सफ्टवेरिका कलेजद्वारा आयोजित “टेक–एक्स २०२३”, यहीँ जुलाई २७ देखि जुलाई ३० सम्म हुने
Wednesday Jul 26, 2023
वि.सं.२०८० साउन १० बुधवार ०७:४३
काठमाडौँ । आईटी तथा ईकमर्स कलेजको रूपमा परिचित सफ्टवेरिका कलेजमा स्मार्ट प्रविधिको प्रदर्शनी आयोजना हुने भएको छ । आउँदो बिहीबारदेखि डिल्ली बजार काठमाडौँ स्थित कलेज परिसरमा अध्ययनरत विद्यार्थीले तयार पारेका प्रोजेक्टहरूको चार दिने प्रदर्शनी शुरु हुने भएको हो ।
आईतबारसम्म चल्ने उक्त प्रदर्शनीमा रोबोटहरूको वार मुख्य आकर्षणको रूपमा रहने आयोजक कलेजले जनाएको छ । यस प्रदर्शनीको उद्घघाटन नेपाल सरकारका सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्मा द्वारा हुनेछ । यसका साथै एआई र साइबर सुरक्षा क्षेत्रमा विद्यार्थीहरूले तयार पारेका विभिन्न प्रोजेक्टहरू समेत हेर्न पाइनेछ । प्रदर्शनीमा नवप्रवर्तन सम्बन्धी ३० भन्दा बढी प्रोजेक्टका स्टलहरू रहने छन् । जसमा स्मार्ट ग्लास (चस्मा) तथा स्मार्ट ब्लाइन्ड स्टिक (दृष्टि विहीनले प्रयोग गर्ने छडी) र होम सेक्युरिटी सहित घरमा अनधिकृत व्यक्तिको घुसपैठ भएको थाहा पाउने सिस्टम रहेका छन् ।
यसैगरी कोलोनीका लागि आगलागी सम्बन्धी सुचना दिने फायर अलार्म सिस्टम, स्मार्ट वाच, हेल्थ मनिटरिङ सिस्टम, स्मार्ट ट्राफिक व्यवस्थापन प्रणालीका साथै स्मार्ट प्रिसिजन एग्रिकल्चर सम्बन्धी प्रोजेक्ट समेत राखिने छन् । यस बाहेक रिमोट मनिटरिङसहित डढेलो लागेको पहिचान गरी जानकारी दिने सिस्टम, फिल्ड मनिटरिङ तथा बाली निरीक्षण सिस्टमका लागि अग्मेन्टेड रियालिटी (एआर) र प्लानेटरी एक्सप्लोरेसन रोबोट पनि कलेजका विद्यार्थीहरूले बनाएका छन् ।Global Ime adCitizen Life Island Landing Page
स्मार्ट फोहोर व्यवस्थापन प्रणाली, अण्डा कोरल्ने स्मार्ट सिस्टम, स्मार्ट डुङ्गा, स्मार्ट हाइड्रोपोनिक, सर्भिलेन्स मिलिट्री रोबोट लगायतका नवीनतम परियोजना समेत प्रदर्शनीमा देखिने छन् । यही साउन ११–१४ सम्म चल्ने मेला बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निःशुल्क रूपमा अवलोकन गर्न सकिनेछ ।
बेलायतको कोभेन्ट्री युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस कलेजमा इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटी, कम्प्युटिङ, डेटा साइन्स तथा कम्प्युटेसनल इन्टेलिजेन्स लगायतका विषयहरूको अध्यापन हुने गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका प्रोजेक्टहरू सार्वजनिक गर्न हरेक वर्ष प्रदर्शनी आयोजना हुँदै आएको छ । आईओटी एक्सपोको रुपमा परिचित सफ्टवेरिकाको प्रदर्शनी यस पटक भने टेक एक्सपोको नाममा प्रस्तुत गर्रिदैछ ।

























