ओलीले १ महिनामै चुच्चे रेल यसरी कुदाउने भए, नयाँ रेल किन्न सरकारले दियाे थप ५० करोड रुपैयाँ
Thursday Dec 06, 2018
वि.सं.२०७५ मंसिर २० बिहीवार ०७:००

जयनगरदेखि जनकपुरको कुर्थासम्म करिव ३५ किलोमिटरमा सरकारले यही डिसेम्बरसम्म रेल संचालन गर्ने भनेर ५० करोड रुपैयाँ बजेट छुट्याएको थियो। भौतिक योजना तथा यातायात मन्त्रालयले भाडामा रेल ल्याएर संचालन गर्ने योजना समेत बनाएको थियो। भारतको सरकारी नियकायसँग रेल भाडामा लिएर संचालन गर्ने प्रक्रिया पनि अपनाइसकेको थियो।
भाडामा रेल ल्याएर संचालन गर्दा रेलको गुणस्तर तथा त्यसको लागत खर्च बढि लाग्ने देखेपछि भौतिक योजना तथा यातायात मन्त्रालय र मातहतको रेल विभाग पछि हट्यो। अहिले खरिद गरेर आफ्नै रेल संचालन गर्ने विषयमा मन्त्रालय अघि बढेको छ।
सरकारले खरिद गरेरै १० डिब्बासम्मको रेल संचालन गर्ने हो भने करिव १ अर्ब रुपैयाँ चाहिने भयो। उक्त रकमको बारेमा भौतिक योजना मन्त्रालयले अर्थसँग कुरा राखेको जनाइएको छ। यो विषय प्रधानमन्त्रीसँग समेत पुगेपछि प्रधानमन्त्रीको आदेशमा अर्थमन्त्रालयले ५० करोड रुपैयाँ निकाशा गराउन सहमत भएको हाे।
भौतिक योजना तथा यातायात मन्त्रालयका सहसचिव राजेन्द्रराज शर्मा भन्छन्, ‘आफ्नै रेल किनेर संचालन गर्दा र भाडामा संचालन गर्दा वार्षिक लागत लगभग उस्तै पर्ने देखिएकोले किनेर नै संचालन गर्ने भन्ने विषयमा छलफल भैरहेको छ।’ शर्माका अनुसार उक्त विषयमा भारतको सरकारी निकायसँग कुरा भैरहेको छ।
बजेटको लागि अब समस्या नदेखिएकाे र खरिदको मनसायमा मन्त्रालय र विभाग रहेको उनले जानकारी गराए। रेल विभागले प्रक्रिया अघि बढाइरहेको उनले बताए।
विभागका महानिर्देशक बलराम मिश्र र सिनियर डिभिजन इन्जिनियर अमन चित्रकार समेत अहिले रेलकै बारेमा कुरा गर्न भारत भ्रमणमा छन्।
नेपालले किन्न खोजेको रेल डिजेल मल्टि इलेक्ट्रोफायरिङ (डिमो) मोडलको हो। यसमा दुईवटा इन्जिन हुन्छ। त्यस्तै डिजाइनकाे १० डिब्बासम्मको रेल नेपालले खोजिरहेको छ। त्यो भन्दा सानो पनि हुनसक्छ। रेल विभागका एक इन्जिनियरका अनुसार एउटा डिब्बामा ७२ जनाका लागि बस्ने सिट हुन्छ।
यहि मंसिरको सुरुमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीको नेतृत्वमा विभागका महानिर्देशक बलराम मिश्र समेतको टोलि भारत गएको थियो। साे टाेलिले रेल खरिद गर्दा र भाडा कति लाग्ने भन्ने रेट बुझेर नेपाल फिर्किए पछि पुनः महानिर्देशक मिश्र भारत तर्फ गएका हुन्। उनले यो पटक खरिदको सम्पूर्ण तयारी नै गरेर फर्कने र खरिद सम्झौता पछि गर्ने गरी आउने बुझिएको छ।
जयनगरदेखि बर्दिबाससम्म नै सकारले यही वर्ष रेल संचालन गर्ने तयारी गरेको छ। तर कुर्थादेखि वर्दिबाससम्मको मार्ग भने निर्माणाधिन छ। ६९ किमिको उक्त मार्गमा सरकारले असार मसान्त अर्थात चालू आर्थिक वर्षसम्ममा रेल संचालन गर्ने योजना बनाएकाे छ।




























