कार्यकारीले प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउने प्रयास गरिरहेको सामुदायिक रेडियो अभियन्ता मैनालीको आरोप
Thursday Mar 23, 2023
वि.सं.२०७९ चैत ९ बिहीवार १४:५९
काठमाडौँ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालका संस्थापक अध्यक्ष रघु मैनालीले, कार्यकारी अधिकारको नाममा प्रेस स्वतन्त्रमाथि अङ्कुश लगाउने प्रयास भइरहेको आरोप लगाएका छन् ।
अकोराबको १७ औँ साधारण सभा तथा सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलनमा उनले गाउँ गाउँमा कार्यकारीले कानून बनाएर प्रेसमाथि अङ्कुश लगाउने प्रयास गरिरहेको आरोप लगाएका हुन् ।
राजाको शासन कालमा जस्तै अहिले गाउँपालिका र नगरपालिकाले यो बजाउनु त्यो नबजाउनु भनेर रेडियोलाई निर्देशन दिन थालेको भन्दै उनले आपत्ति जनाए ।
उनले भने, ‘पहिला ६१ सालमा जसरी ज्ञानेन्द्रको शासन कालमा यो बजाउनु यो नबजाउनु भनेर निर्देशन आउँथ्यो त्यसै गरी अहिले गाउँपालिका र नगरपालिकाले त्यो रेडियोहरूमा पठाइरहेका छन् यो दुर्भाग्य हो ।’
गाउँ गाउँमा कार्यकारीले कानुन बनाएर प्रेसमाथि अङ्कुश लगाउन दिइए ठुलो गल्ती हुने चेतावनी दिए ।
उनले भने ‘अहिले यस्तो ठाउँमा पुगेको छौ कि हरेक खोला तर्ने बित्तिकै नयाँ कानुन चाहिन्छ गाउँपालिकाले एउटा नगरपालिकाले अर्को प्रदेशले अर्को कानुन बनाएको छ । स्वतन्त्रता गाउँपालिका प्रदेश अनुसार फरक हुँदैन । यो विश्वव्यापी मान्यता हो । स्वतन्त्रतालाई नियन्त्रण गर्ने नाममा गाउँ गाउँमा कार्यकारीले कानुन बनाउने अधिकार दियौँ भने यो भन्दा ठुलो अर्को गल्ती हुँदैन ।
स्वतन्त्रता गाउँपालिका, नगरपालिका र प्रदेश अनुसार फरक नभएर यसको विश्वव्यापी मान्यता रहेको बताएका उनले समाज परिवर्तनमा लेखकको भन्दा वक्ताको भूमिका बढी हुने तर्क गरे ।

























