ज्योति विकास बैंक सूचना सुरक्षा प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो विकास बैंक
Thursday Jul 17, 2025
वि.सं.२०८२ साउन १ बिहीवार १८:०५
काठमाडौं । ज्योति विकास बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO/ 27001:2022 सर्टिफिकेसन प्राप्त गर्न सफल भएको छ। यससँगै बैंक यस्तो प्रतिष्ठित सूचना सुरक्षा प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो विकास बैंक बनेको छ।
उक्त प्रमाणपत्र द्वारा प्रदान गरिएको हो, जुन विश्वव्यापी रूपमा सूचना सुरक्षाका लागि मान्य मानक हो। बैंकले मोबाइल बैंकिङ, कार्ड सेवा, कर्जा तथा निक्षेप, सूचना प्रविधि, मानव संसाधन, डिजिटल बैंकिङ, अपरेसन तथा जोखिम व्यवस्थापनजस्ता विभागहरूमा उच्चस्तरीय सूचना सुरक्षा प्रणाली लागू गर्दै आएको छ।
बैंकले आफ्नो सुरक्षात्मक प्रणाली, अभ्यास तथा नियन्त्रण नीतिहरूको गहन परीक्षणपछि प्रमाणपत्र प्राप्त गरेको हो। यस सर्टिफिकेसनले बैंकको सूचना सुरक्षा संरचना प्राविधिक रूपमा बलियो, अद्यावधिक र जोखिम न्यूनीकरणमा सक्षम रहेको पुष्टि गरेको छ।
बैंकले प्रविधिमैत्री, ग्राहक केन्द्रित सेवा र डिजिटल ट्रान्सफर्मेसनमा निरन्तर ध्यान दिँदै आएको छ। साइबर सुरक्षा, निरन्तर सुधार नीति तथा नियामक निकायहरूको अनुपालनमा कुनै सम्झौता नगरी ग्राहकलाई सेवा दिँदै आएको बैंकले ग्राहकहरूको विश्वास बढाउने कार्यमा पनि यो उपलब्धि महत्त्वपूर्ण भएको जनाएको छ।
सामाजिक उत्तरदायित्वतर्फ समेत सक्रिय ज्योति विकास बैंकले नवजात शिशुहरूको जीवन रक्षा गर्न ‘न्यानो नानी’ परियोजनामार्फत हालसम्म २,२९४ भन्दा बढी शिशुहरूलाई प्रत्यक्ष लाभ पुर्याएको छ। साथै, बैंकले गत आर्थिक वर्षमा ४० करोड रुपैयाँ कर तिरेको छ भने चालु आर्थिक वर्षको पौष मसान्तसम्म १५ करोड रुपैयाँभन्दा बढी कर बुझाइसकेको छ।
हाल बैंकले देशभर १२१ वटा शाखा, ३ वटा विस्तारित काउन्टर र ७५ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। डिजिटल बैंकिङ्गमा अग्रणी स्थान बनाउँदै, बैंकले सूचना सुरक्षामा पनि नयाँ मापदण्ड स्थापित गरेको छ।




























