भन्सार नियम पालना र राजस्व योगदानमा उत्कृष्ट भूमिका निर्वाह गरेपछि सीजी मोटर्स सम्मानित
Monday Jan 26, 2026
वि.सं.२०८२ माघ १२ सोमवार १९:५२
रसुवा, माघ १२ (२०२६) – ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस २०२६ को अवसरमा रसुवा भन्सार कार्यालय, टिमुरेले आयोजना गरेको विशेष कार्यक्रममा सीजी मोटर्स प्रालिलाई सम्मान गरिएको छ।
भन्सार ऐन तथा नियमको पूर्ण पालना गर्दै नियमित रूपमा राजस्व संकलनमा योगदान पुर्याएको कदर स्वरूप रसुवा भन्सार कार्यालयले सीजी मोटर्सलाई कदर–पत्र प्रदान गरेको हो।
विश्व भन्सार संगठन (WCO) द्वारा निर्धारित यस वर्षको नारा “सतर्कता र प्रतिबद्धतामार्फत समाजको संरक्षण गर्ने भन्सार” लाई आत्मसात गर्दै आयोजित कार्यक्रममा विभिन्न सरकारी अधिकारी, भन्सार कर्मचारी, व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सीजी मोटर्स प्रालिले भन्सार नियम तथा कानुनको पूर्ण पालना, पारदर्शी आयात तथा व्यापार प्रक्रिया, समयमै राजस्व भुक्तानी तथा वैध र व्यवस्थित व्यापार प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान गरिएको रसुवा भन्सार कार्यालयले जनाएको छ। निजी क्षेत्रसँगको सहकार्यबाट वैध व्यापार प्रवर्द्धन, राजस्व वृद्धि तथा राष्ट्रिय आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने कार्यालयको भनाइ छ।
सम्मान ग्रहण गर्दै सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कपिल शिवाकोटीले उक्त सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै रसुवा भन्सार नाकासँग सहकार्य गर्ने अवसर प्राप्त भएकोमा आभार प्रकट गरे। उनले आगामी दिनमा पनि सरकारी नियम, कानुन तथा भन्सार प्रक्रियाको पूर्ण पालना गर्दै जिम्मेवार र पारदर्शी व्यवसाय सञ्चालनमा प्रतिबद्ध रहने बताए।
चौधरी ग्रुप अन्तर्गत सञ्चालनमा रहेको सीजी मोटर्स प्रालि नेपालको अग्रणी अटोमोबाइल कम्पनीमध्ये एक हो। कम्पनीले नेपालमा नयाँ तथा दिगो मोबिलिटी सवारी साधनहरूको बिक्री–वितरण गर्दै आएको छ भने सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय सवारी साधनको प्रवर्द्धनमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ।



























