सानिमा बैंककाे वित्तीय विवरण सार्वजनिक, १ अर्ब २८ करोड माथि खुद नाफा आर्जन

वि.सं.२०७९ माघ ७ शनिवार २१:०५

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक पुष मसान्तसम्ममा १ अर्ब २८ करोड ५३ लाख रुपैयाँ खुद नाफा अfर्जन गरेको छ । बैंकले आज सार्वजनिक गरेको चालु् आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत आवको तुलनामा बढ्न पुगेको हो ।
बैंकले यस अवधिसम्म कमाएको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.३४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९६ करोड ३७ लाख रुपैयाँ रहेको छ ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४७.१८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २८.८१ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २१.४२ प्रतिशत बढेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ६६ पैसा बढेर २० रुपैयाँ ६३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.५७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ८२ पैसा रहेको छ ।
पछिल्लो ६ महिनामा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ०.०१ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको निक्षेप १.०७ प्रतिशत बढेको छ भने कर्जा ५.२९ प्रतिशत बढेको छ।