उपकरणमा समस्या आउँदा छोटो समय सेवा अवरुद्ध भयो : नेपाल टेलिकम
Wednesday Jan 18, 2023
वि.सं.२०७९ माघ ४ बुधवार २३:०६
काठमाडौं । नेपाल टेलिकमले गत मंगलबार भएको सेवा अवरुद्धबारे जानकारी दिएको छ। कम्पनीका केही उपकरणमा समस्या आउँदा मंगलबार १२ बजेदेखि केही समय अवरुद्ध हुनपुगेको र तत्काल समस्या समाधान गरिएको टेलिकमले जनाएको हो।
‘मिति २०७९।१०।०३ गते करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पीएसटीएन टेलिफोन सेवा अवरुद्ध हुन गएकोमा कम्पनीका प्राविधिकहरुबाट तत्काल समाधान गरिएको थियो’, टेलिकमले बुधबार भनेको छ।
समाधान भइसकेपश्चात छोटो अवधिमा पनि रोकिएका कलहरुको संख्यामा एक्कासि अत्यधिक वृद्धि हुन गई नेटवर्क कञ्जेसनका कारण केही समय कल आदानप्रदानमा ग्राहकहरुले असजिलोपन व्यहोर्नुपरेको टेलिकमको भनाइ छ। यसरी प्राविधिक समस्याका कारण ग्राहकहरुमा पर्न गएको असुविधाप्रति कम्पनीले माफी मागेको छ।
भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहने कम्पनीले जनाएको छ। मोबाइल, टेलिफोन तथा कम्पनीका अन्य सेवाहरुमा कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न पनि कम्पनीले अनुरोध गरेको छ।

























