विज्ञापन ऐन संशोधन गर्न आवश्यक छ : सञ्चारमन्त्री शर्मा
Thursday Jul 06, 2023
वि.सं.२०८० असार २१ बिहीवार १४:३३
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विज्ञापन नीति ल्याउँदा सरोकारवाला पक्षले राखेको सबै धारणालाई समेटेर समृद्ध खाले नीति बनाउने बताएकी छिन् । यस्का लागि ऐन परिमार्जन गर्नेमा मन्त्रालयले ध्यान दिने पनि उनले प्रष्ट पारिन् ।
बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय विज्ञापन नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालाहरुसंगको छलफल कार्यक्रममा मन्त्री शर्माले सरोकारवालाबाट आएको सुझावलाई,समेटेर नीति परिमार्जन गर्ने बताईन ।
उनले भनिन्, ‘विज्ञापन क्षेत्र र मिडियाको क्षेत्रमा धेरैले लामो समय काम गर्नुभएको छ । धेरै लामो समयदेखि मेहनत गर्ने पनि यहि हुनुहुन्छ । तपाईंहरु सबैको एउटा सरोकार,मेहनत र सुझाव सल्लाहले यो विज्ञापन नीति परिमार्जन गरेर संमृद्ध बनाउने छौं ।’
त्यस्तै उनले सरोकारवालाले राखेको पुरानो विज्ञापन ऐन समय सापेक्ष परिमार्जन गर्नुपर्ने धारणलाई समर्थन गर्दै मन्त्रालयमा आवश्यक छलफल गर्ने प्रतिवद्धता पनि जनाईन् ।
‘विज्ञापन कानून अलि पुरानो र कतिपय कुरा असान्दर्भिक पनि भएका छन् । कानून संशोधन गर्न जरुरी छ । तपाईंहरुले कानून संशोधनको विषय राख्नु भएको छ,यिनै विषयहरुमा हामी फेरी मन्त्रालयले ध्यान दिने छ र सरोकारवालाको सकारात्मक सुझावलाई आत्मसाथ गर्ने छौं,’ मन्त्री शर्माले भनिन् ।
त्यस्तै, उनले नेपाली सञ्चार माध्याममा आएका कतिपय विज्ञापनले मानव स्वास्थ्यलाई हानी गर्ने खालको सामग्री प्रचार तथा प्रसारण गरेको प्रति ध्यानाकर्षण भएको पनि बताईन् ।
























