रेनोले ल्याउँदैछ नयाँ पुस्ताको डस्टर: आधुनिक डिजाइन र शक्तिशाली इन्जिनसहित

Thursday Oct 09, 2025
वि.सं.२०८२ असोज २३ बिहीवार २१:२९

काठमाडौं । रेनोले भारतीय बजारमा आफ्नो लोकप्रिय एसयूभी मोडलको नयाँ संस्करण रेनो डस्टर चाँडै लन्च गर्ने तयारी गरेको छ। नयाँ डस्टरमा अघिल्लो मोडलको तुलनामा इन्टेरियर र एक्सटेरियर दुवैमा ठूला परिवर्तन गरिएको छ ।
नयाँ रेनो डस्टरको डिजाइन निकै आधुनिक र प्रभावशाली बनाइएको छ। फ्रन्टमा अब रेनोको पुरानो लोगोको सट्टा बोल्ड अक्षरमा ‘रेनल्ट’ लेखिएको छ, जसले कारलाई प्रिमियम लुक प्रदान गर्छ । यसमा स्लिक एलईडी हेडलाइट र वाई-आकारका एलईडी डे-टाइम रनिङ लाइट राखिएको छ । साथै बम्परमा ४ वटा पार्किङ सेन्सर र १ वटा क्यामेरा पनि समावेश गरिएको छ।
यसमा १८ इन्चको डायमण्ड-कट अलोय ह्विल पनि समावेश गरिएको छ । साथै ठुलो ह्विल आर्च र साइड क्ल्याडिङले यसको मस्कुलर लुकलाई अझ आकर्षक बनाएको छ । यसको साइड क्ल्याडिङ रिसाइकल्ड प्लास्टिकबाट बनाइएको छ ।
नयाँ डस्टरको इन्टेरियर ड्राइभर केन्द्रित ड्यासबोर्ड डिजाइनमा आधारित छ। यसमा १०.१ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर राखिएको छ । साथै रियर एसी भेन्ट, टाइप-सी चार्जिङ पोर्ट र छ-स्पिकरको साउन्ड सिस्टम पनि उपलब्ध गराइएको छ । यसको इन्टेरियर डिजाइनमा वाई-आकारका एलिमेन्टल प्रयोग गरिएको छ ।
नयाँ रेनो डस्टरमा १.३-लिटरको टर्बो पेट्रोल इन्जिन दिइनेछ, जसले १५३ बीएचपी पावर र २७० एनएम टर्क उत्पादन गर्न सक्नेछ। सो इन्जिनले यसलाई आफ्नो सेगमेन्टको सबैभन्दा शक्तिशाली एसयूभी बनाउनेछ। यदि भारतमा सो इन्जिनसहित लन्च गरियो भने, नयाँ डस्टरले हुन्डाई क्रेटा, किया सेल्टोस, स्कोडा कुशाक र फक्सवागन ताइगुन जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।
यद्यपि कम्पनीले सो एसयूभीको लन्च मितिको बारेमा आधिकारिक घोषणा गरेको छैन, तर भारतीय अटो बजारमा यसको आगमनले मध्यम सेगमेन्ट एसयूभी प्रतिस्पर्धामा नयाँ जोश ल्याउने अपेक्षा गरिएको छ।