावी दिनमा २४ घण्टा नै सेवा दिने योजना छ । त्यसमा ‘आर्टिसिफियल इन्टेलीजेन्ट’ले काम गर्छ । हामीले निर्माण गर्ने नयाँ प्रधान कार्यालयमा प्रविधिको उच्च प्रयोग गर्नुपर्छ भन्ने सोच बनाएका छौँ ।

बहुमूल्य वस्तु बैंकमा नै राख्नुप¥यो, काउन्टर ५ बजे बन्द हुन्छ । त्यसपछि काउन्टरबाट सेवा पाउँदैनन् ग्राहकले । बैंकको लकरबाट दिउँसो बहुमूल्य सामान झिकिएला तर राति फेरि बैंकमा राख्न मिल्दैन । आफ्नो प्रविधिको सपनाबारे थप प्रष्ट्याउँदै पौडेलले थप्नुभयो, “यस्तो ‘लकर रुम’ होस्, बाहिर ‘फिल्टरिङ गेट’ हुन्छ । जुनसुकै ग्राहकले २४ सै घण्टा सेवा लिन सकून् । सेवाग्राही ‘कोड टाइप’ गरेर भित्र छिर्छ । भित्र गएपछि फलामे गेट खुल्छ । उसले लकर नम्बर, सेक्युरिटी नम्बर प्रविष्ट गरेपछि रोबोर्टले ग्राहकलाई चिन्छ ।”

तपाईं यति बेला पनि, कुन सेवाका लागि आउनुभयो भनेर ‘रोबोर्ट’ले नै सोध्छ । बिहानको समयमा भए शुभप्रभात, तपाईंलाई स्वागत छ, के म तपाईंलाई सहयोग गर्न सक्छु भन्छ । ग्राहकले आफ्नो कार्ड हालेपछि कति नम्बरको लकर हो, रोबर्टले ल्याएर दिने व्यवस्था हुन्छ त्यसमा ।

‘अहिले त सबै लकर देखिन्छ । ‘अटोमस सेक्युरिटी’ भनेको अरुको नदेख्ने पनि पनि हो । तपाईंको मात्रै लकर ल्याएर दिन्छ, झिक्नुस् वा राख्नुस्, काम सकिएपछि रोबोर्टले जहाँबाट झिकेको हो, त्यहीँ लगेर राखिदिन्छ । यस्तो प्रविधि ल्याउने सोचमा छु म,’ उनले आफ्नो सपना सुनाए ।

यस्तो प्रविधि आएपछि २४ सै घण्टा पैसा जम्मा गर्न वा झिक्न परे पनि सहज हुन्छ । यूरोपेली देशमा यस्तो प्रविधिको प्रयोग भइसकेको छ । उनले आफूले काम गरेको बेलायतको एक बैंकको उदाहरण दिँदै भने ‘अहिले यूरोपका धेरैजसो बैंकको काउन्टर छैन, कर्मचारी पनि छैनन् । चेक ‘क्लियरिङ’ गर्ने जम्मा गर्ने पैसा दिने, सूचना दिने स्थानमा रोबोर्ट छ ।’

प्रविधिमा दक्ष मानिस देशभित्र बस्नै छाडेकामा उनी दुःखित देखिए । प्रविधिमा पोख्त ‘गुगल’ वा अन्य निकायले उतै राखेका छन् । हामी त्यस्ता जनशक्तिलाई रोजगारी दिन सक्छौँ । अमेरिका र यूरोपका भवनमा एउटा सुरक्षा गार्ड मात्रै हुन्छ । तर, भित्र सबै खाली हुन्छ, सबै काम मेशिनले नै गर्छ ।

‘प्रविधि भित्र्याएपछि रोजगारीको क्षेत्र साँघुरिन्छ । निजी एवम् व्यावसायिक क्षेत्रका लागि चुनौती भनेको थप व्यावसायिक प्रतिस्पर्धी एवम् सुरक्षित बन्ने भन्ने छ । प्रविधिमा खर्च बढेपछि अन्य खर्च घटाउनैपर्छ,’ उनको जोड थियो ।

पौडेलले ३२ वर्ष अगाडि आफैँले भौचर बनाउँदा २१ प्रतिशतसम्मको ब्याजको भौचर बनाएको स्मरण गर्नुभयो । अहिले घटेर १०÷११ प्रतिशतको हाराहारीमा रहेको उल्लेख गर्दै उनले भने, ‘ब्याज लिँदा बैंकले ‘चुसे’ भन्ने पनि आउँछ ।’

ऋणको माग घट्यो, बैंक र कर कार्यालयमा बुझाउने फाइल एउटै, ‘क्रेडिड’को माग घटेको हो ? हाम्रो प्रश्नसँगै उनको उत्तर थियो, “हो, घटेको छ । पैसा, व्यापार, उत्पादन, व्यवसायबाट आउने हो । विभिन्न अवस्थामा मानिसलाई ऋण चाहिन्छ । व्यक्तिगत, ‘अटो लोट’, ‘होम लोन’ चाहियो । कर तिरेको प्रमाणसहित आउनु प¥योभन्दा ग्राहकले अप्ठ्यारो महसुल गरेको मैले अनुभव गरेको छु ।’

करको विषयमा पारदर्शी हुनुपर्ने उनको जोड छ । ‘हामीलाई धेरैभन्दा धेरै स्रोत चाहिएको छ । यति स्रोत होस् कि देश पूर्णरुपमा विकास होस्, प्रतिस्पर्धी बनोस् भन्ने पनि छ ।’

एउटा ट्याक्सी चालकले कहाँबाट ल्याओस् करको प्रमाणपत्र ? उनको प्रतिप्रश्न थियो । पौडेल भन्छन् ‘व्यक्तिले इच्छा मारेर बस्दैन । कृषक, दैनिक ज्यालादारी गर्नेले कहाँबाट सुविधा लिने, एक÷दुई लाख हुनेले कसरी ऋण लिने ?’

एकै पटक नयाँ नीति आउँदा नकारात्मक प्रभाव परेको उहाँको थप टिप्पणी थियो । देशका लागि विशाल वित्तीय समावेशीता जरुरी रहेको भन्दै उनले ३ करोड नेपालीको आयस्रोत, बैंक, घरमा भएको पैसा अर्थतन्त्रमा ल्याउनुपर्नेमा जोड दिए ।

सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेको छ । चालु आवको बजेटले ८.५ प्रतिशतको आर्थिक वृद्धिको परिकल्पना गरेको छ । त्यसलाई पूरा गर्न पनि केही सार्थक प्रयास गर्नैपर्छ । देशको विकास गर्ने नीतिमा हाम्रो आफ्नो स्वतन्त्र निर्णय गर्नैपर्छ । आफ्नोपनले धेरै महत्व राख्छ । विदेशी निकाय वा संस्थाको सुझाव पूर्ण रुपमा लागू हुन सक्दैन ।

प्रोजेक्ट फाइनान्सिङमा जाने कि

‘प्रोजेक्ट फाइनान्सिङ’मा जाने सोच उनी सुनाउँछन् । ‘हाम्रो देशको आवश्यकता नै यही हो । यसको सुरुवात गर्नुपर्छ । केही धितो चाहिँदैन । ऋण प्राप्त हुन्छ । एउटा व्यावसायिक सोच विश्वभर नै जान सक्छ । घर जग्गा छैन भने पनि ऋण पाइन्छ’ उनले भने, ‘बैंकले व्यवसाय गर्छ, जोखिम पनि लिन्छ । शतप्रतिशत डुब्दैन भन्ने भयो भने त्यो त जोखिम नै भएन नि ! आँखा खोलेर जोखिम लिने हो । सफल नहुन सक्छ ।’

नियमनकारी निकायले त्यसतर्फ हेर्नुपर्ने सुझाव दिनहुन्छ, उनी । ‘तर हाम्रोमा, ए त्यो डुब्यो, कसकसले हस्ताक्षर गरेको हो, तिनीहरुलाई थुन, धितो किन लिएन भनेर प्रश्न उठाउन थालिन्छ,’ उनले थपे, ‘विजनेश ‘मे फेल’ भन्ने कुरा संसारलाई थाहा छ, तर हाम्रोमा यो बुझाउने कसले हो ? प्रोजेक्ट फाइनान्सको विषय अगाडि बढाउनैपर्छ ।’

बिनाधितो दिएर व्यवसाय चलेन भने खोरमा जाने ? नीतिगत र कानूनी प्रश्न स्पष्ट भए हामी प्रोजेक्ट फाइनान्स गर्न तयार छौँ । संरचनात्मक समस्या हल भए आफूहरु त्यसका लागि तयार रहेको उनको भनाइ छ ।

‘बैङ्कले ब्याजमात्र खाँदैन’

बैंकरहरु रुढीवादी भए भनेर व्यवसायीले आन्दोलन नै गरे वास्तविकता के हो ? उनलाई अर्को प्रश्न गरियो । त्यस प्रश्नमा उनको सोझो उत्तर थियो, ‘यो सबै गलत हो, अफवाह हो । बैंकले जथभावी चुसेर लिए भन्ने छैन । ब्याज कति लिने भनेर सार्वजनिक रुपमै भनेका छन् ।’

उनका अनुसार नेपालमा कतिपय व्यवसायी छन्, ती बैंक पनि चलाउँछन् । बैंकर र व्यवसायीको सीमा छुट्याउनुपर्छ । उनले नीतिगत विषय सरकारले नै थप प्रष्ट पार्नुपर्ने आवश्यकता औँल्याए ।

‘सुट टाई लगाएको भन्ने कुरा छ ? के लगाउने ? धोती लगाएर आउने ? डोल्पा, जुम्ला वा पहाडी क्षेत्रका मानिसले भन्दा सुहाउँछ । सारा संसार देखेर आएकाले त्यसो भन्दा दुःख लाग्छ, अबुझसँग त केही लाग्दैन,’ उनले भने ।

नेप्सेको अध्ययनमा सनराइज बैंक एक नम्बरमा रहेको उनको दावी छ । ‘सञ्चालक समितिको आफ्ना रणनीति हुन्छ । हामी ठूलोको पछि छैनौँ । हामी सुदृढ र भावी दिनमा पनि चल्ने, बैंक बन्नुपर्छ,’ उनले भने ‘राष्ट्र बैंकको नीति कार्यान्वयन गर्नु हाम्रो प्रथम दायित्व हो, हामी ‘कमा’ र ‘पूर्णविराम’को जोखिमसमेत लिन चाहँदैनौ । मर्जर नीतिलाई अनादर गर्नेतर्फ हामी पटक्कै छैनाँै ।’

‘केही ‘पार्टनर’सँग कुरा गरेका छौँ । हाम्रा रणनीतिसँग मिल्नेसँग मिल्छौँ । नियामक निकायको उद्देश्य पूरा गर्न उत्प्रेरित छौँ । हामी सबल हुने तरिकाले गर्छौ,’ उनले थप जोड दिँदै भने, ‘मर्जर कमिटी गठन गरेका छौँ । पाँच छ÷वटा कम्पनीसँग कुरा गरेका छौँ । हामी खुल्ला छौँ, सकारात्मक नै छौँ । सनराइज बैंक ‘फोर्स मर्जर’ कुरेर बसेको होइन ।’

उनका अनुसार सनराइजका १२९ शाखा चलिरेहेको छ । बैंकिङ सेवाबारे गाउँमा गाउँमा भएका ग्राहकलाई बुझाएका छौं । बीमाका फाइदाका बारेमा बुझाएर वित्तीय जानकारी दिएका छौँ । दूरदराजमा सानो तहको व्यवसायमा लेखा, कर के हो, भ्याट के हो ? प्यान के हो भन्ने बारेमा पनि जानकारी गराएका छौँ । करको कुरा यस्ता छ, फाइदा लिन यसरी गर्नुस्, भनेर सिकाएका छौँ ।

अन्त्यमा उनले आफ्नो दावी प्रस्तुत गर्दै भने ‘सनराइज बैंक नेपालीका लागि नेपालीको हो, जसरी सूर्य उदाइरहन्छ, अस्ताउँदैन, त्यसैगरी सनराइज बैंक अगाडि आएको छ । आधुनिक बैंकिङ सेवा दिन लागिपरेका छौँ । यसैवर्ष १२ वटा शाखा खोल्दैछौँ । बचत परिचालन, बचत गर्दा, दुर्घटना जीवन बीमा व्याज कमाएर पैसा कमाउने मात्रै नभई जीवनको रक्षा प्रतिफलको हिसाबले एक नम्बरको बैंक बनाउन लागेका छौँ ।,’ रासस

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...