साइग्रेस पोख्रेल आइएमईको स्टोरी एम्बेसडर नियुक्त
Tuesday Feb 11, 2025
वि.सं.२०८१ माघ २९ मंगलवार २३:५३
काठमाडौँ । स्टोरीटेलिङ (कथावाचन) क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका साइग्रेस पोख्रेल (सन्तोष पोख्रेल) आइएमई लिमिटेडको स्टोरी एम्बेसडरको रूपमा नियुक्त भएका छन्। विश्वभर फैलिएर रहेका नेपाली श्रमिकहरूका भोगाइ, देखाइ र अनुभूतिलाई कथाको माध्यमबाट उनीहरूका परिवार र घरआँगनसम्म पुग्न साइग्रेसले मद्दत गर्नेछन्।
नेपाली माटोमा सिकेको सिप र क्षमतालाई विश्व बजारमा पुर्याउँदै नेपालमा फूल फुलाउन अग्रणी भूमिका खेलिरहेका नेपाली युवाको कथा अब साइग्रेसको आवाजमा सुन्न पाइने छ। कामको बाध्यतामात्र होइन, कामको हुटहुटीले पनि विदेशमा नेपालीले पसिना बगाएका छन् भन्ने कुराको प्रमाण साइग्रेसको आवाजमा मिसिएको कथाले व्यक्त गर्ने कम्पनीको बुझाई छ।
नेपाली कथावाचनमा एउटा छुट्टै आयाम थप्न सफल साइग्रेस पोख्रेल देश तथा विदेशमा चर्चित युवा अभियन्ता हुन्। सामाजिक सञ्जालमा लाखौंले पछ्याएका साइग्रेसले अब विश्वका हरेक कुनामा रहेका नेपालीका भोगाइ र अनुभवलाई लिपिबद्ध गर्नेछन्।
साइग्रेसले आफ्नो आवाज दिएका आइएमईका सामग्रीहरू आइएमईका सामाजिक प्लेटफर्म यूट्यूब, फेसबुक र इन्स्टाग्राम लगायतमा पोष्ट गरिने कम्पनीले जनाएको छ। हेर्दा सामान्य लाग्ने तर श्रम बजारमा निकै अर्थपूर्ण मानिएका भोगाइलाई साइग्रेसको वाचन मार्फत टिकटक र रीलमा समेत समेट्ने कम्पनीले उल्लेख गरेको छ।
विश्व बजारमा रहेका नेपालीका भोगाइलाई लिपिबद्ध गर्दै कथात्मक शैलीमा नेपालीमाझ पुग्ने जमर्को वास्तवमै प्रभावकारी सावित हुने पनि कम्पनीले जनाएको छ। कामको श्रृंखलामा विदेशमा रहँदा भोगेका, देखेका र अनुभूति गरेका दिनचर्यालाई अब साइग्रेसले लयबद्ध गर्नेछन्। यसले गर्दा नेपालमा रहेका आफन्त र परिवारजनमा थप उत्साह र उत्प्रेरणा पैदा हुने आइएमई लिमिटेडका महाप्रबन्धक बद्रि कटवालले बताए।
यसरी, साइग्रेस पोख्रेलको नियुक्तिले नेपाली श्रमिकहरूका अनुभव र संघर्षलाई विश्वसमक्ष पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा छ।





























