एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : दीपक र राजपुरा भए वर्षका उत्कृष्ट खेलाडी
Sunday Feb 11, 2024
वि.सं.२०८० माघ २८ आइतवार २०:३४
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको २०औं संस्करणको ‘पल्सर स्पोर्ट्स अवार्ड २०७९’ अन्तर्गत थलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई वर्ष खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आइतबार आयोजना गरेको कार्यक्रममा दीपक पुरुषमा र राजपुरा महिलामा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
यस संस्करणदेखि सुरु गरिएको शीर्ष तीनबाट हुने छनोटमा दुवै उत्कृष्ट दरिएका हुन् । काठमाडौंमा सम्पन्न अवार्डमा दीपकले क्रिकेटका रोहितकुमार पौडेल र आसिफ शेखलाई पछाडि पारे ।
महिलामा राजपुराले एथलेटिक्सकै पुष्पा भण्डारी र बास्केटबलकी अनुसा मल्ललाई पछि पारिन् । दीपक १६औं एसियाली क्रसकन्ट्री दौडमा दुई स्वर्ण विजेता हुन् । राजपुराले पनि सोही च्याम्पियनसिपमा दुई रजत पदक जितेकी थिइन् ।
दीपकलाई गोल्छा ग्रुपका निर्देशक अभिमन्यू गोल्छा र राजपुरालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले राजपुरालाई अवार्ड हस्तान्तरण गरे । दुवैले पुरस्कारमा बजाज पल्सर एन २५० मोटरसाइकल प्राप्त गरेका छन् ।
त्यस्तै, टेबल टेनिसकी खेलाडी सिक्का सुवाल श्रेष्ठले ‘पिपुल्स च्वाइस अवार्ड’ जितिन् । ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा सिक्का विजेता भएकी हुन् ।
सिक्काले सर्वाधिक ४४.८ प्रतिसत मत प्राप्त गरिन् । यस अवार्डको मनोनयनमा करातेका विप्लवलाल श्रेष्ठ, फुटबलका अनन्त तामाङ, भलिबलकी निरुता ठगुन्ना र शारीरिक सुगठनकी रजनी श्रेष्ठ थिए ।
सिक्काले बजार पल्सर मोटरसाइकल प्राप्त गरिन् । उनलाई ईसेवाका चीफ बिजनेस अफिसर आशिष गौतम र केल्मी नेपालका प्रतिनिधि दीपक विष्टले अवार्ड हस्तान्तरण गरे ।
वर्ष उत्कृष्ट प्रशिक्षक पनि एथ्लेटिक्सकै प्रशिक्षक चन्द्र गुरुङ घोषित भए । यो अवार्ड विजेता गुरुङले पनि पल्सर एन १६० मोटरसाइकल पाए । उनलाई सूर्य नेपाल प्रालिका प्रतिनिधि विदुर अधिकारी र युनाइटेड अजोड इन्स्योरेन्स प्रालिका सिनियर डेपुटी सीइओ कुमारबहादुर खत्रीले अवार्ड हस्तान्तरण गरे । गुरुङको प्रशिक्षणमा १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपालले दुई स्वर्णसहित ऐतिहासिक पदक प्राप्त गरेको थियो ।
उक्त च्याम्पियनसिपमा नेपालले सिनियरमा दुई स्वर्ण र एक कांस्य तथा जुनियरमा दुई रजत र एक कांस्य पदक प्राप्त गरेको थियो । प्रशिक्षक गुरुङले बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमटालाई पछि पारे ।
त्यसैगरि, युवा वर्ष खेलाडी क्रिकेटका देव खनाल घोषित भए । उनी आठ वर्षको खडेरी तोड्दै २०२४ को आइसीसी यु–१९ विश्वकप क्रिकेटमा नेपाल टिम छनोट गराउन सफल कप्तान हुन् । देवकै कप्तानीमा नेपालले यूएईलाई फाइनलमा हराउँदै एसिया छनोटको उपाधि जित्न सफल भएको थियो । उनले एथलेटिक्सकी राममाया बूढा र बक्सिङकी सुष्मा तामाङ पछि पार्दै यो अवार्ड जिते ।
देवले अवार्डसँगै पल्सर एन १६० मोटरसाइकल पुरस्कार पाए । उनलाई होटल याक एन्ड यतिकी महाप्रबन्धक मोनिका साई ब्लावर र इड्राइभ नेपाल प्रालिका अध्यक्ष राजेश मास्केले अवार्ड हस्तान्तरण गरे ।
एनएसजेएफ पारा एथ्लिट अवार्डबाट मैयाँ बिसुंखे सम्मानित भइन् । उनले ट्रफीसँगै ५० हजार रुपैयाँ नगद पुरस्कार पाइन् । उनी सन् २००६ देखि पारा खेलकुदमा सक्रिय छिन् ।
लाइफ टाइम एचिभमेन्ट अवार्ड पहिलो ओलम्पियन एवम् भारोत्तलक राजेन्द्रकुमार प्रधानले प्राप्त गरे । खेलाडी र प्रशिक्षकका रूपमा उनी झन्डै साढे पाँच दशक भारोत्तोलन खेलमा सक्रिय छन् ।
प्रधानलाई नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र महासचिव प्रज्वल ओलीले अवार्ड र ५० हजार रुपैयाँ हस्तान्तरण गरे ।
स्पेसल अवार्डबाट पोखराका फोटो पत्रकार सुदर्शन रञ्जित सम्मानित भए । उनी चार दशकभन्दा बढी पोखराका खेल गतिविधिमा सक्रिय छन् । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले अवार्ड हस्तान्तरण गरे । एसियन स्पोटर््स जर्नालिस्ट अवार्ड हङकङका रेमण्ड चुलाई प्रदान गरिएको छ । उनलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले अवार्ड हस्तान्तरण गरे ।
कुल ९ विधामध्ये एसियन स्पोटर््स जर्नालिस्ट अवार्ड विजेताबाहेक ८ विधाका विजेताले युनाइटेड अजोड इन्स्योरेन्सका तर्पmबाट एक वर्षका लागि खेलकुद बिमा पनि पाउनेछन् ।

























