CG Electronics
IME Life
NIMB

कुखुराको खोर व्यवस्थापन कसरी गर्ने ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

(दिपेश लामिछाने
पशु प्राविधि)

कुखुराको खोर वातावरणको अवस्थामा ध्यान दिएर निर्माण गर्नुपर्छ । खोर निर्माण गर्दा चिसो, तातो, हावा, पानीबाट रक्षा गर्ने हिसाबले बनाउनुपर्छ । कुखुरा रहेको ठाउँमा हावा जाने आँउने ठाउँ हुनुपर्छ र बाह्य परभक्षीलाई रोक्ने खोर बनाउनुपर्छ । विभिन्न किसिमका खोरहरू आफूलाई अनुकूल हुने हिसाबले बनाउन सकिन्छ ।

–पक्की इँटाको गारो लगाएर तथा बाँसको चोयाले पनि बनाउन सकिन्छ । किसानलाई आर्थिक भार बढी लाग्ने खोरहरू पनि प्रचलनमा छन् । ती खोर एकपटक बनाएपछि वर्ष दिनसम्म टिक्ने हुन्छ ।

–खोर निर्माण गर्दा यातायातको सुविधा, पानी, बत्तीको राम्रो आपूर्ति भएको, पानीको निकासा भएको, राम्रोसँग घाम लाग्ने, बजारको सुविधा भएको स्थान छनोट गर्नुपर्छ ।

–कुखुराको खोर निर्माण गर्दा पूर्व–पश्चिम दिशालाई खुला राख्नुपर्छ, जसले गर्दा सूर्यको प्रकाश खोरमा छिर्नसकोस् ।
–सोत्तर प्रणालीमा कुखुरा पाल्दा ब्रोइलर कुखुरालाई १ वर्गफुट तथा लेयर्स कुखुरालाई २ वर्गफुट स्थानको आवश्यकता पर्छ ।
–दुईतिरबाट जाली भएको हावाको निकास भएको खोर बनाउनुपर्छ ।

सोत्तर व्यवस्थापन
कुखुरा पालनमा खोरको व्यवस्थापन एउटा महत्त्वपूर्ण अङ्ग हो । ब्रोइलर र लेयर्स कुखुरा पालन गर्दा एकदिने चल्ला छनोट गर्नुपर्छ । चल्लालाई नयाँ खोरमा राख्नु अगाडि खोरलाई राम्रोसँग सफा गरेर सोत्तर हाल्नुपर्छ । सोत्तर एकदम सुक्खा हुनुपर्छ । काठको धूलो, धानको भुस, गहुँको भुस्सा धेरै प्रचलनमा छ । कुखुरा पालनमा प्रयोग हुने सबै औजारलाई स्वस्थ रक्षात्मक औषधिले राम्रोसँग धोएर पखाल्नुपर्छ, जसले गर्दा हानिकारक जीवाणुहरू कुखुराको खोरमा सङ्क्रमण हुन पाउँदैन । सोत्तर धेरै चिसो भयो भने त्यसलाई पल्टाएर, आर्द्रता मिलाएर राख्नुपर्छ । ब्रुडिङ व्यवस्थापन चल्लालाई न्यानो राख्न बिजुलीको बल्ब, होवर, हिटर र ब्याट्री बु्रडरको प्रयोग गर्न सकिन्छ ।

बु्रडिङ घरको तयारी
–एकदिने चल्ला किनेर ल्याउनुअघि नै ब्रुडिङ घरमा सम्पूर्ण चिजबिजको व्यवस्था मिलाउनुपर्छ । पुरानो खोरमा कुखुरा पाल्ने हो भने चल्ला ल्याउनु १ देखि २ हप्ताअगाडि नै खोर र अन्य भाँडाकुँडाहरू राम्रोसँग सफा गरेर सुक्खा र कीटाणुमुक्त गर्नुपर्छ ।
–ब्रुडिङका लागि आवश्यक सामग्री, जस्तै ः सोत्तर, चिकगार्ड, तापक्रम दिन प्रयोग गरिने उपकरण चल्ला ल्याउनुभन्दा २÷३ दिन पहिला नै उपयुक्त स्थानमा राख्नुपर्छ ।

–शुरूमा चल्लाले सोत्तर खान सक्ने हुनाले दाना खाने बानी नपरून्जेल भुस खानबाट रोक्न सोत्तरमाथि पुराना पत्रिकाहरू वा कुट बिछ्याउनुपर्छ ।

–सबै कुरा तयारी गरेपछि चल्ला ल्याउनु केही घण्टाअघि ब्रुडरमा आवश्यकताअनुसार तापक्रम दिन शुरू गर्नुपर्छ । बु्रडरको तापक्रम नाप्न बु्रडरको एक कुनामा थर्मोमिटरको बल्ब सोत्तरबाट दुई इञ्चमाथि पर्ने गरी थर्माेमिटर झुन्ड्याउनुपर्छ । बु्रडरभित्रको तापक्रम ३२ देखि ३८ डिग्री सेण्टिग्रेड राख्नुपर्छ ।

–चल्ला आइपुग्नु केहीअगाडि पानीका भाँडा ठीक ठाउँमा राख्नुपर्छ । चल्ला ल्याएको पहिलो दिन थाकेका र कमजोर हुने भएकाले पानीमा ग्लुकोज मिसाएर दिनु राम्रो हुन्छ । एक लिटर पानीमा ८० ग्राम ग्लुकोज पाउडर मिसाएर दिनु उपयुक्त हुन्छ ।

–चल्ला हुर्काउने स्थानमा चल्लाहरू होवरबाट टाढा नजाऊन् भनेर छेक्न करीब १ दशमलव ५ फिट उचाइको प्लाइउड वा कर्कटपातको बाटुलो घेरा लगाउनुपर्छ, जसलाई चिकगार्ड भनिन्छ । शुरूमा यो चिकगार्ड होवरबाट करीब ३० इञ्चको दूरीमा हुनुपर्छ । चल्लाको खोर बढ्दै जाँदा यसको परिधि बढाउँदै लैजानुपर्छ ।

४ हप्तासम्म चल्लाको व्यवस्थापन
–पहिलो केही दिनका लागि दिनभर उज्यालो व्यवस्थापन मिलाउनुपर्छ, ताकि चल्लाहरूले दाना, पानी र तातोपन कहाँ छ, पत्ता लगाउन सजिलो पर्छ ।


–पहिलो हप्तामा सबैभन्दा सुविधाजनक तापक्रम ३२ दशमलव ५ डिग्रीदेखि ३५ डिग्री सेल्सिएस हो । ब्रुडरको तापक्रम प्रत्येक हप्ता २ दशमलव ५ डिग्री सेल्सियसले घटाउँदै गएर २१ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्छ । यसका लागि होवरको उचाइ बढाउँदै लैजानुपर्छ । खोरको जाली वा झ्यालहरू दिउँसोको समयमा क्रमशः खुल्ला गर्दै जान सकिन्छ ।

–प्रत्येक २ देखि ३ घण्टामा ब्रुडर घर नियालेर हेर्नुपर्छ ताकि केही कमजोरी भए तुरुन्तै सच्याउनुपर्छ । मरेका चल्लाहरू तुरुन्त बाहिर निकाल्नुपर्छ । दानापानी भाँडोहरूमा छ कि छैन, तापक्रम र भेण्टिलेशनको अवस्था कस्तो छ सबै कुरा विचार गर्नुपर्छ ।
–प्रत्येक दिन पानीका भाँडाहरूलाई ब्रसले सफा गरेर ताजा र सफा पानी राखिदिनुपर्छ ।

जब चल्लाहरूले पानी पिउन सिक्छन्, त्यसपछि पानीका भाँडोलाई तारको प्लेटफर्ममा राख्नुपर्छ वा इँटामाथि राख्नुपर्छ जसले गर्दा पानी पोखिएर सोत्तर भिज्न तथा कुखुराले पानीमा सोत्तर मिसाउन र फोहोर गर्न नपाओस् ।

–चल्लालाई खोरमा राखिसकेपछि पानी र खानाको व्यवस्थापन गर्नुपर्छ । कुखुराको मुख्य लागत भनेकै आहारा हो । समयमा उचित दाना दिइएन भने त्यसको असर चल्लामा देखापर्छ र शारीरिक वृद्धि कम भएर उत्पादनमा असर पर्छ । सम्पूर्ण पौष्टिक तत्व भएको आहारा खुवाइयो भने राम्रो उत्पादन दिन्छ ।

कुखुराको चल्लालाई पहिलो दिन १० देखि २० ग्रामको आहाराको आवश्यकता पर्छ । त्यसपछि चल्लाले गरेको आहारा उपयोगअनुसार दानाको मात्रा बढाउदै लैजानुपर्छ । शुरूको ३ देखि ४ दिन दाना नाङ्लो वा फराकिलो कुट वा पेपरमा दिनुपर्छ । जब चल्लाहरूले खान सिक्छन् तब मात्र दाना कम गहिराइ भएको भाँडामा दिनुपर्छ ।

–बु्रडरमा राखिएको चल्लाको बार (चिक गार्ड)लाई प्रत्येक २÷३ दिनमा अलिअलि गरेर बढाउँदै जानुपर्छ ।
–बु्रडर घरभित्र पर्याप्त मात्रामा हावा आवतजावत गर्न सक्ने हुुनुपर्छ ।

–चार हप्तासम्म कुखुरालाई दिनको २३ घण्टा प्रकाशको आवश्यकता पर्छ । अतः रातको समयमा नियमित बत्तीको व्यवस्था गर्नुपर्छ ।
– प्रत्येक दिन बिहान बेलुका चल्लाको स्वास्थ्य के कस्तो छ राम्रोसँग हेर्नुपर्छ । साथै प्रत्येक पटक दाना दिँदा राम्रोसँग दाना खाए नखाएको विचार गर्नुपर्छ ।

कुखुराको आहारा व्यवस्थापन गर्ने तरिका भेष भण्डारी वैज्ञानिक, बङ्गुर तथा कुखुरा अनुसन्धान कार्यक्रम पोल्ट्री व्यवसायलाई नाफामूलक बनाउन दाना खुवाउँदा विशेष ध्यान दिनुपर्छ । किनभने, कुखुरापालनमा लाग्ने खर्चमा आहाराले मात्र ६५ देखि ७० प्रतिशत स्थान ओगटेको हुन्छ ।

अनुचित तरीकाले दाना खुवाउँदा लागत मात्र बढ्ने नभई उत्पादनमा असर पर्नुका साथै विभिन्न रोगको कारण बन्दछ । चल्लाको वृद्धिदर र फुल पार्ने कुखुराको फुल उत्पादन दर विशेषतः दानाको गुणस्तर र परिमाणमा भर पर्ने भएकाले कुखुराको उमेर र अवस्थाअनुसार गुणस्तरीय दाना आवश्यकता अनुसार उपलब्ध गराउनुपर्छ । कुखुराका लागि आवश्यक पोषणतत्व कुखुराको जात, उमेर, उत्पादन क्षमता र वातावरणमा निर्भर गर्छ ।

कुखुराका लागि चाहिने आवश्यक पौष्टिक पदार्थ दानामा निहित ६ प्रकारका पौष्टिक तत्वहरूले कुखुराको पोषण पूरा गर्छन् । जो निम्नानुसार छन् ः कार्बोहाइड्रेटस्, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ र पानी । शक्तिवद्र्धक खाद्य पदार्थ (कार्बोहाइड्रेट र चिल्लो पदार्थ) ः मकै, गहुँ, जौ, कोदो, ढुटो, खुदो, आलु, तरुल, पिँडालु, कनिका, गीठा, स्कुस, तेल, बोसो आदि शक्तिवद्र्धक खाद्यपदार्थ हुन् । यसले कुखुराकोे शरीरलाई आवश्यक शक्ति र ताप प्रदान गर्छ ।

यस कारण आहारामा यसले ६० देखि ७० प्रतिशत अंश ओगटेको हुन्छ । चल्ला हुर्कंदै जाँदा यसको आवश्यक मात्रा पनि बढ्दै जान्छ । चिल्लो पदार्थले कार्बोहाइड्रेटले भन्दा २ दशमलव २५ गुणा बढी शक्ति दिन्छ । तर, दानामा यसको मात्रा बढी भयो भने पचाउन गाह्रो हुन्छ ।

दाना व्यवस्थापनमा ध्यान दिनुपर्ने कुरा
–ब्रोइलरलाई २ केजी तौल पुग्दा करीब ४ केजी दाना र लेयर्सलाई फुल पार्ने उमेरसम्ममा करीब ८ केजी दाना आवश्यक पर्छ । फुल पार्न थालेपछि दैनिक १ सय १० देखि १ सय २० ग्राम दाना दिनुपर्छ । खुला छोडी कुखुरापालन गर्दा बिहानको समयमा करीब ५० ग्राम (एक मुठी) दाना दिनुपर्छ ।

–धूलो दानालाई मास दाना भनिन्छ, जुन घरमा नै साधारण मेशिन राखेर पनि बनाउन सकिने, सस्तो पर्ने तर खेर बढी जाने हुन्छ भने पेलेट दानालाई ठूलो लगानी र मेशिनरीको आवश्यकता पर्ने र केही महँगो भए तापनि प्रतिफल राम्रो आउने र दाना कम खेर जाने हुन्छ ।

–ढुसी परेको तथा बिग्रिएको र गन्ध आएको दाना कुखुरालाई कहिल्यै पनि दिनु हुँदैन । यसले कुखुराको वृद्धि, अण्डा उत्पादन तथा रोग प्रतिरक्षा प्रणालीमा नराम्रो असर गर्दछ ।

 

कुखुरापालनको अवस्था र सम्भावना
कृषि प्रधान देश नेपालमा पशुपालन र त्यसअन्तर्गतको कुखुरापालन महत्वपूर्ण व्यवसायका रूपमा स्थापित हुँदै छ । कुखुराका साथै अन्य पन्छी जस्तै ः टर्की, हाँस, बट्टाइ, अष्ट्रिज, परेवा, लौकाट आदि पनि फुल र मासुका लगि पालिन्छ । तर, यीमध्ये बढी प्रचलित कुखुरा पालन नै हो । कुखुरालाई घरपालुवा पन्छीका रूपमा पाल्ने चलन ईस्वि संवत शुरू हुनुभन्दा २००० वर्ष अगाडिदेखि नै शुरू भएको हो ।

नेपालमा कुखुरा पालन उद्योग एउटा व्यवसायका रूपमा लिइएको छ । कुखुरा व्यवसायी महासङ्घका अनुसार कुखुरा व्यवसाय वर्षेनि १५ प्रतिशतको दरमा बढिरहेको छ । यो पेशामा १ लाख २० हजारभन्दा बढी कृषक परिवार प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न छन् । देशभरिमा हाल २१ हजारभन्दा बढी ब्रोइलर कुखुरा फार्म र १४ सयभन्दा बढी लेयर कुखुरा फर्म सञ्चालित छन्, जसबाट प्रत्येक दिन ८ लाख २० हजार केजी मासु र २२ लाखओटा अण्डा उत्पादन भइरहेको छ ।

देशभरमा दैनिक १ सय ७८ ओटा कुखुराका चल्ला उत्पादन गर्ने ह्याचरीहरू सञ्चालनमा छन् । प्रत्येक हप्ता १ लाख लेयर कुखुराको चल्ला र २५ लाख ब्रोइलर कुखुराको चल्ला उत्पादन भइरहेको छ ।

नेपालमा १ सय ओटाभन्दा बढी पन्छीको दाना उत्पादन गर्ने उद्योगबाट दैनिक ३ हजार मेट्रिक टनभन्दा बढी कुखुराको दाना उत्पादन भइरहेको छ । देशको कुल गार्हस्थ्य उत्पादनमा कुखुरा व्यवसायबाट मात्र ३ दशमलव ५ प्रतिशतभन्दा बढी योगदान रहेको छ । कुखुराको फुल र मासुका लागि ५० अर्बभन्दा बढी कुखुरा पालिएका छन् । यो क्षेत्रमा ८० अर्बको लगानी रहेको छ ।

फुलका लागि पालिने कुखुराको उत्पादकत्व १ वर्षको उमेरपछि विस्तारै घट्दै जाने हुनाले डेढ वर्षको उमेर पुग्दा त्यसलाई मासुका लागि विक्री गरिन्छ । नेपालमा कुखुरापालन व्यवसाय केही वर्ष अगाडिदेखि द्रुत गतिमा बढिरहेको छ । यो व्यवसायले धेरै घरपरिवारमा आम्दानी बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । नेपालको ग्रामीण बस्तीहरूमा पोषिलो खानेकुराका रूपमा फुल र मासुका लागि तथा केही आय आर्जनसमेत गर्नका लागि कुखुरा पालिने गरिएको छ ।

कुखुरा पालनमा हुने कुल खर्चमध्ये ७० प्रतिशत कुखुराको आहारामा खर्च हुन्छ । कुखुराको आहारा सन्तुलित एवम् राम्रो गुणस्तरको भयो भने कुखुरा पालन व्यवसायबाट ज्यादा आम्दानी गर्न सकिन्छ । तर, कुखुराको दानाको गुणस्तर नियमित परीक्षण गर्ने परिपाटी नभएकाले बजारमा पाइने दानाको गुणस्तरमा एकिन हुन सक्ने अवस्था छैन ।

जसले गर्दा कुखुरा पालन गर्ने कृषकहरूले चाहेजति फुल र मासुको उत्पादन लिन सकेका छैनन् । कुखुराको आहारालगायत कुखुरा पाल्ने ठाउँको व्यवस्थापन, औषधि उपचारको व्यवस्था र बजारीकरणको सम्भाव्यतालाई ध्यानमा राखी व्यवसाय सञ्चालन गरेमा कुखुरा पालनबाटै पनि मनग्य आम्दानी लिन सकिन्छ ।

पोल्ट्री क्षेत्रका जानकारहरुको सहयोगमा एग्रो टाइम्सले तयार पारेको यो रिपोर्ट

 

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...