ज्योति विकास बैंकद्वारा कोशी प्रदेशका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान
Sunday Jan 04, 2026
वि.सं.२०८२ पुस २० आइतवार २१:१३
काठमाडौँ। ज्योति विकास बैंक लिमिटेडले कोशी प्रदेशका दुर्गम क्षेत्रहरूमा रहेका स्वास्थ्य चौकीहरूलाई नवजात शिशुको जीवन रक्षा गर्न आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ। ग्रामीण तथा दुर्गम क्षेत्रमा सुरक्षित प्रसूति सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यले बैंकले नवजात शिशुको शारीरिक तापक्रम सन्तुलनमा राखी हाइपोथर्मिया (अल्पताप) हुन नदिन उपयोगी हुने यी उपकरणहरू उपलब्ध गराएको हो।
बैंकको सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गरिएको यस पहलमार्फत शाखा नभएका स्थानहरूमा समेत अत्यावश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउँदै आइरहेको ज्योति विकास बैंकले हालसम्म देशभर ७० वटा बेबी वार्मर जडान गरिसकेको जनाएको छ।
ज्योति विकास बैंकको पहलमा सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–१२ स्थित सिसुवाखोला हेल्थ पोस्ट, मकालु गाउँपालिका–०५ स्थित नुम प्राथमिक स्वास्थ्य केन्द्र, खोटाङ जिल्लाको जालपा गाउँपालिका–१२ स्थित पुजनसेवा नगर अस्पताल तथा पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका–०२ स्थित एकतीन हेल्थ पोस्टमा बेबी वार्मर जडान गरिएको हो।
उपकरण हस्तान्तरण कार्यक्रममा सम्बन्धित स्वास्थ्य चौकीका पदाधिकारीहरू तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै, सोही अवसरमा अस्पताल तथा स्वास्थ्य चौकीका डाक्टर, नर्स लगायत कर्मचारीहरूलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिमसमेत प्रदान गरिएको थियो।
स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ मान्यताका साथ बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम तथा जीवन रक्षा गर्ने उद्देश्यले निरन्तर योगदान दिँदै आएको छ। यसअघि विभिन्न चरणमा देशका अस्पताल, स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरहरूमा प्रदान गरिएका ६६ वटा बेबी वार्मर उपकरणमार्फत हरेक वर्ष करिब २ हजार ४ सय ४२ भन्दा बढी नवजात शिशुले सेवा पाउँदै आएका छन्। हालसम्म बैंकको यो पहलबाट करिब १२ हजार २ सय १० भन्दा बढी शिशुहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
नेपालमा क्रियाशील बैंक तथा वित्तीय संस्थाहरूमध्ये सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत जीवनरक्षणजस्ता अति संवेदनशील क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको ज्योति विकास बैंकले समाजमा सकारात्मक पहलकदमीलाई निरन्तरता दिँदै आएको छ। बैंकले आफ्नो खुद मुनाफाबाट सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाहरूको औसत योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याउँदै आएको जनाएको छ।
संस्थागत सुशासनलाई उच्च प्राथमिकतामा राख्दै ग्राहक, कर्मचारी, नियामक निकाय, सेयरधनी तथा समग्र सरोकारवालाको हितमा प्रतिबद्ध रहेको बैंकले गएको आर्थिक वर्षमा मात्र रु. ४१ करोड कर सरकारलाई योगदान गरेको छ।
हाल ज्योति विकास बैंकले देशभर ११८ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।





























