कसैले बहिष्कार गर्दैमा स्थानीय चुनाव रोकिदैन- उपेन्द्र यादव

Thursday Jun 08, 2017
वि.सं.२०७४ जेठ २५ बिहीवार १०:१३

२५ जेठ, काठमाडौं- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जुनसुकै पार्टीले बहिष्कार गरेपनि स्थानीय चुनाव नरोकिने बताएका छन् । असार १४ मा हुने दोस्रो चरणको निर्वाचनकालागि देशव्यापी रुपमा उत्साह छाएको भन्दै उनले जनता रेनकोट र छाता ओढेर मतदान गर्न तयार रहेको बताए ।
‘अब चुनाव हुन्छ, हुन्छ, कोही पार्टीले चुनावमा जान्नभन्दा पनि अब चुनाव रोकिँदैन,’ बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘उपेन्द्र यादवको पार्टी नजाँदा पनि चुनाव हुन्छ, महन्थ ठाकुरको पार्टी नजाँदा पनि चुनाव हुन्छ । किनकी जनताले चुनाव चाहेका छन् ।’
उनले प्रधानमन्त्री निर्वाचनमा गैरमधेसी कांग्रेस सभापति शेरबहादुरको देउवाको पक्षमा लर्को लागेर मतदान गर्ने मधेसी नेताहरुले स्थानीय तह निर्वाचनमा मधेसी नेताहरुलाई भोट गर्न किन नहुने भन्दै प्रश्न समेत गरे । उनले चुनाव अघि नै संविधान संशोधन पारित हुने विश्वास व्यक्त गरे ।
साक्षात्कारमा यादवले आफ्नो पार्टीले देशव्यापी रुपमा चुनावी तयारी गरिसकेको समेत जानकारी दिए । उनले भने, ‘हाम्रो पार्टीले दोस्रो चरणको निर्वाचनमा सबै ठाउँमा उम्मेदवारी दिन्छ, यसमा कुनै शंका छैन् ।’ अध्यक्ष यादवले चुनावी तालमेलको लागि आफ्नो पार्टी खुल्ला रहेको समेत जानकारी दिए ।