नगरका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका र एन आई सी एशिया बैंक बीच सम्झौता
Wednesday Jul 03, 2024
वि.सं.२०८१ असार १९ बुधवार २३:५९
काठमाडाैं । चन्द्रागिरि नगरपालिकाभित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्नेगरी चन्द्रागिरि नगरपालिका र एनआईसी एशिया बैंकबीच सम्झौता भएको छ ।
नगरपालिकाको उक्त कार्यक्रमको बैंकिङ साझेदारका रूपमा एनआईसी एशिया बैंक छनौट भई मुद्दती खाता बैंकमा सञ्चालन हुने गरी नगरपालिका र बैंकबीच सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनिया र चन्द्रागिरि नगरपालिकाको तर्फबाट नगर प्रमुख घनश्याम गिरीले हस्ताक्षर गरे ।
चन्द्रागिरि नगरपालिकाको निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ (संशोधन सहित २०८०) अनुसार नगरपालिकाभित्र मिति २०८० श्रावण १ गते वा सो मितिभन्दा पछि जन्मिएका बालबालिकाहरू १८ वर्ष पुगे पश्चात् परिपक्क हुने गरी उनीहरूलाई आर्थिक सामाजिक सुरक्षा कार्यविधि बमोजिम नगरपालिकाबाट यो सुविधा प्रदान गरिनेछ।
नगरपालिकाको कार्यविधिअनुसार सो नगरमा स्थायी बसोबास गर्ने व्यक्तिका छोराछोरीहरू यो योजनाबाट लाभान्वित हुन सक्नेछन् । यसका लागि जन्मदर्ता अनिवार्य गरिएको छ ।
चन्द्रागिरि नगरपालिकाले सो अवधिपछि नगरमा जन्मिएका नवजात शिशुहरूको ५/५ हजारका दरले प्रत्येक बालबालिकाको नाममा एनआईसी एशिया बैंकमा १८ वर्षे मुद्दती निक्षेप खाता खोलिदिनेछ ।
यस्ता खातामा अभिभावकले चाहेको खण्डमा थप रकमसमेत राख्न सक्ने व्यवस्था गरिएको छ । यस योजनामा सामेल हुने ग्राहकहरूको निक्षेपमा बैंकले अधिकतम ब्याजदर प्रदान गर्नेछ ।
चन्द्रागिरि नगरपालिकामा जन्म लिने बालबालिकाहरू १८ वर्ष पार गर्दै गर्दा उच्च शिक्षा हासिल गर्न अथवा कुनै व्यवसाय सञ्चालन गर्न नगरपालिकाले प्रदान गरेको यस कोषले निकै सहयोगी भूमिका खेल्दै समग्र नगर क्षेत्रको आर्थिक सामाजिक सुरक्षाको प्रत्याभूतिको लागि कोषेढुंगाको भूमिका निर्वाह गर्ने नगरपालिका र बैंकको विश्वास रहेको छ।



























