कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय विद्युतीय सिम र अन्तर्राष्ट्रिय सवारीचालक अनुमति सेवा उपलब्ध हुने
Wednesday Jul 29, 2026
वि.सं.२०८३ साउन १३ बुधवार २३:३१
काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी निम्बु (कुराकानी अनलाइन प्रालि.) बीच ग्राहकहरूलाई नवीन डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता भएको छ।
सम्झौतापछि निम्बुको अन्तर्राष्ट्रिय विद्युतीय सिम ९ई–सिम० तथा अन्तर्राष्ट्रिय सवारीचालक अनुमति (आईडीपी) सम्बन्धी सेवाहरू कुमारी बैंकको मोबाइल बैंकिङ एपमा एकीकृत गरिएका छन्। यससँगै बैंकका ग्राहकहरूले अब मोबाइल बैंकिङ एपमार्फत नै अन्तर्राष्ट्रिय विद्युतीय सिमका लागि डेटा प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय सवारीचालक अनुमतिका लागि आवेदन दिन सक्नेछन्।
बैंकका अनुसार यो सेवा विदेश यात्रा गर्ने, उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा व्यावसायिक प्रयोजनले नियमित रूपमा विदेश आवतजावत गर्ने ग्राहकहरूका लागि विशेष रूपमा उपयोगी हुनेछ।
विद्युतीय सिम सेवामार्फत ग्राहकहरूले विदेश पुगेपछि स्थानीय सिम कार्ड खरिद गर्न वा परिवर्तन गर्नुपर्ने झन्झटबाट मुक्त भई सहज रूपमा इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन्। त्यसैगरी, अन्तर्राष्ट्रिय सवारीचालक अनुमति सेवाले आवश्यक अनुमति प्राप्त गर्ने प्रक्रियालाई थप सरल, छिटो र व्यवस्थित बनाउने बैंकले जनाएको छ।
यस सेवाको अर्को विशेषता भनेको ग्राहकहरूले विद्युतीय सिम तथा अन्तर्राष्ट्रिय सवारीचालक अनुमति सेवाको शुल्क कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत नेपाली रुपैयाँमै भुक्तानी गर्न सक्ने व्यवस्था हो। यसले विदेशी मुद्रामा भुक्तानी गर्नुपर्ने झन्झट कम गर्नुका साथै सेवा प्रक्रियालाई थप सहज, सुरक्षित र सेवाग्राहीमैत्री बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।
विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०३ स्वचालित नगद सेवा केन्द्र ९एटीएम० तथा ४० शाखारहित बैंकिङ सेवा केन्द्रमार्फत लाखौँ ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले प्रविधिमा आधारित आधुनिक सेवा विस्तार गर्दै डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेको जनाएको छ। साथै, यस सहकार्यले ग्रामीण, अर्धशहरी तथा शहरी क्षेत्रका ग्राहकहरूलाई अन्तर्राष्ट्रियस्तरका डिजिटल सेवामा सहज पहुँच पुर्याउने र विदेश यात्रा, अध्ययन, रोजगारी तथा व्यावसायिक प्रयोजनका लागि आवश्यक सेवाहरू एउटै डिजिटल माध्यमबाट उपलब्ध गराई ग्राहक अनुभवलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
























