लगानी व्यवस्थापनलाई मजबुत बनाउन बीमा कम्पनीहरूलाई नयाँ निर्देशन

Wednesday Mar 19, 2025
वि.सं.२०८१ चैत ६ बुधवार २२:४७

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा व्यवसाय गर्ने सबै बीमा कम्पनीहरूलाई ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन दिएको छ । यसका साथै लघुबीमा कम्पनीहरूलाई पनि लगानी व्यवस्थापन कार्यका लागि जिम्मेवार कर्मचारी नियुक्त गरी सूचना दिन आग्रह गरिएको छ ।
प्राधिकरणले जारी गरेको निर्देशन अनुसार, बीमा कम्पनीहरूले लगानी सम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्नुपर्नेछ । यस सम्बन्धमा सबै बीमा कम्पनीहरूले सात दिनभित्र प्राधिकरणलाई जानकारी दिनुपर्नेछ ।
लघुबीमा कम्पनीहरूले पनि लगानी व्यवस्थापन कार्यका लागि सम्बन्धित कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीलाई जिम्मेवारी दिई सात दिनभित्र प्राधिकरणलाई सूचित गर्नुपर्नेछ ।
साथै, यसअघि नै लगानी सम्बन्धी व्यवस्था लागू गरिसकेका बीमा कम्पनीहरूले पनि सात दिनभित्र प्राधिकरणलाई यसको जानकारी दिनुपर्ने प्राधिकरणले जनाएको छ ।
यो निर्णय बीमा क्षेत्रमा लगानी व्यवस्थापनलाई अझ पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले लिइएको प्राधिकरणले जनाएको छ । बीमा कम्पनीहरूले यस निर्देशनको पालना नगरेमा प्राधिकरणले आवश्यक कारबाही गर्ने बताएको छ ।