अञ्जु पन्त सुमधुर सन्ध्या आयोजना हुदै

Sunday Jul 16, 2017
वि.सं.२०७४ साउन १ आइतवार ०६:४५

काठमाडौं – चर्चित गायिका अञ्जु पन्तका फ्यानका लागि खुुसीको खबर हुनसक्छ । दुई दशकभन्दा लामो गायन यात्रामा रहेकी गायिका पन्त एकल साँझमा उत्रिने भएकी छन् । उनी २४ भदौमा राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा ‘अञ्जु पन्त सुमधुर सन्ध्या–२०७४’ नामको एकल साँझमा उत्रिन लागेकी हुन् ।
शनिबार राजधानीमा आयोजित पत्रकार भेटघाटको क्रममा साँझको बिभिन्न पक्षबारे जानकारी दिइयो । साँझ म्युजिक रेर्क्डिस्ट एसोसिएशन नेपाल र अञ्जु पन्त फाउण्डेशनको आयोजना गर्न लागेको हो ।
‘म आज निकै खुसी छु, पहिलो पटक एकल साँझको मिति तय भएको छ’ पन्तले भनिन् ‘यसअघि विभिन्न संस्था र व्यक्तिबाट प्रस्ताव आएर पनि मैले मानिन ।’ साँझमा आफुले डेढ दर्जन चर्चित गीत प्रस्तुत गर्ने उनले सुनाइन् ।
कार्यक्रममा निकै खुसी देखिएकी अञ्जुले कार्यक्रमबाट उठेको रकम मध्ये खर्च कटाएर बचेको आधा रकम रेर्क्डिस्टहरुको संस्था र आधा आफ्नो फाउण्डेशन मार्फत बालबालिकाका लागि खर्च गर्ने उनले बताइन् ।
कार्यक्रममा संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, रोयल्टी समाजका अध्यक्ष सुरेश अधिकारी, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी लगायतले शुभकामना दिएका थिए ।