प्युठान जिल्लाको ऐरावति गाँउपालीका सामाजिक सुरक्षा कोषमा आबद्ध
Wednesday Jan 17, 2024
वि.सं.२०८० माघ ३ बुधवार २३:३०
काठमाडौँ। सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत प्युठान जिल्लाको ऐरावति गाँउपालीका आबद्ध भएको छ । अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको विशेष योजना अन्र्तगत प्युठान जिल्लाको ऐरावति गाँउपालीका मिति २०८० पौष २९ गते बाट कोषमा आबद्ध भएको हो ।
सामाजिक सुरक्षा कोषका तर्फबाट कोषका उपकार्यकारी निर्देशक विवेक पन्थी र ऐरावति गाँउपालीकाका तर्फबाट गाँउपालीका अध्यक्ष नबिल विक्रम शाहले संयुक्त रुपमा कोषको केन्द्रीय कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
।
ऐरावति गाँउपालीका अध्यक्ष नबिल विक्रम शाहले आफ्नो गाँउपालीकामा रहेका अनौपचारिक क्षेत्र तथा स्वरोजगारका श्रमिकलाई चालु आर्थिक वर्षबाट नै कोषमा आबद्ध गर्ने प्रकृया सुरुवात गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । त्यसको लागि गाँउपालीकाले तत्कालै सुचना जारी गरि श्रमिकबाट आबेदन माग गर्ने कार्यको थालनी गर्ने बताउनुभयो ।
सो अवसरमा कोषका तर्फबाट बोल्नुहुदै उपकार्यकारी निर्देशक विवेक पन्थीले सामाजिक सुरक्षा कोषमा आबद्ध भएकोमा ऐरावति गाँउपालीकालाई हार्दिक बधाई तथा शुभकामना दिनुभयो । जनताको जीवनयापन मा आइपर्ने सामाजिक सुरक्षाका विभिन्न समस्याहरुको समुचित सम्बोधन गर्न सामाजिक सुरक्षा अपरिहार्य भएको बताउनुहुदै ऐरावति गाँउपालीकाको यस अभियानले सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो ।

























