पूर्व अर्थमन्त्री खतिवडा अमेरिकाको राजदूत
Thursday Oct 01, 2020
वि.सं.२०७७ असोज १५ बिहीवार १५:०९

काठमाडौं । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाको राजदुतमा युवराज खतिवडालाई नियुक्त गरेको छ । यो उनले पाएको आठौं राजनीतिक नियुक्ति पाए। मन्त्रीबाट राजीनामा दिए लगतै प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त भएका खतिवडाले फेरि अर्को राजनीतिक नियुक्ती पाएका हुन् ।स्थायी कमिटी बैठकले गरेको निर्णयविपरीत पार्टीसँग सल्लाह नगरी राजदुत नियुक्ति गरिएपछि नेकपाभित्र फेरि विवाद शुरू भएको छ । नेकपाकै लागि रगत,पसिना बगाएका र कपाल फुलाएकाहरुले कुनै अवसर र भूमिका नपाइरहँदा झापाली एक जना पूर्व कर्मचारीलाई पटक पटक गरी आठौं पटक यो राजनीतिक नियुक्ती दिइएको हो ।
अर्थमन्त्रीबाट राजीनामा दिएको २७ दिनपछि उनलाई अमेरिकाको राजदूतमा सिफारिस गरिएको छ । खतिवडाले यस अघि राजाको शासनकालमा राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भए । राष्ट्र बैंकका जागिरे खतिवडाले दरबारियाहरुको चाकडी गरी उक्त नियुक्ति पाएका थिए । यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको सदस्यमा निरन्तरता पाए । राष्ट्रबैंकको पद लियनमा राखेर उनी योजना आयोगको सदस्य नियुक्त भएका थिए ।
योजना आयोगको सदस्यबाट कार्यकाल सकिएपछि उनी श्रीलंकामा एसियाली विकास बैंकको जागिर खान गए । २०६६ मा माधव नेपाल प्रधानमन्त्री भएपछि उनको खोजी भयो । उनी तुरुन्तै नेपाल फर्किए । फर्किनासाथ योजना आयोगको उपाध्यक्षमा नियुक्त भए । योजना आयोगको उपाध्यक्ष हुँदाहुँदै फेरि राष्ट्रबैंकको गभर्नर पद खाली भयो ।
उनले आयोगको उपाध्यक्षभन्दा मर्यादाक्रममा तल्लो मानिने गभर्नरको पदमा नियुक्ति हुन रहर गरेपछि तत्कालीन प्रधानमन्त्री नेपालले उनलाई गभर्नर बनाए । गभर्नर उनको तेस्रो नियुक्ति थियो ।
२०७२ असोज ३ मा केपी ओली प्रधानमन्त्री भए । ओलीले उनलाई पुनः राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाए । दोस्रो पटकको योजना आयोगको नियुक्ति उनको चौथो अवसर हो । खतिडाले आयोगमा पुनः नियुक्ति भएपछि राज्यमन्त्री सरहको उपाध्यक्ष पदलाई मन्त्रीसरहको बनाए । ०७४ मा नकेपाले दुईतिहाई बहुमतसहितको सरकार बनाएपछि राष्ट्रियसभाको सांसद हुने मौका पाए । राष्ट्रियसभा सांसद उनको पाँचौं राजकीय सुविधाको पद हो । राष्ट्रियसभाको सांसदपछि प्रधानमन्त्री ओलीले उनलाई अर्थमन्त्री नै बनाएर सबैलाई चक्मा दिए ।
अर्थमन्त्रीको पद उनको छैठौं छलाङ थियो । प्रधानमन्त्री ओलीले सातौं पटक खतिवडालाई मन्त्री सरहको विशेष आर्थिक सल्लाहकारमा नियुक्ति दिएका थिए । अर्थमन्त्रीबाट राजीनामा दिएको २७ दिन नबित्दै अर्थमन्त्री खतिवडालाई प्रधानमन्त्रीले अमेरिकाको राजदुत नियुक्तिका लागि सिफारिस गरेका छन् ।
























