नबिल बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्स अवार्ड २०२५ मा दुई सम्मान

Sunday Aug 10, 2025
वि.सं.२०८२ साउन २५ आइतवार ०९:४०

काठमाडौं । नबिल बैंकले एशियन बैंकिङ एण्ड फाइनान्स अवार्ड २०२५ मा ‘साइबरसिक्योरिटी इन्नोभेशन अवार्ड – नेपाल’ र ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’ गरि दुई प्रतिष्ठित पुरस्कार प्राप्त गरेको छ। यी सम्मानले बैंकको नवप्रवर्तन, कार्य दक्षता, तथा ग्राहक र सरोकारवालासँगको दीर्घकालीन विश्वासप्रति प्रतिवद्धतालाई झल्काउँछ।
साइबरसिक्योरिटी इन्नोभेशन अवार्डले नबिल बैंकको डिजिटल सुरक्षालाई मजबुत बनाउने सक्रिय पहलको प्रशंसा गरेको हो, जसले ग्राहकलाई जटिल डिजिटल वातावरणमा सुरक्षित र सहज बैंकिङ अनुभव प्रदान गर्दछ। यसैगरी, प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर पुरस्कारले मुलुकभरका पूर्वाधार तथा विकास परियोजनामा वित्तीय सहयोग पुर्याउँदै मुलुकको आर्थिक वृद्धिमा टेवा पुर्याएको योगदानको कदर गरेको हो।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले भने, “यी पुरस्कारहरू हाम्रो सम्पूर्ण टिमको समर्पण र मेहनतको प्रतिफल हो, र हाम्रा ग्राहक तथा सरोकारवालाले हामीप्रति देखाएको विश्वासको प्रतिबिम्ब हो।” उनले थपे, “हामी निरन्तर नवप्रवर्तन र विकासतर्फ उन्मुख रहन्छौं, र नेपालका लागि अझ सुरक्षित, स्मार्ट र भविष्यमुखी बैंकिङ समाधान प्रदान गर्न केन्द्रित रहनेछौं।”
नबिल बैंक लिमिटेड नेपालको बैंकिङ क्षेत्रमा अग्रणी संस्था हो, जसले नवप्रवर्तनशील र ग्राहककेन्द्रित वित्तीय सेवा प्रदान गर्दै आएको छ। डिजिटल रुपान्तरणमा जोड दिँदै बैंकले आफ्नो २६८ शाखा र ३२० एटीएमको सञ्जालमार्फत ग्राहकलाई नयाँ बैंकिङ अनुभव दिइरहेको छ।