ग्लोबल आइएमई बैंकको नाफा ३७.१२ प्रतिशत बढ्यो

Sunday Apr 20, 2025
वि.सं.२०८२ वैशाख ७ आइतवार २२:५८

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७.१२ प्रतिशतले बढी हो।
तर, बैंकको खुद ब्याज आम्दानी भने ५.४६ प्रतिशतले घटेर १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ। फि तथा कमिशन आम्दानी १७.३० प्रतिशतले बढ्दै २ अर्ब ३१ करोड १८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ३४.४१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३३ करोड ६६ लाख रुपैयाँ पुगेको छ।
बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ रहेको छ। कुल सञ्चालन आम्दानी भने ०.६१ प्रतिशतले घटेको छ।
फागुन मसान्तसम्म बैंकको चुक्ता पुँजी ५.५० प्रतिशतले बढेर ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष १०.७७ प्रतिशतले बढ्दै २८ अर्ब २० लाख रुपैयाँ पुगेको छ।
बैंकको निक्षेप संकलन ६.२० प्रतिशतले बढेर ५ खर्ब १७ अर्ब ६६ करोड ८८ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी ११.८७ प्रतिशतले बढेर ४ खर्ब १३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ पुगेको छ।
बैंकको प्रतिसेयर आम्दानी ३.६६ रुपैयाँले वृद्धि भई १५.८६ रुपैयाँ पुगेको छ, मूल्य आम्दानी अनुपात १३.७९ गुणा र प्रतिसेयर नेटवर्थ १७३.४७ रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको खराब कर्जा ४.९८ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ४.७४ प्रतिशत भन्दा थोरै बढी हो।