नेपाल भ्यालुयर्स एसोसिएशनले १४औं स्थापना दिवस भव्यताका साथ मनायो

Friday Feb 07, 2025
वि.सं.२०८१ माघ २५ शुक्रवार २१:०६

काठमाडौं। मुल्यांकन पेशामा कार्यरत इन्जिनियरहरूको छाता संगठन नेपाल भ्यालुयर्स एसोसिएशन (एनभिए) ले आफ्नो १४औं स्थापना दिवस (एनभिए डे –२०८१) भव्यताका साथ मनाएको छ। काठमाडौंस्थित होटल यात्रीमा आयोजना गरिएको कार्यक्रममा नेपाल इन्जिनियरिङ्ग परिषदका अध्यक्ष प्रा. डा. पदम बहादुर शाही, नेपाल इन्जिनियरिङ्ग परिषदका रजिष्ट्रार ई. शिवमंगल गिरी, नेपाल इन्जिनियर्स एसोसिएशनका अध्यक्ष ई. सुभाष बराल लगायत विभिन्न गणमान्य व्यक्तिहरू उपस्थित थिए।
एनभिएका अध्यक्ष संजयकुमार महतोले कार्यक्रममा सम्बोधन गर्दै इन्जिनियरहरूको व्यावसायिक समस्याहरू समाधान गर्न सबै इन्जिनियरिङ्ग संस्थाहरूको सहयोग आवश्यक रहेको बताए। उनले इन्जिनियरहरूको हकहितका लागि संघर्ष गर्ने संस्थाहरूलाई एकताबद्ध हुन आग्रह गरे।
नेपाल इन्जिनियरिङ्ग परिषदका अध्यक्ष प्रा. डा. पदम बहादुर शाहीले इन्जिनियरहरूका व्यावसायिक समस्याहरू एकिकृत गर्न परिषद तयार रहेको जानकारी दिए। उनले इन्जिनियरहरूले आफ्नो क्षमता अनुसार प्रगति गर्नुपर्ने र देशको विकासमा योगदान पुर्याउनुपर्ने बताए।
नेपाल इन्जिनियर्स एसोसिएशन (एनइए) का अध्यक्ष ई. सुभाषचन्द्र बरालले एनभिएलाई सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले भ्यालुयर्स इन्जिनियरहरूको समस्याहरू समाधान गर्न एनभिएले अग्रणी भूमिका खेल्नुपर्ने सुझाव दिए।
कार्यक्रममा वरिष्ठ आर्किटेक्ट बाबुराम बराललाई विशेष सम्मान गरिएको थियो। उनले मुल्यांकन इन्जिनियरहरूको पेशा स्थापित हुनुपर्नेमा जोड दिंदै यस क्षेत्रमा पलायन बढ्दै गएकोमा चिन्ता व्यक्त गरे।
नेपाल इन्जिनियरिङ्ग परिषदका रजिष्ट्रार ई. शिवमंगल गिरीले भ्यालुयर्स इन्जिनियरहरूको दीर्घकालीन समस्याहरू समाधान गर्न निर्देशिका बनाउनुपर्नेमा जोड दिए। उनले यसका लागि इन्जिनियरिङ्ग परिषद तयार रहेको बताए।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले भ्यालुयर्स इन्जिनियरहरूले फरक-फरक तरिकाले मुल्यांकन गरिरहेको भन्दै सबैलाई समेटेर एउटा स्ट्यान्डर्ड बनाउनुपर्ने आग्रह गरे।
एनभिएले यसअघि वि.सं. २०६८ सालमा स्थापना भएको थियो। यसले देशभर मुल्यांकनसम्बन्धी कार्य स्थगित गरेर १४औं स्थापना दिवस मनाएको छ। केन्द्रसँगै गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, कोशी प्रदेश, कर्णाली प्रदेश र चितवन च्याप्टर, हेटौंडा च्याप्टर, नेपालगञ्ज च्याप्टरले पनि विभिन्न कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाएका थिए। यो कार्यक्रम लिटमस केवलले प्रायोजन गरेको थियो।