विवाह नभएपछि मुद्दा बलात्कारको ?

Tuesday Sep 25, 2018
वि.सं.२०७५ असोज ९ मंगलवार ०१:४६
भरतपुर । केटा १९ वर्ष र केटी १७ वर्षकी । नयाँ कानुनअनुसार यो उमेरका केटाकेटीबीच विवाह हुन सक्दैन । अर्थात् त्यस्तो बिहेले वैधता पाउँदैन । नेपालको कानुनले बिहे गर्न केटा र केटीको उमेर २० वर्ष कटेकै हुनुपर्छ ।
भरतपुर–११ का एकजोडी केटाकेटीबीच विवाह असम्भव भएपछि दुवैको परिवार समस्यामा छन् । गुरूङ थरका केटा र परियार थरकी केटीबीच प्रेम सम्बन्ध थियो । प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्न चाहे । एक महिनाअघि घरबाट भागेर हिँडे । तर, उनीहरुको बिहे कानुनतः सम्भव भएन ।
घटना प्रहरीसम्म आइपुग्यो । उमेर नपुगेकाले प्रहरीमा दुवैलाई मिलाउने कुरै भएन । केटी पक्षले बिहेका लागि प्रहरीमा निकै दबाब दियो, तर प्रहरीले एउटै जवाफ दियो, ‘कानुनले मिल्दैन ।’
केटा पक्षले केटी अस्वीकार गरेपछि घटनाले फरक मोड लिएको स्थानीयको भनाइ छ । बिहे नहुनुमा कानुनका साथै जातीय मुद्दा पनि अघि सारिएको स्थानीय बताउँछन् । बिहे गर्छु भनी एक महिनादेखि राखेको केटीलाई अहिले आएर अस्वीकार गरेपछि केटी पक्षले आइतबार जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिए ।
प्रहरीमा बलात्कार मुद्दा
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालले केटी पक्षले केटाविरुद्ध आइतबार प्रहरीमा बलात्कार गरेको आरोपमा जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी दिएका छन् । यस मुद्दाका आरोपित भने फरार रहेकाले पक्राउ पूर्जी जारी भई खोजी भइरहेको समेत उनले बताए ।
कानुनले निषेध गरेको उमेरका केटाकेटीबीच भागेर हिँड्ने र पछि गाउँटोल छिमेकले बिहे हुनुपर्छ र गराउनुपर्छ भनी प्रहरीमा अनावश्यक दबाब दिने गरेको प्रवक्ता ढकालले बताए ।
उनले भने, ‘उमेर नै नपुगी गरिने बिहेलाई कानुनले वैधता दिने छैन भनी अब घरघरमा सूचना पु¥याउनुपर्ने समय आएको छ ।’
प्रहरीमा अहिले उमेर नपुगी भागी बिहे गरेर विवाद ल्याउनेहरु बढेको उनले बताए । ‘प्रहरीले कानुनले नगर भनेको कुरा गर्दैन, कसैले उमेर नै नपुगी जबर्जस्ती बिहे गर भनेर दबाब दिन्छ भने उहीविरुद्ध मुद्दा चलाउन प्रहरी बाध्य हुन्छ,’ प्रवक्ता ढकालले भने ।