नेक्सजेन म्यानेजमेन्टले “डबल बी” रेटिंग प्राप्त गर्यो
Friday Jan 30, 2026
वि.सं.२०८२ माघ १६ शुक्रवार २३:३६
काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणमा शेयर निष्काशनको तयारीको क्रममा CARE-NP BB (Is) Double B (Issuer Rating) प्राप्त गरेको छ। यो रेटिंग केयर रेटिंग नेपाल लिमिटेडले माघ १४ गते प्रदान गरेको हो।
कम्पनीका अनुसार, नेक्सजेनले लगानी कम्पनीको रूपमा संस्थापकहरूबाट ५० करोड रुपैयाँ पूँजी जुटाइसकेको छ। कम्पनी २०७४ सालमा स्थापना भएको हो र विगत ६ वर्षदेखि खुद मुनाफामा चलिरहेको छ। विगत वर्षहरूमा कम्पनीले लाभांश वितरण पनि गरेको छ भने यसको नेटवर्थ अंकित मूल्यभन्दा बढी रहेको छ।
नेक्सजेनले २०८२ माघ ५ गते सम्पन्न विशेष साधारण सभामा २० प्रतिशत शेयर सर्वसाधारणमा जारी गरी चुक्ता पूँजी ६२ करोड ५० लाख पुर्याउने निर्णय गरेको थियो। सर्वसाधारणमा शेयर निष्काशनको लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल मार्केटसँग मंसिर ८ गते सम्झौता पनि गरिसकेको छ।
कम्पनीका प्रवन्ध संचालक रमेश कुमार भट्टराईका अनुसार, यस रेटिंगले कम्पनीको वित्तीय स्थिति र लगानीकर्ताप्रति विश्वासलाई थप बलियो बनाउनेछ।





























