नेपालमा लगानीका अवसरहरु उपयोग गर्न यूएईलाई आग्रह
Thursday Jul 17, 2025
वि.सं.२०८२ साउन १ बिहीवार १७:४५
काठमाडौं । निजी क्षेत्रले नेपालको सम्भावनायुक्त आर्थिक क्षेत्रमा लगानी गरी प्रतिफल सुनिश्चित गर्न संयुक्त अरब इमिरेट्स ९यूएई०को सरकार र निजी क्षेत्रलाई आग्रह गरेको छ ।
नेपाल यूएई चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजले देशभित्रका कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा रहेका अपार सम्भावनाहरुमा लगानी गरी छोटो अवधिमै पर्याप्त प्रतिफल प्राप्त गर्न सकिने भन्दै लगानीका लागि आग्रह गरेको हो ।
संघका अध्यक्ष पवन अग्रवालले नेपालका लागि यूएईका राजदूत अब्दुल्लाह जरवा अल शम्सीलाई नेपालमा भएका लगानीका सम्भावनाबारे विस्तृत प्रस्तुतीकरणमार्फत लगानी भित्र्याउन सहजीकरणका लागि आग्रह गरे । बिहीबार काठमाडौंस्थित यूएई राजदूतावासद्वारा आयोजित कार्यक्रममा अध्यक्ष अग्रवालले नेपालबाट कृषिजन्य वस्तु निर्यातको सम्भावना उल्लेख गर्दै खासगरी स्याउ, सरिफा, स्ट्रबेरी, कीवी, चेरी, सुन्तला जस्ता अग्र्यानिक फलफूल निर्यात गर्न उत्कृष्ट अवसर रहेको धारणा व्यक्त गरे । यस्तै, अग्र्यानिक तरकारी निर्यातको सम्भावना पनि उत्तिकै रहेको उनको भनाइ छ ।
“नेपालका किसानले अग्र्यानिक खेतीका विधिहरू आत्मसात् गरेका छन्, जसले अन्तर्राष्ट्रिय बजारमा उनीहरूको उत्पादनलाई प्रतिस्पर्धी बनाएको छ, जहाँ अग्र्यानिक वस्तुहरूको माग उच्च छ,” उनले भने । उनका अनुसार नेपालका उच्च भेगमा उत्पादन गरिने कृषिजन्य वस्तुहरू विशेषगरी मध्यपूर्व जस्ता बजारमा अत्यधिक मागमा रहेको र यसमा नेपाली किसान र कृषि व्यवसायीहरूका लागि आकर्षक निर्यात अवसर सिर्जना गरेको छ ।
नेपालमा रहेका ६ हजारभन्दा बढी नदीहरूमा प्रशस्त जलप्रवाह उपलब्ध रहेको उल्लेख गर्दै उनले आर्थिक रूपमा सम्भव जलविद्युत् उत्पादन क्षमता ४२ हजार मेगावाट रहेको जानकारी राजदूतलाई गराए । हालसम्म नेपालमा २ हजार ८ सय मेगावाट विकास भएको र यसमा २ हजार १ सय मेगावाट निजी क्षेत्रको योगदान रहेको उल्लेख गर्दै अझै उपयोग हुन बाँकी ३० हजार २ सय मेगावाट विद्युत् उत्पादनमा सहकार्य गर्न उनले आग्रह गरे । जलविद्युत् परियोजनाहरूले सामान्यतः १२–१८ प्रतिशतसम्म प्रतिफल दिने गरेको र लगानी पुनः प्राप्तिको अवधि ६ देखि १० वर्षमात्र भएको उल्लेख गर्दै उनले भारत र बंगलादेशमा निर्यातको उच्च सम्भावना रहेकाले बजार सुनिश्चित रहेको धारणा पनि राखे । सरकारले निकट भविष्यमै काठमाडौं उपत्यका र वरपरका पहाडहरूबाट २० मेगावाट वायु ऊर्जाको उत्पादन गर्ने योजना बनाएका कारण वायु ऊर्जाको सम्भावना पनि उत्तिकै रहेको उनको भनाइ छ ।
यसबाहेक नेपालको अद्भुत प्राकृतिक सौन्दर्य तथा प्याराग्लाइडिङ, राफ्टिङ, क्लाइम्बिङ, एटीभीजस्ता साहसिक पर्यटनको केन्द्र भएकाले पनि यस क्षेत्रमा लगानीको बढ्दो अवसरबारे उनले प्रकाश पारेका छन् । यसबाहेक नेपालको काठ, धातु, ढुंगा आदिमा आधारित हस्तकला, अनौठो डिजाइन र आध्यात्मिक भावनाहरूले भरिपूर्ण हुने भएकाले लक्जरी बजारमा आकर्षणको केन्द्र बनेको उनको भनाइ छ ।
नेपालमा पेट्रोलियम प्रशोधनको सम्भावना रहेकाले यूएईले यसलाई उपयोग गर्न सक्ने अध्यक्ष अग्रवालको भनाइ छ । “हाल नेपालले सबै पेट्रोलियम पदार्थ आयात गर्छ। यदि नेपालमै क्रुड आयल प्रशोधन गर्न मिल्ने रिफाइनरी स्थापना गरियो भने, आयात खर्च घट्ने र आर्थिक स्वावलम्बन बढ्नेछ,” उनले भने, स्थानीय प्रशोधनबाट डिजेल, पेट्रोल, जेट फ्युल, ग्यास, वास र डामरजस्ता उत्पादनहरू तयार गर्न सकिन्छ, जसले आन्तरिक माग पूरा गर्न सक्नेछ ।”
भारत र चीनबीच अवस्थित नेपालको भौगोलिक स्थितिले क्षेत्रीय निर्यातका लागि रणनीतिक क्षेत्रीय लाभ र अनुकूलता दिने उल्लेख गर्दै उनले नेपालमा सस्तो श्रम, अनुकूल व्यापार नीति, एकद्वार प्रणाली, र बहुराष्ट्रिय कम्पनीहरूको नाफा फिर्ता सजिलो बनाइएको जानकारी गराए ।
कार्यक्रममा नेपालका लागि यूएईका राजदूत अब्दुल्लाह जरवा अल शम्सीले दुई मुलुकबीचको असल सम्बन्धलाई विस्तार गर्दै श्रम सम्बन्धबाट माथि उठेर पारस्परिक लगानीका क्षेत्रमा अघि बढ्न सकिने धारणा राखे । नेपालमा लगानीका प्रचुर सम्भावना रहेको आफूले पनि महशुस गरेको उल्लेख गर्दै उनले तथ्य र तथ्यांकका आधारमा आफूले लगानी भित्र्याउन पहल गर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यूएईमा रहेका ४ लाख नेपाली नै दुई मुलुकबीचको सम्बन्धका सेतु रहेको धारणा राख्दै यूएईका लागि दक्ष श्रमिक उत्पादनका लागि नेपालमै तालिम केन्द्र स्थापना गर्नुपर्ने र यसमा दुई मुलुकबीच सहकार्य जरुरी रहेको धारणा राखे । नेपालमा भएका लगानीका सम्भावनाहरु उजागर गर्दै वाह्य लगानी भित्र्याउन सरकार र महासंघले पहल गरिरहेको उल्लेख गर्दै उनले कुटनीतिक माध्यमको सदुपयोग हुनुपर्नेमा जोड दिए ।




























