सिटिजन्स क्यापिटलले २८ करोड ५ लाख रुपैयाँभन्दा बढी प्रतिफल वितरण गर्ने, तीन फण्ड र क्यापिटलको मुनाफाबाट लाभांश वितरण सुरु

Saturday Oct 11, 2025
वि.सं.२०८२ असोज २५ शनिवार १४:४४

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफा तथा संचित कोषबाट कुल रु. २८,०५,२१,०२० (अक्षरेपीः अठाइस करोड पाँच लाख एकाईस हजार बीस) बराबरको प्रतिफल वितरण सुरु गरेको जनाएको छ।
कम्पनीका अनुसार, सिटिजन्स म्युचुअल फण्ड–२ बाट ८.२५% नगद लाभांश (रु. ४,६२,००,०००) र सिटिजन्स सुपर–३० म्युचुअल फण्डबाट १२.७५% नगद लाभांश (रु. ९,५७,१७,२९७) वितरण कार्य २०८२ भदौ २० गते देखि सुरु गरिएको छ।
त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड–१ मिति २०८१ फागुन १९ गते परिपक्व भई खुद सम्पत्ति मूल्य रु. ११.३० का दरले हुन आउने रकमसहित रु. ९२,६६,०३,७२३ (अन्तिम वर्षको १३% लाभांश सहित) २०८२ जेठ २७ गते देखि वितरण भईरहेको कम्पनीले जनाएको छ।
साथै, सिटिजन्स क्यापिटल लिमिटेडले आफ्नै मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई रु. ३,२०,००,००० लाभांश २०८२ भदौ २० गते देखि वितरण गरिरहेको जानकारी दिएको छ।
कम्पनीले विगतका वर्षहरूमा वितरण गरिएको नगद लाभांश हालसम्म नबुझेका इकाइधनीहरूलाई आफ्नो हितग्राही खाता (Demat Account) अद्यावधिक गरी सिटिजन्स क्यापिटल लिमिटेडमा सम्पर्क गर्न आग्रह गरेको छ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको सिटिजन्स क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धन, लगानी व्यवस्थापन (Portfolio Management), संस्थागत परामर्श, अण्डरराइटिङ, शेयर रजिस्ट्रार तथा डिम्याट सेवा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ।
कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार, बाटुलेघर, काठमाडौंमा रहेको छ। सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष श्री राजेन्द्र लाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत श्री सबिर बादे श्रेष्ठ रहेका छन्।
कम्पनी सचिव रमेश लुईटेलद्वारा जारी प्रेस विज्ञप्तिमा सिटिजन्स क्यापिटलले आफ्ना लगानीकर्ता तथा इकाइधनीहरूलाई समयमै लाभांश बुझिलिन र बैंक खाता अद्यावधिक गर्न पुनः अनुरोध गरेको छ।