महसंघमा १२ वर्षमदेखि जिम्मेवारी सम्हाल्दै ,यसपटक महत्वपूर्ण पद एशोसियट उपाध्यक्ष पदमा उम्मेदवारी : सौरभ ज्योति
Tuesday Nov 17, 2020
वि.सं.२०७७ मंसिर २ मंगलवार १२:१७

काठमाडौँ । नेपाल उद्योग वाणिज महासंघमा नेपाल युवा उद्यमी मञ्चको संस्थापक सदस्य हुँदै हाल बैंकिङ, वित्त तथा बीमा समिति सभापति रहेका सौरभ ज्योति एसोसिएटतर्फको उपाध्यक्ष पदका प्रत्यासी हुन् । व्यावसायिक घराना ज्योति समूहका निर्देशक ज्योतिले महासंघको भूमिका पूरा गर्न आफ्नो व्यवसायलाई भन्दा धेरै जोड दिनुपर्ने धारणा राख्दै आएका छन् ।
एसोसिएटतर्फको उपाध्यक्षमा किन लड्दैछन् सौरभ ज्योति ?
उनले पहिलो कार्यकालमै एसोसिएट उपाध्यक्षमा इच्छा देखाएका थिए । तर, विभिन्न परिस्थिति र “टिम स्पिरिट” का लागि उनले उक्त पद छाडेका थिए । महासंघमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने उनको पनि कपाल फुलिसकेको छ । टिमको भावना र एकरुपता हुनुपर्छ भन्ने निजी क्षेत्रमा उनकोे “स्ट्रङ प्रिन्सिपल” छ ।
पहिलेको कार्यकालमा उनले अर्कोपटक आउँछु भनेर अरु साथीहरुलाई बाटो खुला गरिदिएको ज्योति बताउँछन् । त्यहाँ उनको ६ वर्ष बितिसकेको छ । त्यसैले अहिले आफूले एशोसिएट्सको उपाध्यक्षमा दाबी गरेको ज्योतिको भनाइ छ । यसमा “रिजल्ट” ल्याउने गरी काम गर्ने सोच उनले बनाएका छन् ।
समग्र रुपमा अर्थतन्त्रको विकासमा लाग्ने प्रतिबद्धता ज्योतिले जनाएका छन् । व्यापार व्यवसायको समृद्धिमा आफ्नो जोड रहने उनको भनाइ छ । “व्यवसायीहरु समृद्ध हुँदा ठूला व्यवसायको मात्र होइन, समग्र रुपमा साना, मझौला उद्योगदेखि लिएर सबै वर्गको हुनुपर्छ । समग्र आर्थिक विकासको शुत्र पनि यही नै हो,” ज्योति भन्छन्, “नत्र सीमित व्यक्तिले मात्र प्रगति गर्न सक्यो भने हाम्रो आर्थिक विकास हुने सम्भावना हुँदैन । समृद्ध नेपाल र सुखी नेपालीको जुन सपना हामीले लिएका छौं, त्यो साकार पार्न ग्राह्रो हुन्छ । त्यसैले महासंघको, साझा समृद्धि र समावेशी विकासमा लाग्नुपर्छ भन्ने हाम्रो मुख्य एजेण्डा हो ।”
“महासंघ भनेको ५४ वर्ष पुरानो एउटा व्यावसायिक संस्था हो । सबै उद्योग व्यवसायीको छाता संगठन हो, जसको सञ्जाल कुनै क्षेत्रमा नेपाल सरकारको भन्दा पनि बढी छ । यो अवस्थामा महासंघले अहिलेको भन्दा धेरै काम गर्न सक्छ” ज्योति भन्छन् ।

कर समितिमा सभापति भएर पहिलो कार्यकालमा काम गर्दा महासंघको सञ्जाल नेपाल सरकारको कर कार्यालयको सञ्जालभन्दा बढी भएको उनको अनुभव छ । त्यसैले पनि एजेण्डा वस्तुनिष्ठ हुनुपर्छ भन्ने धाराणा राख्छन् ज्योति ।
विज्ञसहितको प्रोफेसनल सचिवालय आजको आवश्यक्ता रहेको बताउने ज्योति अबको उद्देश्य रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्ने बताउँछन् । आर्थिक समृद्धि र सबै सदस्यको हक हितका लागि लड्ने प्रतिबद्धता उनको छ । “तर यो विषयबाट महासंघ अलि बाहिर गइरहेको एक दशकभन्दा बढी भइसकेको छ । अहिलेको मुद्दा नै राजनीति हुन्छ,” ज्योति भन्छन्, “को कुर्चीमा आउने रु कार्य समितिमा पनि छलफल हुँदा आधा कुरा त आन्तरिक राजनीतिकै हुन्छ । यो एकदम गलत छ ।”
महासंघ सचिवालय पनि तथ्य र तथ्यांकका आधारमा काम गर्न सक्ने किसिमले स्थापित गरिनुपर्ने ज्योतिको भनाइ छ । यसका लागि पनि आफूहरुले टिमबाट महासंघको सुदृढीकरणको विषयमा सचिवालयलाई प्राथमिकतामा राखेको उनी बताउँछन् । “महासंघको मुख्य मुद्दा भनेको अर्थतन्त्र जोगाउने हुनुपर्छ । खासगरी अहिलेको परिस्थितिमा कोभिडले पुर्याएको असरको आर्थिक पुनर्जीवनमा लाग्नुपर्ने टड्कारो आवश्यकता छ । अर्थतन्त्र धरासयी अवस्थामा छ । विदेशबाट लाखौं युवा स्वदेश फर्किने अवस्थामा छन्,” ज्योतिले भने, “उनीहरुलाई रोजगारी सिर्जना गर्ने वातावरण कसरी बनाउने रु दीर्घकालीन स्थायी नीतिहरु कसरी स्थापित गर्ने रु थिंक ट्यांकमा कसरी अघि बढ्ने रु यस्ता विषय मेरो प्राथमिकतामा पर्ने छन् ।”
नतिजाउन्मुख काम गर्नका लागि महासंघलाई राजनीतिमुक्त बनाउँदै वस्तुनिष्ठ व्यावसायिक संस्था बनाउन ज्योतिले सम्बद्ध सबै पक्षको ध्यानाकर्षण समेत गराएका छन् । नेपाल सरकारलाई उचित सल्लाह दिएर क्षेत्रगत रुपमा सामाजिक र राष्ट्रकै विकासमा ठूलो योगदान गर्ने निजी क्षेत्र भएकाले त्यो दिशामा जाने बाटो पनि निजी क्षेत्रले नै बनाउनुपर्ने उनको तर्क छ । “प्रोफेसनल संस्था बनाएर राजनीतिमुक्त बनाउने मेरो व्यक्तिगत सिद्धान्त र उद्देश्य हो,” ज्योति भन्छन्, “व्यक्तिगत भने पनि टिमको कुरा त आइहाल्छ । टिम पनि यही सोच भएका साथीहरु रहेको नै भएकाले हामीले महासंघमा परिवर्तन चाहेका छौं ।”
“नेता भएँ भनेर सबैले नमस्कार गरे भन्दैमा धाक देखाउने त होइन नि रु अध्यक्ष , उपाध्यक्ष, सबैसँग झुकेर सबै साथीहरुको सेवामा लाग्ने हो भने धेरै काम त आफैं सम्पन्न हुन्छन् । त्यो नै वास्तविक नेतृत्व हो । र अहिले यसको खाँचो परेको छ,” ज्योति भन्छन् ।

साथीहरुलाई परेको समस्या र अफ्ठ्यारोको एजेण्डा बोकेर आगाडि बढ्ने र सम्बन्धित सरकारी निकाय, सम्बन्धित संघ–संस्थामा गएर समस्या समाधान गर्ने र महासंघको गरिमा अझै उच्च बनाउने उद्देश्यले आफू र आफ्नो टिम अघि बढिरहेको उनको भनाइ छ । मतदाताले पनि यो विषय राम्रोसँग बुझ्नु भएकाले आफूहरु सशक्त रुपमा अघि बढिरहेको उनले बताए । हाल एसोसिएट्सतर्फ ९ सय २७ जना मतदाता रहेका छन् । ती सबै मतदाताहरु उद्योग, व्यवसायका प्रमुखहरु, प्रोपाइटरहरु, मालिकहरु सबै प्रोफेसनल व्यक्ति भएकाले पनि आफ्नो चुनाव जित्ने रणनीति धेरै सरल रहेको उनको बुझाइ छ ।
“नेपालमा कुरै गर्न त सबैले ठूला–ठूला गर्छन्, कुरा होइन काम हुनुपर्यो भन्ने मेरो धारणा हो । त्यसै पनि म कम बोल्ने मान्छे हो, काम कति गरेको छु भन्ने त साथीहरुले विचार गर्नुभएको छ । अरु काम नेतृत्वमा पुगेर गर्न सहज होला भनेर यसपटक अघि सरेको छु” ज्योति भन्छन् ।
जसले काम गर्नका लागि त्यो पदमा पुग्ने योग्यता राख्छ, त्यो व्यक्ति नै नेतृत्वमा पुग्नुपर्छ भन्ने धारणा ज्योतिको छ । सबैजना व्यवसायको नेतृत्व सम्हालेर हिँड्ने भएकाले आफ्नो हकमा कामको योग्यताले आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गर्छन् ज्योति । आफूले दाबी गरेको पदमा सेवा गर्नलाई मौका दिन आग्रह गरेको बताउने ज्योती कामबाटै अगाडि बढेर आफूले सहयोग माग्ने अवस्थामा पुगेको रसहयोग पाएर त्यो पद पाइसकेपछि एक्लै नभई टिम भएर काम गर्न प्रतिबद्ध रहेको बताउँछन् ।
१९ जनाको टिममा आफूहरु र ९ सय २७ जना नै मासिक रुपमा छलफल गरेर निकास खोज्ने योजना आफूले बनाएको ज्योतिको भनाइ छ । “सबैका सुझावहरु संकलन गरेर हामी अघि बढ्ने हो । समस्या छ भने समाधान गर्ने, आर्थिक समृद्धिका लागि आवश्यक योजना र रणनीति बनाउने, निजी क्षेत्रको सशक्तीकरणमा लाग्ने एजेण्डालाई हामीले आत्मसात् गरेर अघि बढेका छौं” ज्योति भन्छन् ।
निर्वाचन प्रजातान्त्रिक अभ्यास भएको बताउने ज्योति मतदाताले राम्रो मान्छे चिन्न सक्नुपर्नेमा जोड दिन्छन् । व्यक्तिले जे भने पनि टिममा मिलेर काम गर्नुपर्ने र त्यो गर्ने क्षमता आफूहरुको टिममा रहेको उनको दावी छ । आगामी अध्यक्ष, वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान, उपाध्यक्षहरुमा आफू र अञ्जन श्रेष्ठको एउटा धार भएकाले पनि महासंघलाई अबका दिनमा बलियो बनाउन यो टिमलाई अघि बढाउनुको विकल्प नरहेको उनको दाबी छ ।

एफएनसीसीआईसँग प्रोजेक्ट नै नभएको अवस्थामा प्रोजेक्ट ल्याएर महासंघको गरिमा उच्च बनाउन आफूहरु सबल रहेको बताउने ज्योति हरेक कामको प्रभावकारी कार्यान्वायनमा पनि टिमको भूमिका महत्वपूर्ण हुने बताउँछन् । यसमा आफ्नो प्रयास जारी रहेको र आगामी दिनमा त्यसलाई अझ बुलन्द रूपमा अघि बढाउने योजना ज्योतिको छ । आत्मविश्वासी नेतृत्वको आवश्यक्ता औंल्याएका ज्योति व्यक्तिगत स्वार्थमा महासंघ आउनेहरुबाट नतिजा खेज्न नसकिनेमा आफू विश्वस्त रहेको बताउँछन् । यसका लागि अनुभव, लगनशीलता र टिमको विश्वास महत्वपूर्ण हुने उनको बुझाइ छ
























