करको दायराभित्र पर्नेहरुलाई छुट दिन सकिँदैन : अर्थमन्त्री डा. महत
Saturday Jul 01, 2023
वि.सं.२०८० असार १६ शनिवार २२:११
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दायराभित्र पर्छन् उनीहरुलाई छुट दिन नसककिने बताएका छन् ।
आन्तरिक राजस्व कार्यालय पोखराको निरीक्षण पछि उनले धेरैजसो करदाताहरुले भ्याट नलाग्दिए हुन्थ्यो भन्ने गरेको भन्दै छुट दिन नसक्ने बताएका हुन् ।
उनले भने,‘हरेक ट्रान्जेक्सनमा लगाइने करलाई मूल्य अभिवृद्धि कर भनिन्छ, यसको फाइदा भनेको हरेक ट्रान्जेक्सनले हिसाब राख्नुपर्छ । धेरैजसो करदाता यो भ्याट नलाग्दिए हुन्थ्यो भन्छन् । तर, जो करको दायराभित्र पर्छन् उनीहरुलाई छुट दिन सकिँदैन, त्यही हिसाबले काम गर्नुहोला ।’
उनले आगामी वर्ष हाम्रो राजस्व वृद्धि हुने ब्ताउँदै अर्थतन्त्र चलायमान हुन थालेको जानकारी दिए ।
उनले भने,‘ आगामी वर्ष हाम्रो राजस्व वृद्धि हुन्छ । अर्थतन्त्र चलायमान हुन थालेको । पर्यटन क्षेत्र पनि चलायमान हुँदैछ, यसले राजस्व बढाउन मद्दत गर्छ । तपाईंहरुले यो जिम्मेवारीलाई उच्च कर्तव्यनिष्ठाका साथ पूरा गर्नुहुनेछ भन्ने मलाई विश्वास छ ।’
राजस्वको दायरा बढाउने नाममा कागती निचोरेजस्तो गर्न मिल्दैन भन्दै उनले भने,‘हामीले राजस्वको दायरा बढाउँदै लैजानु आवश्यक छ । बढाउने नाममा कागती निचोरेजस्तो गर्न मिल्दैन । जति धेरै उत्पादन भयो, हामी सहज रुपमा कर उठाउन सक्छौं । जति धेर कर उठ्यो, त्यत्ति बढी राजस्व उठ्छ । जति धेरै राजस्व उठ्यो, उति बढी विकास निर्माणमा बजेट विनियोजन गर्न सक्छौं, त्यसपछि अर्थतन्त्र चलायमान हुन्छ ।’
पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको उदाहरण दिँदै मन्त्री डा. महतले भन्नुभयो, पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणका लागि हामीले ऋण लियौं, अहिले चलिरहेको छैन । साउ ब्याज तिर्न मुस्किल छ, लुम्बिनी एयरपोर्टको अवस्था पनि त्यस्तै छ । कतिपय आयोजनाबाट प्रतिफल आउन सकेको छैन ।
विकास निर्माणमा विनियोजित बजेटभन्दा बढी ऋणको साउ व्याज तिर्नुपर्ने अवस्था छ । ३ खर्ब ७ अर्ब हामीले साउ ब्याज तिर्नुपर्छ । हाम्रो पूँजीगत खर्च ३ खर्ब २ अर्ब मात्र छ । अब हामीले राजस्व बढाउनुपर्छ, यसमा कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ ।’
























