चाडको मौका छोपेर मूल्यवृद्धि गरेको थाहा पाए, हामीलाई फोन गर्नू : आपूर्तिमन्त्री यादव

Sunday Oct 07, 2018
वि.सं.२०७५ असोज २१ आइतवार १३:०३
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चिनीको बजार भाउ नबढेको र अभाव पनि नभएको स्पष्ट पारेका छन्।
आइतबार रिपोर्टस क्लबमा बोल्दै मन्त्री यादवले कुनै मूल्यवृद्धि नभएको भन्दै ढुक्क हुन सबैलाई आग्रह गरे।
‘बजारमा चिनीको कुनै अभाव छैन। र, बजार भाउ पनि बढेको छैन,’ उनले भने।
उनले बजार अनुगमन गर्ने र कालोबजारी हटाउने प्रतिवद्धता व्यक्त गरे।
चिनीको अभाव भयो भनेर पत्रकारले लेखेका समाचारप्रति आपत्ति जनाउँदै उनले अभाव भयो भनेर लेख्नेलाई चिनीको बोरा दिएर पठाउने समेत दाबी गरे।
‘चिनीको अभाव छ भनेर समाचार लेख्नेहरूलाई कति चाहियो? चिनीको बोरा नै जीउमा हालेर पठाइदिन्छौं,’ उनले भने।
चिनी आयात बढाउन एक अर्ब ६९ करोडको चलखेल भएको भन्दै हल्ला चलेकोमा उनले खण्डन गरे।
‘अहिलेको जमानामा त्यति सजिलो छ र ? यत्रो पैसा चलखेल गर्नलाई, ट्रकविना त्यत्रो पैसा चल्दैन। जीपमा बोकेर हुँदैन। एउटा ट्रकले मात्रै पनि हुँदैन। त्यत्रो ट्रक बोक्न दुइटा ट्रक चाहिन्छ। अर्बौंको कारोबार हुँदा बैंकमा थाहा हुन्छ नि। यसमा निष्पक्ष छानबिन हुनुपर्यो भनेर सभामुखलाई मैले पत्र पनि लेखेको छु,’ उनले भने।
चाडपर्वको मौका छोपेर बजारमा कालोबजारी, अनियमितता, कृत्रिम अभाव र मूल्यवृद्धि गरेको थाहा पाए तुरुन्त आफूहरूलाई सम्पर्क गर्न आग्रह गर्दै डिजी योगेन्द्र गौचनको मोबाइल नम्बर ९८२३–२३७५८८ दिए।