नयाँ नेतृत्व चयन गर्न नाडाले तोक्यो मिति, निर्वाचनसहितको साधारणसभा कहिले गर्ने लाग्यो टुंगो ?
Saturday Sep 25, 2021
वि.सं.२०७८ असोज ९ शनिवार १९:१८
नाडा आटोमोबाइल्स एसोसिएसनको ४५ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर २२ र २३ गते होटेल सोल्टीमा हुने भएको छ।
केन्द्रीय कार्य समितिको शुक्रबार होटल सोल्टीमा भएको बैठकले साधारणसभाको मिति टुंगो गरेको हो। नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा अध्यक्ष लगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ। नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एसोसिएसनसमेत गठन गरिसकेको जनाएको छ।
बैठकमा अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाको ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रमलाई देशव्यापी बनाउन प्रदेश अध्यक्षहरुलाई ट्राफिक ज्याकेट लगायत, जनचेतनामूलक स्टिकर र कोभिडसँग जोगिन मास्कसमेत हस्तान्तरण गरेको नाडाले जनाएकोे छ।
नाडाका अनुसार ती सामानहरु नाडाका प्रदेश एशोसिएशनहरुले सम्बन्धित ट्राफिक कार्यालयहरु मार्फत वितरण गर्ने छन् । नाडाले गत भाद्र २५ गते त्रिपुरेश्वर चोकमा महानगरिय ट्राफिक प्रहरी महाशाखाको सहयोग र सहभागितामा त्यस्ता सामानहरु वितरण गरेको थियो ।

























