विश्वको आर्थिक वृद्धिदर ३.७ प्रतिशत : मुद्रा कोष
Tuesday Oct 09, 2018
वि.सं.२०७५ असोज २३ मंगलवार १३:१८
अन्तर्राष्ट्रिय मुद्रा कोषले बढ्दो व्यापारिक तनाव र ऋणको भारका कारण यस वर्ष (सन् २०१८) को विश्वको आर्थिक वृद्धिदर ३.७ प्रतिशतको हाराहारीमा रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ।
आगामी वर्ष आर्थिक वृद्धिमा कमी आउन सक्ने कोषको भनाइ छ।
‘संयुक्तराज्य अमेरिका र चीनबीचको बढ्दो व्यापार तनावले व्यापार क्षेत्रको वृद्धिमा कमी आउने भएकाले पनि कोषले सन् २०१८ र २०१९ को विश्वको आर्थिक वृद्धिदर ३.७ प्रतिशत कायम गरेको छ’, कोषले सोमबार सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य प्रतिवेदनमा भनिएको छ।
प्रतिवेदनमा विकासशील अर्थतन्त्र रहेका मुलुकहरूको आर्थिक परिदृश्यमा खासै वृद्धि नहुने अनुमान गरिएको छ।
सन् २०१९ मा चीन र संयुक्तराज्य अमेरिकाको पनि आर्थिक वृद्धिमा कमी आउने कोषको अनुमान छ।
संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार युद्धले चीन सहित अरू एसियाली मुलुकहरू र अर्जेन्टिना, टर्की तथा ब्राजिल समेतका मुलुकमा जोखिम निम्त्याउने छ।