मुख्य खबर

नेपाल वायुुसेवा निगमको जहाजहरू किन ढिलो र खाली उड्छन् ?

  • हरि गोपाल प्रधान (स्वतन्त्र पत्रकार)

    २०७७ असार १३ गते, शनिबार ११:२२ मा प्रकाशित

काठमाडौं – नेपाल वायुसेवा निगम (तत्कालिन शाही नेपाल वायुसेवा निगम)को आज भन्दा ६ दशक पहिले सरकारको पूर्ण स्वामित्व रहेको विक्रम सम्वत २०१५ साल असार १७ गते (तद्अनुसार १ जुलाई १९५८)स्थापना भएको हो । यसको प्रमुख उद्देश्य नेपालभित्र तथा विदेशमा सुरक्षित, कुशल, सुव्यवस्थित र किफायती हवाई यातायात सेवा पु¥याउनु हो । देशको पहिलो हवाई कम्पनी भएकाले यसप्रति आम नागरिकको ठूलो सरोकार र चासो रहेको छ ।

नेपाल वायुसेवा निगमका उडानहरू अधिकांशत ठीक समयमा उड्दैनन् भन्ने गुनासो प्रशस्त सुनिने गरेको छ । यसलाई गलत भन्न मिल्दैन । उडान ढिलो हुने कारण के हो भन्नेतर्फ कमैको मात्र ध्यान गएको हुन्छ, तैपनि उडानमा हुन जाने ढिलाइलाई लिएर निगमप्रति प्रशस्त टीकाटिप्पणीहरू हुने गरेका छन् । उडानमा हुने गरेको ढिलाइले यात्रुहरूलाई प्रशस्त मर्का पर्ने कुरामा कुनै शङ्का छैन, तैपनि उडान ढिलो हुनुका कारणहरूबारे केही जानकारी रहनुचाहिँ सबैका लागि आवश्यक छ ।

सबैलाई थाहा छ — नेपालको भौगोलिक र मौसमी स्वरूपमा विभिन्नता र विषमता छ । त्यसैले वर्षाको समयमा खास तवरले उडानमा अबेर हुने स्थिति सृजना हुन जानु स्वाभाविक हो । उडान सुरु गर्न विमानस्थलहरूमा खराब मौसम हुँदा विमानको प्रस्थान र आवागमनको समय फरक पर्न गई आवागमनमा समयको सन्तुलन बिग्रिन जान्छ । कहिलेकाहीँ मौसमको खराबीले गर्दा जहाजले निर्धारित मार्ग नै फेर्नुपर्ने स्थिति आइपर्छ र यसले पनि ढिलाइ हुन जान्छ । जस्तै ः काठमाडौँ र लुक्ला दुवै ठाउँमा राम्रो मौसम भएको रिपोर्ट प्राप्त भएको आधारमा काठमाडौँबाट जहाज लुक्लातर्फ उडछ । तर लुक्ला पुग्ने बेलामा त्यहाँको मौसम अप्रत्याशित रूपले बिग्रन गएको पाइयो भने जहाजले अन्यत्र ओर्लनुपर्छ वा काठमाडौँ नै फर्कनुपर्छ । काठमाडौँ र लुक्ला दुवै ठाउँको मौसमी रिपोर्ट अनुकूल रहेको थाहा पाएर काठमाडौँबाट उडान गर्न तयार भएको बेलामा काठमाडौँको मौसम अचानक खराब भई जहाज उड्न नसक्ने स्थिति पनि आउँछ । ती दुवै स्थितिमा अर्को ठाउँमा कुरेर बसेका यात्रुवर्गलाई कठिनाइ र असुविधा पर्न जान्छ । त्यस्तो बेलामा जहाज आफ्नो सेवा उपलब्ध गराउन असमर्थ हुन्छ । दुवै ठाउँमा कुरेर बसेका यात्रुवर्गचाहिँ वायुसेवाका कर्मचारीहरूको तीतो आलोचना गरिरहेका हुन्छन् । यस्तो अवस्थामा आन्तरिक उडानमा मात्र होइन, अन्तर्राष्ट्रिय उडानमा समेत बाधा पर्ने गर्छ ।
अर्को कुरा, कठिन भूक्षेत्र र विविध मौसमको अवस्थाले गर्दा विमान–सञ्चालनमा सुरक्षाको उच्चस्तरीय व्यवस्था कायम राख्नु अत्यावश्यक छ । जहाज विमानस्थलमा ओर्लिदा तथा हवाईग्राउन्डमा परिचालन गर्दा अझ बढी कठिनाइको सामना गर्नुपर्छ । दक्ष व्यक्ति र अतिरिक्त पाटपुर्जाहरूको प्रशस्त भण्डार राख्नका लागि अपेक्षाकृत बढी आर्थिक भार बहन गर्नुपर्दछ । ती कुराहरूको अभाव भएमा विमान त्यसै राख्नुपर्ने हुन्छ । त्यस्ता कुराहरूको सामना गर्ने सामग्री नहुँदा पनि पूर्वनियोजित उडानमा केही ढिलाइ हुन्छ ।

नेपाल वायुसेवा निगमसित देशभित्रका विभिन्न ठाउँहरूमा सुनियोजित उडान गर्नका लागि भएका जहाजहरूमध्ये प्रत्येक दिन केही उडानहरू पूरा गर्नुपर्छ । काठमाडौँबाट हुने पहिलो उडान मौसम–प्रविधि वा अन्य कारणहरूले ढिलाइ भएमा त्यसपछिका उडानहरू पनि स्वतः नियमित हुन सक्तैनन । त्यसैले पुग्नुपर्ने निर्दिष्ट ठाउँ वा बीचका ठाउँहरूमा जहाज ढिलो पुग्छन् । उडान सुरु हुने स्थानबाट कारणवश ढिलो भइदिएमा पुग्नुपर्ने तथा बिसौनीस्थलमा पनि समयमा पुग्न सक्तैन । यसबाट उडानहरूको पूर्वनिश्चित समय कायम राख्न कठिन पर्दछ । हिउँदको गाढा कुहिरो तथा वर्षायामको भीषण वर्षा पनि उडानमा ढिलो हुने कारणमा पर्दछ ।
कतिपय अवस्थामा उडान रद्द गर्नुपर्ने हुन्छ । सामान्यतः वायुको गति, कुहिरो, भीषण वर्षा, तुवाँलो आदिजस्ता मौसमी कारणहरूबाट देखिने असमान भूतल, स्पष्ट नदेखिने हवाईग्राउन्ड तथा चट्याङ्, मेघगर्जन आदि प्राकृतिक कारणले उडान रद्द गर्नुपर्ने हुन्छ । देशमा ५८ मध्ये ३४ वटा विमानस्थलहरू कच्चा छन् । वर्षायाममा धेरैवटा विमानस्थलको सेवा उपलब्ध गर्न सकिँदैन । बाँकी २४ वटा विमानस्थलहरू पनि अत्यधिक वर्षा भएको बेलामा हवाईसेवाका निमित्त उपयुक्त छैनन् । अर्को कुरा, पहाडी क्षेत्रका धेरैजसो विमानस्थलहरू मार्गनिर्देशक संयन्त्रले सम्पन्न नभएकाले ठीक–ठीक मौसमी विवरण पाउन कठिनाइ पर्छ वा ढिलाइ हुन्छ ।

 

नेपाल भरी राती उडान गर्न सक्ने ७ वटा विमानस्थल रहेको र धेरै जसो विमानस्थलको बत्ती र सञ्चारसम्बन्धी सहायक उपकरणको कमीले गर्दा पनि विमानसेवा दिउँसो मात्र चल्दछ । दिउँसो तेज हावा चल्ने हुँदा सारा उडानहरू बिहानको समयमा मात्र सञ्चालन गर्नुपर्ने पनि हुन्छ । उडानअघि नै मौसमसम्बन्धी ठीक विवरणको अभावले तथा यात्रु र विमानभित्रका कर्मचारीको सुरक्षा एवं मौसमले गर्दा उडानकै अवस्थामा बीचैबाट फर्कनुपर्ने कारणले हुने निरर्थक उडानलाई जोगाउन पनि उडान रद्द गर्नुपर्ने हुन्छ ।

मौसम बाहेक उडान रद्द गर्नुृपर्ने अन्य कारणहरू पनि छन् । पहिले नै अनुमान गर्न नसकिने प्राविधिक गडबडी एउटा कारण हो । धेरैजसो पूर्ण क्षमतायुक्त विमानस्थलहरू नभएको कारण र कठिन अवस्थाहरूले गर्दा यस्तो प्राविधिक गडबडी बढी नै हुने गर्दछ । समयमै आवश्यक पर्ने अतिरिक्त निगमसँग भएका जहाजहरुमा प्रयाप्त मात्रमा सामानहरूको न्यूनताचाहिँ अर्को कारण हो ।
प्रायजसो खाली विमान उडाएर लगेको गुनासो पनि सुनिन्छ । यसो किन हुन्छ भने टिकट बिक्री उडानभन्दा अगावै गरिसक्नुपर्छ र त्यस्ता टिकट किनिसकेका यात्रुहरूले कहिलेकाहीँ कारणवंश आफ्नो उडानको कार्यक्रममा परिवर्तन गर्ने गर्दछन् । यसरी कार्यक्रम परिवर्तन वा रद्द गरिएको जानकारी कतिपय कारणवश बेलैमा विमानसेवालाई सूचित गरिँदैन र विमानका सिटहरू खाली हुने गर्दछन् । ग्राहकहरूले कार्यक्रम परिवर्तन वा रद्द भएको सूचना बेलैमा दिने हो भने खाली हुन जाने सिटहरू अरू आवश्यक पर्ने मानिसहरूका लागि उपलब्ध गराउन सकिन्छ । तसर्थ निगमले विहान ६ः००बजे देखि सांझ ७–८ सम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेवामा २–३ कर्मचारी र संचारको सुब्यवस्था गरि सो प्लेनमा खाली जाने सिटहरुबाट सदुपयोग गर्न सकिने कुरामा दुई मत नहोला ।

अन्तर्राष्ट्रिय उडानसेवामा त स्थिति अझै जटिल छ । विदेशमा अनेक ठाउँबाट नेपाल आउन चाहने पर्यटकसमूह तथा यात्रुहरू कहिलेकाहीँ टिकट किनिसके पनि निश्चित समयमा विशेष कारणवश विमानस्थलमा पुग्न सक्तैनन् । अनि अन्तिम समयमा यात्रुहरू बटुल्न सम्भव नहुने भएकाले जहाजलाई थोरै यात्रुहरू लिएर समयमै उड्नुपर्ने बाध्यता हुन्छ । यस अवस्थामा पनि विमान खाली देखिनु स्वाभाविक हो ।
पहाडी क्षेत्रका विमानस्थलका धेरैजसो धावनमार्गको लम्बाइ छोटो भएको हुनाले विमान पूरा बोझ बोकेर उत्रन सक्तैन । यात्रुवर्गको सुरक्षालाई ध्यानमा राखेर विमानलाई बढी बोझ नपर्ने गरी हलुका उडाउनु पर्दछ, र यसो गर्दा पनि सिट खाली देखिन्छ ।

अधिकांश आन्तरिक विमानस्थलमा इन्धन आपूर्तिको सुविधा नभएको हुँदा विमानलाई फर्कन चाहिने इन्धनको समेत पहिले नै व्यवस्था गर्नुपर्छ । त्यसका लागि पनि विमानभित्रको बोझ सोही अनुपातमा घटाउनुपर्छ । त्यसैले खाली सिटहरूसहित नै विमान उडाइएको देखिए पनि बोझ बोक्ने क्षमताअनुसार नै विमान उडाइएको हुन्छ ।

जहाज ढिलो र खाली उड्नुका मुख्य–मुख्य कारणहरू यी मात्रै नभई अरू पनि हुन सक्छन् । तर सबै कारणहरू समाधान गर्नै नसक्ने खालका छैनन् । मूल कुरा राम्रो व्यवस्थापन, दृढ इच्छाशक्ति, सरकारी सहयोग तथा निगम र यात्रुवर्गप्रतिको उत्तरदायी र इमानदारी हो । ग्राहक नै निगमको सुसञ्चालनको प्रमुख आधार हो । त्यसैले ग्राहकप्रति उत्तरदायी र इमानदार बनेर प्रयास गर्नु निगमको कर्तव्य हो । सरकारी सहयोग लिएर व्यवस्थापन पक्षले इच्छाशक्तिका साथ प्रयत्न गर्ने हो भने समाधान हुन सक्ने खालका समस्याहरूको निदान नहुने कुरै छैन । प्राकृतिक विपत्तीहरूमाथि विजय प्राप्त गर्न नसके तापनि मानवले समाधान गर्न सक्ने समस्याहरूको समाधानतर्फ लाग्न निगमलाई कसैले रोकेको छैन । यसतर्फ निगमभित्रको व्यवस्थापन पक्षको ध्यान अवश्य जानेछ भन्ने अपेक्षा गर्न सकिन्छ ।

http://noc.org.np/