सडक विभाग महानिर्देशकमा थापा नियुक्त
Thursday Feb 25, 2021
वि.सं.२०७७ फागुन १३ बिहीवार ०९:०९

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्जुनजंग थापालाई सडक विभागको महानिर्देशकमा नियुक्त गरेको छ।
मंगलबारको मन्त्रीस्तरीय निर्णयले थापालाई विभागको महानिर्देशक नियुक्त गरेको हो। थापा २०४९ साल पुस १९ मा जिल्ला सडक डिभिजन कार्यालय नवलपरासीाबाट इन्जिनियरका रुपमा सरकारी सेवा प्रवेश गरेका थिए।
उनले सडक डिभिजन कार्यालय बुटवल,पोखरा,काठमाडौं, महेन्द्रनगर लगायतका साथै हुलाकी राजमार्ग र उद्योग मन्त्रालयमा पनि काम गरिसकेका छन् ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पुल महाशाखा, योजना महाशाखा लगायतमा समेत काम गरिसकेका छन्। सडक विभागको महानिर्देशक नियुक्त हुनुअघि उनी विकास सहायता कार्यान्वयन महाशाखा प्रमुखका रुपमा कार्यरत थिए।
उनी २०६९ साल फागुन १७ मा सहसचिवमा बढुवा भएका थिए। सोही दिन केशव कुमार शर्मा र शिवहरि सापकोटा पनि बढुवा भएका थिए। थापाअघि शर्मा विभागको महानिर्देशकमा नियुक्त भएका थिए। उनले करिब २२ महिना विभागको नेतृत्व सम्हाले। सडक विभागमा उनी आएपछि सुधारका कामहरु गरेर चर्चा बटुलेका थिए। जसका कारण वसन्त कुमार नेम्वाङले समेत पूर्वाधार मन्त्री भएर आएलगत्तै चौतर्फी
चर्चा पाएका थिए।
शर्माले वर्षौंदेखि अलपत्र परेका काठमाडौंका सडकहरु सुधार्न महत्वपूर्ण भुमिका खेलेका थिए भने सरुवामा हुने गरेको लेनदेन लगायतको गलत प्रवृत्ति रोक्न पनि भुमिका खेलेका थिए। शर्माले सडक विभागको धमिलिएको इमेज सुधारका लागि काम गरेका थिए। सोही कारण नवनियुक्त महानिर्देशकलाइ स्वार्थ समुहबाट बचेर काम गर्नुपर्ने चुनौती छ।
शर्मालाई मन्त्रालय तानिएको छ। मन्त्रालयले पत्र भने दिसकेको छैन। स्रोतका अनुसार उनलाइ मन्त्रालयको वैदेशिक महाशाखाका खाली छ त्यहिको जिम्मेवारी दिन लागिएको छ।
सापकोटा विभागकै योजना महाशाखामा कार्यरत छन्। शर्मापछि थापा र सापकोटा महानिर्देशकको दौडमा थिए। सापकोटाको सरकारी सेवा अवधि करिव एक वर्ष मात्रै बाँकी छ।
थापाले सडक विभागको महानिर्देशकका रुपमा संस्थागत क्षमता विकासमा काम गर्ने बताएका छन्। जसमा ट्रेनिङ सेन्टर निर्माण गर्ने, तालिम दिएर जनशक्तिलाई दक्ष बनाउने, टहरामा रहेका डिभिजन कार्यालयहरु व्यवस्थापन लगातयका कामहरु हुने बताए ।
विभागमा न्युन सङ्ख्यामा कर्मचारी छन्। सडक सुरुङमार्गहरु सुरु भएको छ। त्यसका लागि जनशक्ति तयार पार्ने काम गर्ने उनको भनाइ छ। आफूले विभाग सुधारका लागि हरसम्भव प्रयास गर्ने जिकिर उनको छ ।

























