मुख्य खबर
काठमाडौं। थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको फाइनलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ५स्३० बजे सुरु हुनेछ ।
आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने छन् ।
त्यसैले फाइनल खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
फाइनलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा प्रशिक्षक बालगोपाल महर्जनले नेपालको लक्ष्य उपाधि भएको बताए ।
नेपालले पछिल्ला सात वटा अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन् ।
जसका कारण फुटबलप्रेमीहरु सन्तुष्ट छैनन् ।
प्रशिक्षक महर्जनले सोमबारको खेलमा नेपालले गोल गर्ने र उपाधि पनि जित्ने दाबी गरेका छन् ।
लिग चरणको दुबै खेलमा गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको थियो ।
नेपालले चैत १२ गते किर्गिस्तानको यू–२३ टीम र चैत १४ गते बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।
प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो ।
बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।
लिग चरणको भेटमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए ।
राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले पनि आफ्नो कप्तानीमा टिमलाई जित दिलाउनका लागि उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।
बंगलादेशका प्रशिक्षक जेम्स डेले घरेलु टोलीविरुद्ध हुने फाइनल प्रतिस्पर्धात्मक हुने बताए ।
‘यस खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । घरेलु टोलीलाई दर्शकको समर्थन छ । हामी फाइनलमा पुग्यो यो नै ठुलो विषय हो,’ उनले भने ।
बंगलादेशका कप्तान जमल भुयाले टिमलाई उपाधि जित्नका लागि सुनौलो मौका रहेको बताए ।