जनकपुरमा नक्कली नागरिकता बनाउने पक्राउ
Friday Dec 14, 2018
वि.सं.२०७५ मंसिर २८ शुक्रवार १३:१२

निरंजन साह, जनकपुरधाम । प्रदेश नम्बर दुई को जनकपुरमा नक्कली नागरिकता बनाउने कार्यमा सक्रिय रहेको एक गिरोह लाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको एक कर्मचारीको सहयोगमा चार जनाले विगत ०६३र६४ सालमा सरकारले वितरण गरेको नेपाली नागरिकताको टोलीको छाप तथा प्रशासनको अभिलेखको सक्कली डायरीको केहि कागजात, दर्जनौँ नेपाली नागरिकता र डेढ लाख नगद सहित प्रहरीले पक्राउ गरेका छन ।
धनुषा जिल्ला को जनकपुर उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठा निवासी ३१ वर्षीय रोशनकुमार चौधरी, धनुषाको औरही गाउँपालिका वडा नम्बर–५ बस्ने ४९ वर्षीया गंगा साह, रौतहटको दुर्गा भगवती गाउपालिका वडा नम्बर–४ बस्ने हेमन्त कुमार पाण्डे र जिल्ला प्रशासन कार्यालय धनुषामा सहयोगी पदमा कार्यरत्त ४२ वर्षीय महाविर मण्डललाई प्रहरीले आज पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको उपस्थितिमा सार्वजनिक गरे।
पक्राउ परेकामध्ये रोशनकुमार चौधरीको जनकपुरस्थित डेरामा सुराकीको आधारमा प्रहरीले छापा मार्दा उनको कोठाबाट विभिन्न व्यक्तिको दर्जनौँ नक्कली नेपाली नागरिकता, विवाह दर्ता, जन्मदर्ता, मृत्युदर्ता, बसाईसराईको प्रमाणसहितको विभिन्न ठेली, सादा नाम नभरेको नेपाली नागरिकता, नेपाली नागरिकतामा टाँस हुने हेलोग्रामको लोगो, जिल्ला प्रशासन कार्यालयको छाप, प्रशासकीय अधिकृतको छाप, स्थानीय पञ्जिकाधिकारीको छाप, टोली प्रमुखको छाप, नगरपालिकाको छाप, वडाअध्यक्षको छाप, नेपाली नागरिकता प्रमाणपत्रमा टाँस हुने हेलोग्राम, नागरिकता विवरणको ठेली, मोबाईल एक थान, एक लाख ५३ हजार रुपैयाँ नगद समेत बरामद भएको प्रहरी स्रोतले जानकारी दिएका छन ।
प्रहरी स्रोतका अनुसार धनुषा जिल्ला अदालतबाट सरकारी दस्तखतको छाप किर्ते र नागरिकता मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भईरहेकोले पक्राउ गर्ने अनुमति लिई थप अनुसन्धानको कार्य भईरहेको जनाएका हुन् ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले २०६३ मुलुकी फौजदारी, ऐन अन्तर्गत कारवाही हुने तथा संगठित अपराध मुद्दामा अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडी बढाइने बताएका छन ।




























