हिरोसिमा सम्झिदै गरे नेपाल र भारतका कलाकारहरुले सिर्जना
Monday Aug 07, 2017
वि.सं.२०७४ साउन २३ सोमवार १२:४१
श्रावण २२, काठमाडौ- लुम्बिनी वल्र्ड पिस फोरमको आयोजनामा विश्वमा आणविक हातहतियारको प्रतिबन्ध र शान्तिको कामना गर्दै नेपाल र भारतका गरी २५ जना कलाकारहरुले अगष्ट ६ अर्थात “हिरोसिमा पिस मेमोरियल डे”का दिन “हिरोसिमा पिस मेमोरियल आर्ट क्याम्प २०१७”मा भाग लिएका छन । लुम्बिनी वल्र्ड पिस फोरमको आयोजनामा सम्पन्न सो कार्यक्रमको उद्घाटन नेपाल ललितकला प्रज्ञा

प्रतिष्ठानका पूर्व कुलपती किरण मानन्धरले गर्नुभयो। प्रत्येक बर्ष अगष्ट ६ तारिखका दिन स्मरण गरिने ”हिरोसिमा पिस मेमोरियल डे“ का दिन यस बर्ष ‘बसुधैव कुटुम्बकम’ को नारा सहित लुम्बिनी वल्र्ड पिस फोरमले विश्व शान्ति झल्कने आर्ट क्याम्पको आयोजना गरेको हो। कार्यक्रमको आयोजना काठमाडौं स्थित बौद्धनाथ स्तुपाको परिसरमा गरिएको थियो। कार्यक्रममा कवि विप्लव प्रतिकले कविता बाचन गर्नु भएको थियो।

विश्वमा शान्ति र सद्भावको सन्देश दिने उद्देश्यले लुम्बिनी वल्र्ड पिस फोरमले नेपाल र बिदेशमा बिभिन्न कार्यक्रम अभियानहरु गर्दै आएको छ। हरेक बर्ष बुद्ध जयन्तीका दिन लुम्बिनीमा लुम्बिनी आर्ट क्याम्प, लुम्बिनी विश्व शान्ति प्रदर्शनी, सद्भाव बर्ष, सद्भावका लागि क्रिकेट, लुम्बिनी शान्ति सम्मेलन जस्ता कार्यक्रमहरु गर्दै आएको लुम्बिनी वल्र्ड पिस फोरमले यस बर्ष देखि प्रत्येक बर्ष अगष्ट ६ तारिखका दिन “हिरोसिमा पिस मेमोरियल आर्ट क्याम्प”गर्ने भएको छ। यस बर्ष आर्ट क्याम्पमा भारत, फ्रान्स र नेपालका कलाकारहरुले भाग लिएका थिए ।- बासु गौतम, अध्यक्ष, लुम्बिनी वल्र्ड पिस फोरम

























