काठमाडौँमा प्रदूषणको पिरलो, अनावश्यक घरबाट बाहिर ननिस्किन सरकारको अनुरोध
Wednesday Jan 06, 2021
वि.सं.२०७७ पुस २२ बुधवार ०७:२३
काठमाडौं । काठमाडौँ उपत्यकामा मौसममा आएको एका एक परिवर्तनसँगै प्रदुषणको मात्र पनि बढेको छ । सोमबारदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौँमा वायू प्रदूषण बढेको हो ।
प्रदुषणको तह बढेसँगै वातावरण विभागले बालबालिका, रोगी, ज्येष्ठ नागरिक तथा विशेष गरी स्वासप्रस्वास सम्बन्धी रोग भएका व्यक्तिलाई घरबाहिर ननिस्किन अनुरोध गरेको छ ।
काठमाडौं उपत्यकामा वायु प्रदुषण अत्याधिक रुपमा बढेको भन्दै विभागले यस्तो अनुरोध गरेको हो । विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले मंगलबार विज्ञप्ति जारी गर्दै उपत्यकामा बिहान र बेलुकीको समयमा प्रदुषण अत्यधिक बढेकाले त्यो समयमा घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।
विभागले नेपालगञ्ज, विराटनगरलगायत ठूला शहरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएकाले तराई क्षेत्रका सर्वसाधारणलाई पनि विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
काठमाडौं उपत्यकामा एक्कासी बढेको वायु प्रदुषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै चिकित्सकहरुले अनावश्यक रुपमा घर बाहिर ननिस्किन सुझाव दिएका छन् ।
चिकित्सकहरुले बाहिर निस्किनु परेपनि अनिवार्यरुपमा मास्क लगाउन सुझाव दिएका छन् । सोमबार बिहानैदेखि काठमाडौंको आकाश तुवाँलोले ढाकेको अहिले पनि उस्तै रहेको छ ।
वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार मंगलबार साँझसम्म खतराको सूचीभन्दा माथि रहेको छ । अहिले सबैभन्दा बढी वायू प्रदूषण भएका विश्वका ५० शहरमध्ये काठमाडौँ पहिलो नम्बरमा रहेको छ ।

काठमाडौँ उपत्यकामा केहिदिन मर्निङवाक नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ उपत्यकामा वायु प्रदुषण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङवाक नगर्न सबैलाई आग्रह गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै अत्यधिक वायु प्रदुषणले जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि रोक्न आग्रह गरिएको छ ।
मन्त्रालयले फोहोर नचलाउन र अत्यावश्यक नभई सवारी साधनहरू नचलाउन आग्रह गर्दै घरबाट बाहिर ननिस्किन भनेको छ । साथै मन्त्रालयले घरबाट निस्किन पर्ने अवस्था भएमा अनिवार्य मास्क लगाउन र जनस्वास्थ्यका मापदण्डको पालना गर्न आग्रह गरेको छ ।
काठमाडौँ उपत्यकामा सोमबार र मंगलबार वायुको गुणस्तर खतराको विन्दुभन्दा माथि पुगेको थियो । वातावारण विभागको रेकर्ड अनुसार उपत्यकामा वायुको स्तर ४०० एक्युआई भन्दामाथि पुगेको थियो ।
यस अघि मंगलबार नै वातावारण विभागले पनि सबैलाई अपिल गर्दै अत्यावस्यक बाहेक घरबाट ननिस्किन आग्रह गरेको थियो ।


























