सुन्दर अटोको ईभी मोटरसाइकल ‘गन्तव्य’ सार्वजनिक
Friday May 19, 2023
वि.सं.२०८० जेठ ५ शुक्रवार ०९:४२
काठमाडौं । सुन्दर अटो इन्जिनियरिङले विद्युतीय मोटरसाइकल गन्तव्य ईभी १००–एस सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच कम्पनीले विद्युतीय मोटरसाइकल सार्वजनिक गरेको हो ।
एक पटक पूरा चार्ज गर्दा १२० किलोमिटर माइलेज दिनसक्ने यो विद्युतीय मोटरसाइकलमा ५१।२ भोल्टको ब्याट्री रहेको कम्पनीले जनाएको छ । १५ सय वाटको मोटर रहेको मोटरसाइकलमा ४८ भोल्टको कन्ट्रोलरह रहेको छ । बाइक चार्ज गर्न १० एम्पियरको अटोमेटी एसएमपीएस चार्जर रहेको छ ।
२४ किलोमिटर प्रतिघण्टादेखि ५५ किलोमिटर प्रतिघण्टासम्म स्पिड रहेको यो मोटरसाइकलको औसत माइलेज अथवा रेन्ज १०० किलोमिटर तोकिएको छ । मोटरसाइकलमा ड्रम ब्रेक प्रयोग गरिएको छ । १५० एमएम ग्राउण्ड क्लियरेन्स रहेको मोटरसाइकलमा रिजेनेरेटिभ ब्रेकिङ पनि रहेको छ ।
कम्पनीले मोटरसाइकलको मूल्य दुई लाख ५० हजार रुपैयाँ तोकिएको छ । आजबाट एक महिनाभित्र खरिद गर्ने ग्राहकले दुई लाख ४० हजार रुपैयाँमै बाइक प्राप्त गर्न सक्ने अफर रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सुन्दर अटो इन्जिनियरिङलाई बधाइ दिएका छन् । नेपालमा रहेको उर्जाको सदुपयोग र जिश्वास्म इन्धनको प्रयोग घटाउन नेपालमा विद्युतीय सवारी (ईभी) को आवश्यकता रहेको उनको भनाइ छ । ईभीलाई प्राथमिकता दिन सरकारको आगामी नीति तथा बजेमा पनि व्यापकल छलफल भइरहेको र यसलाई प्राथमिकतामा राखिएको उनले बताए ।
विद्युतीय मोटरसाइकल सार्वजनिक गर्दै सुन्दर यातायात एवं अटो इन्जिनियरिङका अध्यक्ष भेषबहादुर थापाले नेपालमा नै विद्युतीय सवारी उत्पादन गर्नेतर्फ यो पहिलो कदम भएको बताएका छन् ।
सुन्दर यातायातले काठमाडौं उपत्यका र उपत्यका बाहिरसमेत विद्युतीय बस सञ्चालनमा ल्याएको उनले स्मरण गराए । नेपाल विद्युतीय सवारीको विकास र विस्तारका लागि लामो समयदेखि काम गरिरहँदा आज विद्युतीय मोटरसाइकल उत्पादन गर्न कम्पनी सफल भएको उनले बताए ।
कम्पनीले सार्वजनिक गरेको विद्युतीय मोटरसाइकल गन्तव्य ईभी १००–एस दर्ता प्रक्रियामा गइसकेको बताउँदै उनले यसमा अझैं सुधार गर्दै जाने र उत्पादन बढाउँदै जाने बताएका छन् ।























