बलात्कारीले दिए यस्तो बयान ‘बालिकालाई बलात्कार गरेर मारेर उसैको कपडा र झारपात भेला पारेर जलाई दिएँ
Tuesday Feb 19, 2019
वि.सं.२०७५ फागुन ७ मंगलवार ०८:५३

काठमाडौं, ७ फागुन । मानिस कतिसम्म पशु बन्न सक्छ भन्ने कुराको उदाहरण धनुषा जनकपुरकी ११ वर्षीया बालिका दुतिया रैसेलीको बलात्कारपछि जलाएर हत्या गरेका युवकको बयानले सावित गरेको छ ।
बोल्न नसक्ने ११ वर्षीया बालिका दुतियाको बलात्कारपछि जलाएर हत्या गरेको अभियोगमा पक्राउ परेका धनुषा बटेशवर–४ का निरज जर्घामगरले घटनाबारे प्रहरीलाई दिएको बयानले राक्षसीपनको झल्को दिएको छ ।
फागुन २ मा आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी दुतियाको हत्या आरोपमा पक्राउ परेका युवाले प्रहरीसँगको बयानमा आफूले हत्या गरेको स्वीकार गर्दै घटनाबारे बेलिविस्तार सुनाएका छन् । उनले बयानका क्रममा भनेका छन्, ‘‘नाचगानका बीचमा बिजुलीको लाइन काटिएपछि सबै मान्छे तितर बितर भए । त्यतिबेलै मैले दुतियालाई तानेर नजिकैको किराना लगें र पसलबाट चाउचाउ र फ्रुटी किनेर दिई फकाएँ । त्यसपछि खोला नजिकैको उखु खेतमा लगेर बलात्कार गरें ।’
उनले थपे, ‘बोल्न नसक्ने भए पनि बलात्कारको पोल खुल्ने डर लाग्यो अनि घाँटी थिचेर हत्या गरें । उनले लगाएको लुगा कपडासँगै केही झारपात जम्मा गरेर आगो लगाई दिएँ ।’’ पक्राउ परेका युवाले आफू एक्लैले घटना गराएको बयान प्रहरीलाई दिएका छन् ।
प्रदेश–२ का प्रहरी प्रमुख डिआईजी हरि पालले घटनाको अनुसन्धान जारी रहेको र अनुसन्धान सफलता मिल्दै गएको बताएका छन् । ‘‘यो निकै विभत्स घटना हो । अपराधीलाई कानुनी दायरामा ल्याउन प्रहरी सक्रिय छ’, उनले भने । पक्राउ परेका युवक विभिन्न आपराधिक गतिविधिमा समेत संलग्न रहेको जनाइएको छ । उनका बुबा भारतमा रोजगारी गर्दै आएका छन् । उनी गाडीमा सहायक चालकको रुपमा समेत काम गर्दै आएका थिए ।
प्रहरीका अनुसार २२ वर्षीय मगरलाई म्याद थपका लागि जिल्ला अदालत धनुषा लैजाने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ । ११ वर्षीया बालिका दुतिया रैसेली फागुन १ गते गाउँमै बिहेभोज खान गएकी थिइन् । उनको शव भोलिपल्ट घरभन्दा केही पर मगरटोल नजिक झाडीमा आधा जलेको अवस्थामा फेला परेको थियो ।




























