बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन
Friday May 01, 2026
वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००
काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
शिविरमा बालरोग, स्त्रीरोग, दन्त उपचार तथा मनोसामाजिक परामर्शसहित विभिन्न स्वास्थ्य सेवाहरू एकै स्थानमा उपलब्ध गराइएको छ। स्वास्थ्य शिविरमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नेतृत्वमा कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र पाटन मानसिक अस्पतालका विशेषज्ञ चिकित्सक तथा टोलीहरू खटिएका छन्।
शिविरमै आवश्यक औषधि वितरण तथा परामर्श सेवा प्रदान गरिनुका साथै जटिल स्वास्थ्य समस्या भएका बिरामीलाई सरकारी अस्पतालमा रेफर गर्ने व्यवस्था समेत मिलाइएको छ। हालसम्म ६८ जनाले शिविरमार्फत स्वास्थ्य सेवा लिइसकेका छन्।
विशेषगरी विस्थापनका कारण उत्पन्न हुन सक्ने मनोसामाजिक तनाव र मानसिक स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै पाटन मानसिक अस्पतालको टोलीले परामर्श सेवा प्रदान गरिरहेको छ।
यसैबीच, कीर्तिपुर क्षेत्रमा पनि वीर अस्पतालको नेतृत्वमा अर्को स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ। उक्त शिविरमा आँखा तथा दन्त उपचार सेवामा सेवाग्राहीको उल्लेख्य चासो देखिएको जनाइएको छ।
काठमाडौं महानगरपालिका र स्वास्थ्य सेवा विभागको समन्वयमा सञ्चालन भएका यी शिविरहरूमा पर्याप्त जनशक्ति तथा औषधिको व्यवस्था गरिएको सम्बन्धित निकायले जनाएको छ।




























